पशुपतिको भेटी चोरी प्रकरण : ढोडारीको घरबाट छ लाख बरामद

Published on

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपियाँ बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेका अनुसार कोषका नायब सुब्बा नवराज ढोडारीको घरबाट भेटी चोरी गरेर सङ्कलन गरेकै ठाउँबाट छ लाख रुपियाँ बरामद गरिएको हो । डिएसपी थेबेले भन्नुभयो, “घरको तलासी लिँदा नगद बरामद भएको हो ।” जेठ ७ गते नासु ढोडारीसहित आठ जनालाई नियन्त्रणमा लिए पनि पाँच जनामाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारमाथि जेठ ८ गते म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । अन्य तीन जना भेटी चोरीमा संलग्न नदेखिएपछि प्रहरीले छोडिदिएको छ । पशुपति क्षेत्र विकास कोषको सिसिटिभी निगरानीका क्रममा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षका मुख्य कर्मचारी ढोडारीसहितका कर्मचारीले लुकाएर लाने गरेको खुलेको थियो ।

मन्दिरभित्रै पक्राउ परेका अभियुक्तले प्रहरीसँगको बयानमा पदाधिकारीकै संरक्षणमा चोरीमा संलग्न भएको बयान दिएपछि कोषाध्यक्ष नारायणप्रसाद सुवेदी पनि तानिनुभएको छ । डिएसपी थेबेले अनुसन्धानका क्रममा नाम आएका व्यक्तिमाथि बयान लिन सक्ने र संलग्न देखिएमा आवश्यक कारबाही हुने प्रस्ट पार्नुभयो । वर्षायाम सुरु भएपछि कोषले भेटी अलपत्र हुने भएकाले संस्कृति संरक्षण महाशाखाका कर्मचारीलाई २०८० जेठ १६ गते पूर्ण रूपले गणना गर्नेलाई १५ दिनको र अतिरिक्त समयमा काम गर्नेलाई १० दिनको तलब सुविधा दिने गरी खटाएको थियो । तर कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूहरूले निरन्तर काम गरेको बयान पक्राउ परेका अभियुक्तले दिएका छन् । बाजा बजाउने कर्मचारी अनिल परियारको दाबी छ, “नारायण सुवेदी सर हुनुहुन्छ, उहाँले भनेर हामीले गरेको हो । परियारको बयानमा ‘सिसिटिभी छ, हामी यस्तो काम नगर्ने भन्दा, केही हुँदैन, कसैले देख्दैन गर गर’ भनिएको छ । कोषाध्यक्ष सुवेदीलाई २०७८ मा तत्कालीन पर्यटनमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले नियुक्त गर्नुभएको हो । एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगमा पनि सुवेदी हुनुहुन्थ्यो । यस सम्बन्धमा सुवेदीले केही बोल्न चाहनु भएन ।

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...