कसैलाई छैन उच्च रक्तचाप !

Published on

काठमाडौं । आधुनिक जीवनशैलीसँगै बढ्दो रक्तचाप मानव स्वास्थ्यका लागि चुनौतीपूर्ण बनेको छ तर महोत्तरीको एउटा गाउँका कसैलाई उच्च रक्तचापसमेत नभएको पाइएको छ ।

भौगोलिक जटिलता र आर्थिक विपन्नता रहेको महोत्तरीकै दुर्गम बस्ती बर्दीबास नगरपालिका–१०, झ्याउरे भाङ्ग्रेमा अनेकन समस्या छन् तर त्यहाँका बासिन्दाको स्वस्थ्य जीवन भने अहिले सबैका लागि उदाहरणीय र चर्चाको विषय बनेको छ । झ्याउरे भाङ्ग्रेमै पुगेर स्वास्थ्य परीक्षण गर्नुभएका स्त्रीरोग विशेषज्ञ डा। अजिम अहमदलाई समेत त्यहाँको मेडिकल रिपोर्टले चकित पारेको छ । उहाँले त्यहाँका बासिन्दामा कुनै रोग नै नभएको बताउनुभयो । डा। अहमदले भन्नुभयो, “यो बस्तीलाई रोगमुक्त गाउँ भने पनि हुन्छ । यो हाम्रा लागि पनि नौलो अनुभव हो । ‘ब्लड प्रेसर’ त कसैमा देखिएन नै । सामान्य ग्यास्ट्रिक र यदाकदा ढाड र घुँडा दुख्नेबाहेक कसैलाई कुनै रोग नै छैन भन्दा पनि हुन्छ । बर्दीबास नगरपालिका र रेडक्रसले झ्याउरे भाङ्ग्रेमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा ७६ महिला र १० जना पुरुषको रक्तचाप जाँच गर्दा उच्च रक्तचाप कसैमा पनि नदेखिएको नेपाल रेडक्रस बर्दीबास उपशाखाकी ल्याब असिस्टेन्ट सिर्जना देवकोटाले बताउनुभयो । झ्याउरे भाङ्ग्रेमा लौरो टेकेर आउनुभएका वृद्धवृद्धामा पनि यो समस्या देखा नपरेको उहाँले बताउनुभयो ।

देवकोटाले भन्नुभयो “मैले सात वर्षको अवधिमा विभिन्न गाउँठाउँमा पुगेर दुई हजार जनाभन्दा बढीको प्रेसर जाँच गरे हुँला तर गाउँका सबैको ब्लड प्रेसर सामान्य भएको झ्याउरे भाङ्ग्रेमा मात्र देखियो ।” उहाँका अनुसार जाँचका क्रममा १० जना महिलामा सामान्य रूपमा रक्तचाप कम भएको पाइए पनि उच्च रक्तचाप भने कसैमा देखा परेन । वडाध्यक्ष प्रमोद मोक्तानका अनुमानमा सिन्धुली जिल्लासँग निकट रहेको यस गाउँको श्रम गर्ने बानी, चुरेको उकाली ओराली, शुद्ध हावापानी र प्रशन्न चित जस्ता आनीबानीले गाउँ उच्च रक्तचापमुक्त बनेको हो तर झ्याउरे भाङ्ग्रेबाहेक मधेश प्रदेशका अन्य गाउँबासी भने यत्तिको भाग्यमानी देखिँदैनन् । मधेश प्रदेश स्वास्थ्य निर्देशक डा। राजीव झाले तनावपूर्ण जीवन, अस्वस्थ्य खानपान र असन्तुलित जीवनशैलीले उच्च रक्तचाप विश्वव्यापी समस्या बनेको बताउनुभयो । यसले स्वास्थ्य क्षेत्रमा अनेकन समस्या थपेको उहाँको भनाइ छ ।

निर्देशनालयबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०७९\८० मा मधेश प्रदेशका आठ वटै जिल्लामा स्वास्थ्य परीक्षण गराउन आउनेमध्ये ५० हजार ९३८ जना हाइपर टेन्सनबाट ग्रस्त पाइएका थिए । यसमध्ये सबैभन्दा बढी पर्सा जिल्लामा १४ हजार १७७ जना उच्च रक्तचापबाट पीडित थिए । बर्दीबास अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा। कृष्णा महर्जनका अनुसार उच्च रक्तचाप गर्भ अवस्थाका महिलाका लागि त दुःस्वप्न (नाइटमेयर) नै मानिन्छ । गर्भ अवस्थामा रक्तचाप बढेर बेहोस हुने ‘इक्लाम्पसिया’ जस्तो अवस्था आयो भने मातृ मृत्युदर १० प्रतिशतसम्म बढ्ने उहाँले बताउनुभयो । डा। महर्जनले भन्नुभयो, “यस्तो अवस्थामा रक्तचाप घटाएर आमा र बच्चालाई बचाउनुपर्ने चुनौती थपिएको हुन्छ ।” बर्दीबास अस्पतालमा सुत्केरी हुन आउनेमध्ये २० प्रतिशतमा यस्तो समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य निर्देशक डा। झाका अनुसार उच्च रक्तचापबाट बच्न सन्तुलित जीवनयापन गर्ने, नेपालीको सरदर नौ ग्राम नुन खाने मधेशमा त झन् बढी नुन खाने चलन छ, यसलाई घटाएर पाँच प्रतिशतमा झार्ने, मध्यपान र धूमपान नगर्ने, तनाव नलिने नियमित व्यायाम गर्ने जस्ता आनीबानीले रक्तचाप सन्तुलित राख्न सकिन्छ । झ्याउरे भाङ्ग्रेमा पहिलो पटक आयोजित स्वास्थ्य शिविरमा प्रेसर जाँच गराउँदै स्थानीय महिला । गोरखापत्र

ताजा समाचार

सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी...

प्लाइउड निर्यात दोब्बरले बृद्धि

काठमाडौं । गत केही वर्ष यता नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक...

आँधीखोलामा बेपत्ता बिद्यार्थी मृत भेटिए

काठमाडौं । स्याङ्जाको आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । वालिङ...

विद्युत बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०८१ मा महसुल...