गोरखापत्र नेपाली पत्रकारिताको गौरवशाली संस्था हो : अध्यक्ष सुवेदी

Published on

काठमाडौं । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र एउटा अड्डा मात्र नभएर नेपाली पत्रकारिताको गौरवशाली संस्था भएको बताउनुभएको छ।

सोमबार गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। ‘‘गोरखापत्र पत्रिकाको अड्डा मात्र होइन, नेपाली पत्रकारिताको गौरवशाली संस्था हो’’, कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो। उहाँले गोरखापत्र गौरवशाली इतिहास मात्र नभएर पत्रकारिताको पाठशाला भएको बताउनुभयो। ‘‘हामीले राजनीतिक परिवर्तन र सामाजिक इतिहासलाई हेर्दा गोरखापत्र जीवन्त साक्षीका रुपमा देख्न सक्छौँ। इतिहासका उकाली र ओराली यो संस्थाले भोगेको छ। हामीले समय अनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता छ। अध्यक्ष सुवेदीले गोरखापत्रका राज्य धर्म, नागरिक धर्म र बजार धर्म गरेर तीन वटा धर्म रहेको उल्लेख गर्नुभयो। उहाँले राज्य धर्म गोरखापत्रको पहिलो धर्म भएको उल्लेख गर्नुभयो। सरकारको प्रतिपक्षको जिम्मेवारीमा सचेत भएको र यसलाई गम्भीरतापूर्वक निर्वाह गरेको उहाँको भनाइ छ।

दोस्रो धर्म नागरिक भएको उल्लेख गर्नुहुँदै उहाँले नागरिकलाई जवाफ दिनुपर्ने वस्थामा गोरखापत्र प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो। नागरिकप्रतिको जवाफदेहितालाई सदैव ख्याल गरेको उहाँले उल्लेख गर्नुभयो। अध्यक्ष सुवेदीले बजार धर्म अनुसार बजारमा टिक्न र बिक्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो। बजारमा टिक्न र बिक्न सक्ने ढङ्गले योजना बनाएर अगाडि बढेको उहाँले उल्लेख गर्नुभएको हो।

उहाँले गोरखापत्रलाई नयाँ समय अनुसार प्रविधिमूलक बनाउनुपर्ने आवश्यकतालाई जोड दिनुभयो। ‘‘१२४ वर्षको इतिहास बोकेर भूगोल पार्कको जीर्ण भवनमा कोचिएर कहिलेसम्म हाम्रा सहकर्मी बस्नुपर्ने हो रु’’, कार्यक्रममा उपस्थित सञ्चारमन्त्री र सचिवसमक्ष प्रश्न गर्नुहुँदै अध्यक्ष सुवेदीले भवन निर्माणका लागि बजेट प्राथमिकताका साथ विनियोजनका लागि पहल गरिदिन अनुरोध गर्नुभयो। कार्यक्रममा उपस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, सचिव रामकृष्ण सुवेदीलगायत विशिष्ट अतिथिलाई स्वागत गर्नुहुँदै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र सबैको हो भन्ने अनुभूति गराउने जिम्मेवारी संस्थानको रहेको बताउनुभयो। गोरखापत्र समाजको ऐन मात्र नभएर हरेक नेपालीको जीवनसँग जोडिएको उल्लेख गर्नुहुँदै उहाँले लोकसेवाको तयारीदेखि एसएलसीको नतिजासम्म गोरखापत्र जोडिएको बताउनुभयो।

नागरिकले सूचना कसरी पाउने भन्ने अभाव भइरहेको समयमा गोरखापत्रको सुरुवात भएको सम्झना गर्नुभयो। गोरखापत्र समय अनुकूल हुनुपर्ने अभियानमा लागेको दाबी गर्नुहुँदै उहाँले समाजलाई सत्य सूचना दिन गोरखापत्र लागेको उल्लेख गर्नुभयो। जवाफदेही, विश्वसनीय र सामाजिक दायित्वसहितको माध्यम गोरखापत्र र यसका प्रकाशन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। रुपान्तरणको यात्रामा गोरखापत्र सरकारको लय र भाखा मात्र बोल्छ भन्ने विषयमा रुपान्तरण गर्न मन्त्रालय, सरकारसँगै आम पाठकले साथ दिनुभएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो। सामाजिक सञ्जालको प्लेटफर्मले सूचना पाउन समस्या नभए पनि विश्वसनीय समाचार प्राप्त गर्नका लागि हिजो जस्तै आज पनि गोरखापत्रको महत्त्व उत्तिकै रहेको उल्लेख गर्नुभयो। कार्यक्रमलाई गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य सचिन पोखरेलले गोरखापत्रको गर्विलो इतिहासलाई गर्व गर्दै अगाडि बढुनुपर्नेमा जोड दिँदै सबै कर्मचारी र पत्रकारलाई शुभकामना दिनुभयो। कार्यक्रमलाई गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवप्रसाद भट्टराई, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया र गोरखापत्र दैनिक नयाँ नेपाल अन्तर्गत प्रकाशित तामाङ भाषाका पृष्ठ संयोजक डा। अजितमान तामाङले शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य राजुकुमार महत, चामप्रसाद धमला, विजय भुर्तेल, गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन, व्यवस्थापन सल्लाहकार रामकृष्ण अधिकारी, कानुनी सल्लाहकार सुशीला चौधरीसहित विभागीय प्रमुखको उपस्थिति थियो।

ताजा समाचार

महायज्ञ सफल बनाउन दिपक मरिकलाई उठिवास

काठमाडौँ । सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ लगाउन सार्वजनिक स्थलमा बस्दै आइरहनुभएका दलित...

मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा...

नेपाल–भारत मित्रता : नयाँ आयाम दिन सहमति

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबिच दुई देशको...

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै...