बनेपालीको पर्व ‘चण्डेश्वरी जात्रा’

Published on

काठमाडौं । बनेपालीले हरेक वर्ष पर्वकै रूपमा मनाउने ‘चण्डेश्वरी जात्रा’ को औपचारिक विधि बिहीबारदेखि सुरु भएको छ । चण्डेश्वरी जात्रासँग सम्बन्धित केही रोचक प्रसङ्गसमेत जोडिएका छन् ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन (बुद्ध जयन्ती) विशेष रूपमा मनाइने चण्डेश्वरी जात्राको विधि वैशाख शुक्ल अष्टमीको दिनबाट सुरु हुन्छ । जात्रा सम्पन्न नभएसम्म बनेपाको पुरानो बजार क्षेत्रमा बेहुलीलाई घुम्टो ओढाउन, कालो छाता ओढ्न, छाला जुत्ता लगाउन पाइन्न । स्थानीय मनिष भोछिभोयाका अनुसार चण्डेश्वरी जात्राको विधि सुरु भएसँगै बनेपाको पुरानो बजार क्षेत्रमा हुने विवाहमा बेहुलीलाई घुम्टो ओढाउन पाइन्न । कलकत्ते (कालो) छाता ओढ्न, छाला जुत्ता लगाउन, निर्माण हुँदै गरेका घरमा खट राख्न पाइन्न । यसखाले नियम बनेपाको लायकुदेखि गणेशस्थान (पुरानो बजार) सम्म लागु हुँदै आएको छ । उहाँका अनुसार बिहीबार बिहान बनेपाका भोछिभोया परिवारहरू बनेपा तीनधारास्थित चाकुबजी चोकमा गई नङ काट्ने, कपाल खौरेर वकुटोलमा जम्मा भई चण्डेश्वरीमा कुलायन पूजा गरेपछि जात्राको औपचारिक विधि सुरु हुने गर्छ । उहाँका अनुसार जात्राको विधि सुरु भएपछि सोही साँझ भोछिभोया परिवारले नवदुर्गाको जात्राको दिन नवदुर्गाले दिएको सुपारीलाई जात्राको नाइके (द्वारे) लाई बनेपाको लायकु दरबार क्षेत्रमा गएर जात्राको निम्तो दिने गर्छन् । उक्त सुपारी दिन जाँदा जात्रा अवधिभर गर्न नहुने विषयमा भोछिभोया परिवारका युवाले कराएर जानकारी दिन्छन् ।

जात्राको विधि सुरु भएको बेलुका बनेपामा रहेका शाही खल (परिवार) ले भोछिभोया परिवारको घरबाट भिजाएको चिउरा, चामल, रक्सीलगायतका वस्तु जम्मा गरी लायकुदेखि गणेशस्थानसम्म बाजा बजाउँदै भोछिभोया परिवारबाट जम्मा गरिएको वस्तु छरेर ‘भूतप्रेत’ पन्छाउने गरिन्छ । करिब छ सय वर्ष पहिले राजा आनन्द देवको पालामा चण्डेश्वरी जात्रा सुरु भएको किंवदन्ती रहेको पाइन्छ । जात्राको पहिलो दिनमा तकः पूजा अर्थात् चण्डेश्वरीसहित विभिन्न देवीदेवताको पूजा हुने गर्छ । सोही दिन चण्डेश्वरीमा १२ वटा काला बोकाको बलि दिने प्रचलन रहेको छ । जात्राको दोस्रो दिन बिहान अर्थात् पूर्णिमाको दिन बिहान ३:३० बजेको समयमा बनेपाली हात हातमा चिराग लिएर बनेपाको लायकु दरबारमा उपस्थित भई विभिन्न वाद्यवादनसहित भजनकीर्तन गर्दै चिराग लिएर चण्डेश्वरीनजिकै रहेको जैसिगाकुण्ड (पवित्र तीर्थस्थल) मा गई नुहाउने चलन रहेको छ । जात्राको दोस्रो दिनमा नै काठमाडौँको हनुमानढोकाबाट कानफुट्टा जोगी आएपछि बनेपाको तीनधारामा एक भेडा र एक कुखुराको भाले काटी पूजाआजा गरी देवता राख्न रथलाई चण्डेश्वरी मन्दिरमा लैजाने प्रचलन रहेको छ । देवी राख्नका लागि लैजान लागिएको रथ बोक्न युवाको ठुलो भिड लाग्ने गर्छ । जात्राको तेस्रो दिन देवी राख्नका लागि चण्डेश्वरी मन्दिर पुर्‍याइएको रथमा देवता राखी बजारतर्फ ल्याइने गरिन्छ । देवता राखी ल्याइएको सो रथलाई भैरवकुण्डमा देवताको मुख धोएर बजारतर्फ ल्याइने प्रचलन रहेको पाइन्छ । गोरखापत्र

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...