मच्छिन्द्रनाथको रथ निर्माण बारे गुठी संस्थानको अन्तरक्रिया

Published on

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ निर्माण बारे सञ्चारकर्मीसँग स्थलगत अवलोकन तथा अन्तरक्रिया सम्पन्न भएको छ। ललितपुरको प्रसिद्ध बुंगद्य अर्थात् रातो मच्छिन्द्रनाथको रथारोहण तथा रथयात्रा नजिकिँदै बेला गुठी संस्थान कार्यालय ललितपुरले सो कार्यक्रम आयोजना गरेको हो। रथ निर्माणमा पाटनका वाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठियार सहभागी हुन्छन्। वैशाख १२ गते बुधबारदेखि पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य सुरु गरिएको थियो भने टंगलमा मिननाथको रथ निर्माण भइरहेको छ। रथमा ञवा गुठियारले लःसी, खम्बा, गलःसी र दाँयाबाँया काठ नहल्लियोस् भनेर चिरुवाको बेत र गोलो बेत नागको आकारमा कस्ने गर्दछन् भने वाराही गुठियारले काठको काम गर्ने गर्छन्।

रथ निर्माण कार्य धमाधम भइरहेको बेला रथ निर्माण, त्यसको प्राविधिक पक्ष, रथयात्राका सम्बन्धमा सञ्चारकर्मीलाई जानकारी दिन स्थलगत अवलोकन तथा अन्तरक्रिया गरिएको थियो। गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यको उपस्थितिमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। पुल्चोकमा रथ निर्माणको अवलोकनका साथै रथ यात्रा विविध विषयमा गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले जानकारी दिनुभयो। गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आर्चायका अनुसार रथ बनाउन १५ सय फिट महाबेत, १ सय ५० चिरुवाको बोट (पानी बेत), दुई–दुई हजार मिटर मोटो र मसिनो डोरी चाहिन्छ। ‘देवता राख्ने चारकुनामा लाकुरी जातको काठ र खटमा फलाटको काठ र धकूँ (ब्रेक) का लागि मयल जातको काठ र धकुको बिहेका लागि आरुको बोट आवश्यक पर्छ,’ उहाँले भन्नुभयो, ‘सबै बन्दोबस्त भइसकेको छ।’

रथ निर्माण सम्पन्न भइसकेपछि धूपीले सजाई तानिने छ। रातो मच्छिन्द्रनाथको रथारोहण साइत भने वैशाख २७ गते परेको छ। रथ निर्माण सफल होस् भनी ञवा गुठियारले कुलदेवता र विश्वकर्माको पूजा गरेका थिए। त्यसैगरी रथयात्राको लागि उपर्युक्त वातावरण, प्रशासनिक समन्वय र शान्ति सुरक्षाको प्रबन्धको विषयमा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो। रथयात्रा, रथको सुरक्षाको विषयमा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बताउनुभयो। पुल्चोकमा निर्माण भइरहेको रातो मच्छिन्द्रनाथको रथ निर्माणको अवलोकन तथा जानकारीपछि टंगलमा पुगेर मीननाथ निर्माणको अवलोकन गराइएको थियो। त्यसक्रममा रथ निर्माण गर्ने वाराहीका नाइके दिलकुमार वाराही रथ निर्माण हुनेछ।

रथमा बोसी खलकले रूख काट्ने, धकुले जात्रामा भक्तजनले रथ अनियन्त्रित ढङ्गले ताने त्यसलाई ब्रेक लगाउने, कुमालेले भाँडाकुँडा बनाउने, कौले फलामको, चित्रकारले पाङ्ग्रालगायत रथमा रङ्गाउने, पनेजुले पुजारीको र नेकुले सुनको कोदालो प्रयोग गरेर स्वयम्भूबाट ल्याएको माटोबाट मत्स्येन्द्रनाथको मूर्ति बनाउने र सिँगार्ने अनि स्नान गराउने काम गर्दछन्। नेवास् पत्रकार राष्ट्रिय दबुका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सांस्कृतिक क्षेत्रको रिपोर्टिङमा सक्रिय पत्रकारलाई लक्षित गर्दै गुठी संस्थानले पहिलो पटक अन्तरक्रिया तथा अवलोकन भ्रमण आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो।

ताजा समाचार

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...

‘ला ज्यालो वाङ थोप’ गुम्बा छ वर्षदेखि अलपत्र

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो...

पर्यटन दिवस मनाउँदै अन्तर्राष्ट्रिय सङ्ग्रहालय

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ ।...

मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो

काठमाडौं । मानव–सिर्जित जलवायु परिवर्तनले यस महिनाको सुरुमा मध्य युरोपमा विनाशकारी बाढी ल्याउने भारी...