बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागती खेतीमा

Published on

काठमाडौं । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागती खेती गर्न थालेका छन् । जनशक्ति, मलखाद, कृषि पूर्वाधारको अभावका बिच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागती खेती गर्न थालेका हुन् ।

केही वर्षअघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि पोखरा महानगरपालिकाका वडा नम्बर १८, १९, २१, २२, २६, ३१, ३३ लगायतका स्थानका किसान धानखेती छोड्न बाध्य भएका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । पोखरा महानगरपालिकाको वडा नम्बर ३३ को बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, बूढीखोरिया, हुँडिकोटदेखि सुरौदी फाँटसम्म बाँदरले दुःख दिएकै कारण खेती गर्ने क्रम बर्सेनि कम हुँदै गएको अगुवा कृषक रमेश आचार्य बुताउनुहुन्छ । “फाँट तिर जेनतेन धानखेती भइरहे पनि पाखा तथा टारीतिर अधिकांश स्थानमा बाँदरकै कारण खेतबारी बाँझो छन्”, उहाँले भन्नुभयो, “राज्यले बाँदरको व्यवस्थापनसँगै त्यसबाट पीडित किसानको समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिन नदिँदा बाध्य भएर अन्य खेतीतर्फ लाग्नु परेको छ ।” वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रूपमा सूचीकृत गरेको छ । आफूहरुले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा राहत तथा क्षतिपूर्तिसमेत पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगरपालिका(२६ खास्टेताल पारी भुसालटारीका स्थानीय सामूहिकरुपमा कागती खेतीतर्फ लागेको भुसालटारी कृषक समूहका कोषाध्यक्ष विश्वराज अधिकारीले जानकारी दिनुभयो । “खास्टेतालपारीको भुसालटारी विगतमा राम्रो धानखेती हुने ठाउँ हो । पछिल्ला वर्षमा बाँदर आतङ्कका कारण खेती जोगाउन मुस्किल छ । त्यसैले विकल्पका रूपमा हामीले सामूहिकरुपमा कागती खेती गर्न थालेका छौँ ।” कागती खेतीलाई बाँदरले पनि खासै क्षति नगराउने भएकाले विकल्पका रूपमा यहाँको एक सय ७० रोपनी क्षेत्रफलमा कागती खेती सुरु गरेका छन् ।

त्यहाँ तीन वर्षयता तीन हजार कागतीका बिरुवा रोपिएका छन्, तीमध्ये दुई हजार सात सय बिरुवा राम्रैसँग हुर्किरहेका छन् । सो खेतीका लागि हालसम्म ५० लाखभन्दा बढी लगानी भइसकेको छ । “हामीले सुरूमा वर्षमा लगाएका एक हजार कागतीका बिरुवा २२ महिना पुगिसकेका छन्, दोस्रो वर्ष दुई हजार सङ्ख्यामा कागतीका बिरुवा लगाएका हौँ”, अधिकारीले भन्नुभयो, “यस वर्ष थप एक हजार पाँच सयदेखि दुई हजारसम्म बिरुवा थप्ने समूहको तयारी छ । सो समूहका सञ्चालक समिति सदस्य नवराज अधिकारीले लेखनाथमा रहेका सात तालमध्येको एक खास्टेतालमा पर्यटकीय गतिविधि बढाउने गरी कागतीको बगैँचालाई व्यवस्थित र आकर्षित गर्ने समूहको दीर्घकालीन सोच रहेको बताउनुभयो । पोखरा पर्यटन राजधानी घोषणा भइसकेकाले बगैँचा व्यवस्थापन हुनसके खास्टेतालमा आउने पर्यटकको बसाई थप केही समय लम्ब्याउन सकिने सो उहाँको बुझाइ छ । महानगर कृषि महाशाखा प्रमुख कडरिया पनि बाँझा जग्गामा कागती खेती गर्नसकेमा त्यसले कृषकको आम्दानी वृद्धिका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने बताउनुहुन्छ । कागतीमा रोग सहने शक्ति बढी हुने भएकाले बाँझा जग्गामा कागती खेती गर्न महानगरले पनि सहयोगको नीति बनाउने उहाँले बताउनुभयो । “कृषकलाई बाँझा जग्गामा कागती खेतीमा लगाउन सके जमिनको उपयोगका साथै रोजगारी पनि सिर्जना गर्न सकिन्छ । त्यसैले महानगर र सरोकार भएका निकाय मिलेर यस्ता योजना अगाडि बढाउन जरुरी छ”, उहाँले भन्नुभयो । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...