आर्थिक वृद्धिदरमा गण्डकी अगाडि

Published on

काठमाडौं । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ उत्पादनसम्बन्धी प्रक्षेपण अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै अर्थात् ४.५५ प्रतिशतको वृद्धिदर हुने छ । त्यसपछि लुम्बिनी प्रदेशमा ४.०५ प्रतिशत, बागमती प्रदेशमा ३.९६ प्रतिशत, मधेश प्रदेशमा ३.७८ प्रतिशत, कोशीमा ३.५१ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ३.४१ प्रतिशत र कर्णाली प्रदेशमा ३.३९ प्रतिशत आर्थिक वृद्धिदर हुने कार्यालयको प्रारम्भिक अनुमान छ । गण्डकी, लुम्बिनी र बागमतीबाहेक अन्य सबै प्रदेशको वृद्धिदर चालु आवका लागि अनुमान गरिएको राष्ट्रिय आर्थिक वृद्धिदरको तुलनामा कम हुने अनुमान गरिएको हो । चालु आवका लागि कार्यालयले नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको छ ।

चालु आवमा मुलुकको अर्थतन्त्रको कुल आकार उपभोक्ता मूल्यमा ५७ खर्ब पाँच अर्ब अनुमान गरिएकामा सबैभन्दा ठुलो हिस्सा भने बागमती प्रदेशको हुने देखिएको छ । कार्यालयका अनुसार कुल अर्थतन्त्रमध्ये बागमती प्रदेशले ३६.४ प्रतिशत, कोशी प्रदेशले १५.८ प्रतिशत, लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान रहेको छ । गत आवको तुलनामा कुल गार्हस्थ उत्पादनमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमको योगदान केही घट्ने अनुमान गरिएको छ । अर्थतन्त्रमा योगदानका आधारमा सबैभन्दा ठुलो हिस्सा ओगटेको बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७५ अर्ब रुपियाँ पुग्ने अनुमान कार्यालयको छ । त्यसपछि कोशी प्रदेशको नौ खर्ब तीन अर्ब, लुम्बिनी प्रदेशको आठ खर्ब १४ अर्ब, मधेश प्रदेशको अर्थतन्त्रको आकार सात खर्ब ४८ अर्ब रुपियाँ पुग्ने अनुमान छ । सबैभन्दा धेरै आर्थिक वृद्धिदर हुने अनुमान गरिएको गण्डकी प्रदेशको अर्थतन्त्रको आकार पाँच खर्ब १७ अर्ब रुपियाँ पुग्ने अनुमान कार्यालयले गरेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको चार खर्ब चार अर्ब र कर्णाली प्रदेशको अर्थतन्त्रको आकार दुई खर्ब ४४ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ ।

औद्योगिक वर्गीकरण अनुसार बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिने कार्यालयले जनाएको छ । त्यसै गरी बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ । बागमती र मधेश प्रदेशबाहेक सबै प्रदेशको कुल गार्हस्थ उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ । बागमतीमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनसम्बन्धी क्रियाकलाप र मधेशमा खनिज तथा उत्खनन क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिने पनि कार्यालयले उल्लेख गरेको छ । बागमतीको प्रतिव्यक्ति आय सबैभन्दा बढी चालु आवमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी हुने अनुमान गरिएको छ । कार्यालयका अनुसार बागमती प्रदेशको दुई हजार ४८४, गण्डकी प्रदेशको एक हजार ५५७, कोशी प्रदेशको एक हजार ३३६, लुम्बिनी प्रदेशको एक हजार १५९, सुदूरपश्चिम प्रदेशको एक हजार १११, कर्णाली प्रदेशको एक हजार ६६ र मधेश प्रदेशको ८९२ डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आवमा राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन एक हजार ४३४ डलर हुने प्रारम्भिक अनुमान गरिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...