लुम्बिनी गुरुयोजनाको प्रगति सुस्त गतिमा

Published on

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको लुम्बिनी गुरुयोजना ४६ वर्षसम्म पूरा भएको छैन । चालु आर्थिक वर्षमा अधिकांश बजेट कटौती हुँदा लुम्बिनी विकास कोषका पदाधिकारी असन्तुष्ट छन् । लुम्बिनी विकास कोषले पाँच वर्षअघि गुरुयोजनाको काम ८२ प्रतिशत पूरा भएको बताएको थियो । कोषले अहिले ८३ प्रतिशत मात्रै पुगेको बताएको छ । पछिल्लो पाँच वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा करिब तीन प्रतिशतमै सीमित रहेको छ । २५६३ औँ बुद्ध जयन्तीमा गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको प्रतिवेदन सार्वजनिक गरिएकामा पाँच वर्षपछि ८५ प्रतिशत मात्र काम पूरा भएको विवरण कोषले सार्वजनिक गरेको छ । दुई वर्षअगाडि नै गुरुयोजना अन्तर्गतका छ वटा भवन, फोहोर व्यवस्थापन, नदी डाइभर्सनबाहेकका काम सम्पन्न भएको भनिए पनि धेरै योजना बहुवर्षीय ठेक्का लागिसकेकाले निर्माणाधीन अवस्थामा रहेका छन् । गुरुयोजना क्षेत्रभित्र शुद्ध पानी वितरणका निम्ति ११ लाख लिटर क्षमताको भूमिगत तथा तीन लाख लिटर क्षमताको दुई वटा विशेष डिजाइन भएको पानी ट्याङ्की, करिब २५ किलोमिटर क्षेत्रमा पानी वितरण प्रणाली सम्पन्न भएको कोषले जनाएको छ ।

जापानी वास्तुविद् प्राध्यापक केन्जो टाङ्गेले सन् १९७२ मा सुरु गरेर १९७८ मा लुम्बिनीको गुरुयोजना तयार गरी सरकारलाई हस्तान्तरण गर्दा १५ वर्षमा सम्पन्न हुनुपर्ने लक्ष्य राखिएको थियो । संयुक्त राष्ट्रसङ्घका तेस्रो महासचिव उथान्त सन् १९६७ अप्रिल १३ मा लुम्बिनी आउँदा लुम्बिनीको अवस्था अस्तव्यस्त र लथालिङ्ग देखेपछि नेपाल सरकारसमक्ष लुम्बिनी विकासको गुरुयोजना बनाएर अघि बढ्न प्रस्ताव गरेपछि उहाँकै प्रस्ताव अनुसार नै टाङ्गेले लुम्बिनीको गुरुयोजना बनाउने जिम्मा पाउनुभएको थियो । गुरुयोजना तयार हुँदा ५५ मिलिनियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिए पनि त्यसको लागतलाई अहिले मूल्याङ्कन गरिएको छैन । कुल एक हजार १५५ बिघा क्षेत्रफललाई गुरुयोजनामा समेटेर तीन भागमा विभाजन गरिएको थियो । एक हजार १५५ बिघा तीन वर्गमाइलमा समेटी पूर्वपश्चिम एक वर्गमाइल र उत्तर दक्षिण तीन वर्गमाइलमध्ये दक्षिणतर्फको एक वर्गमाइल जमिनलाई उद्यान क्षेत्र, एक वर्गमाइललाई अन्तर्राष्ट्रिय विहार क्षेत्र र अर्को एक वर्गमाइल क्षेत्रलाई नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरेर गुरुयोजना बनाइएको थियो ।

१५ वर्षमा सम्पन्न हुनुपर्ने गुरुयोजना अनुसारको काम साढे चार दशक पूरा हुँदा पनि अझै बाँकी छ । विकास कोषका उपाध्यक्ष ल्यारकल लामाले सरकारले पनि पर्याप्त बजेट विनियोजन नगर्दा गुरुयोजनाको काम यो अवस्थामा पुगेको र अझै यस्तै रहे धेरै वर्ष गुरुयोजना पूरा हुन नसक्ने बताउनुभयो । उहाँले सरकार लुम्बिनीको विकासका लागि उदासीन रहेको र स्रोत जुटाएर काम गर्ने वातावरण पनि नरहेको बताउनुभयो । लामाले भन्नुभयो, “विश्वभरि लुम्बिनीको सकारात्मक सन्देश जाने बुद्ध जयन्ती समारोह मनाउनका लागि त सरकारले बजेटको व्यवस्था गर्न चासो देखाउँदैन, अर्थ मन्त्रालयमा बजेट माग गर्न जाँदा भिख माग्न गएजस्तो अनुभूति भयो, सरकारको यस्तो व्यवहारले धेरै दुःखी बनाएको छ, अब यस्तो नहोस् । विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार लुम्बिनी गुरुयोजनाका लागि हालसम्म पाँच अर्ब रुपियाँभन्दा बढी रकम खर्च भइसकेको छ । अहिलेको अवस्थामा गुरुयोजना पूरा गर्न अझै तीन अर्ब रुपियाँभन्दा धेरै बजेट आवश्यक पर्छ । विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले सरकारले बजेट सुनिश्चितता गरे एक वर्षमा गुरुयोजनाको काम सम्पन्नको दिशामा जाने दाबी गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...