गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको निर्माण सुस्त

Published on

काठमाडौं । विराटनगर महानगरपालिकाको वडा नं १९ को बैजनाथपुरमा निर्माण हुने भनिएको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको डिपीआर अझै बनिसकेको छैन । गत वर्षको कात्तिक १९ गते युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय योजना आयोगसँग डिपीआर निर्माणका लागि २ करोड ७९ लाख ७४ हजार रुपियाँ आवश्यक पर्ने भनी माग गरेको थियो । तत्कालीन मन्त्री डिगबहादुर लिम्बूले डिपीआर बनेर आएपछि बढीमा तीन वर्षमा गिरिजाप्रसाद कोइराला रङ्गशाला निर्माण हुने बताउनुभएको थियो । मोरङ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने लिम्बूले मन्त्री हुने वित्तिकै गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि काम अघि बढाउनुभएको थियो । खेलकुद मन्त्रीबाट लिम्बू हटेपछि काम सुस्त हुँदै गएको छ । युवा तथा खेलकुद मन्त्रालयको योजना अनुगमन तथा विकास हायता शाखाका अधिकृत गणेश गुरूङले भन्नुभयो, ‘‘हामीले मन्त्रालयबाट क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी राष्ट्रिय योजना आयोगमा पत्राचार गरेका थियौँ ।

आर्थिक वर्ष २०८०\०८१ मा ६६ करोड ९३ लाख, ०८१\०८२ मा एक अर्ब ११ करोड ८९ लाख र ०८२\०८३ मा ९७ करोड ९० लाख रुपियाँ आवश्यक पर्ने भनी बजेट माग गरिएको थियो । तर, आर्थिक वर्ष ०८०\०८१ सकिन ५० दिन मात्र बाँकी हुँदासम्म आयोजनाको डिपीआरले पुर्णता पाएको छैन । शाखा अधिकृत गुरुङले भन्नुभयो, ‘‘यो आर्थिक वर्षभित्रमा डिपीआरले पूर्णता पाउन सक्छ । गुरूङका अनुसार अहिले पनि धमाधम डिपीआरको काम भइरहेको छ । गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला कोशी प्रदेशको सरकारी स्तरको एकमात्र क्रिकेट मैदान हो । २०५४ सालमा बहुउद्देश्यीय रङ्गशाला बनाउने योजनाका साथ तत्कालीन सरकारले २०५५ सालमा यो जग्गा अधिग्रहण गरेको थियो । त्यसपछि सातौँ राष्ट्रिय खेलकुद आयोजनाका क्रममा त्यहाँ क्रिकेट खेल आयोजना गर्न पिच तयार गर्ने काम सम्पन्न भयो । त्यसयता कुनै ठोस काम भएको छैन् । स्थानीय, प्रदेश सरकारको बजेट आए पनि ति बजेटबाट उल्लेखनीय काम नभएको मोरङ क्रिकेट सङ्घका प्रशिक्षक महेश रिजालले बताउनुभयो ।

रिजालका अनुसार अहिले पनि वर्षायाममा खेल खेल्न सकिने अवस्था छैन । प्रदेश स्तरीय ठूला प्रतियोगिता आयोजना भइसकेको क्रिकेट मैदान मर्मतमै वार्षिक तीन लाख बढी खर्च हुन्छ । पूरै घाँस मार्न मिल्दैन । लगातार प्रतियोगिता गर्न सक्ने हाम्रो क्षमता छैन । प्रतियोगिता नभएको बेला घाँस उम्रिन्छ र समस्या हुन्छ । उहाँले एकसाताभित्र नै १९ वर्षमुनिका खेलाडी छनोटका लागि खेल हुन लागेको बताउनुभयो । कोशी प्रदेश खेलकुद बोर्डका प्राविधिक प्रमुख सोभित प्रसाईका अनुसार यो मेघा प्रोजेक्ट हो । अर्बौँ पैसा चाहिन्छ । टुक्राटुक्री बजेट आउँछ । त्यो टालटुलमै सकिन्छ । उहाँले नेपाल सरकारको बजेट भाषणमा आएर बजेटको सुनिश्चितता नभएसम्म रङ्गशाला निर्माण हुन गाह्रो छ । जिल्ला क्रिकेट सङ्घ मोरङका अध्यक्ष मोहम्मद साद कुरेसीले सामाजिक विकास मन्त्रालयले दिएको १ करोड रुपियाँको बजेटबाट समेत काम सम्पन्न गर्न नपाएको बताउनु भयो । कुरेसीका अनुसार कोभिड अघि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक करोड रुपियाँ विनियोजन गरेको थियो । पेवेलियम रुम सहितको ४ तल भब्य भवन बनाउन थालेको क्रिकेट सङ्घले काम बिचमै रोक्नु प र्‍यो । कोभिडको बहानामा काम रोकिएपछि उक्त आयोजना अहिले अलपत्र अवस्थामा छ ।

बहुउद्देश्यीय खेलमैदानको अवधारण अनुसार खरिद गरिएको १५ विघा १० कट्ठा जग्गामा टेनिस कोर्ट र सुटिङ हल (सुटिङ खेल्ने घर)समेत निर्माण भइसकेका छन् । ति दुबै अहिले संरक्षणको पर्खाइमा छन् । क्रिकेट मैदान बरिपरि घेरिएको भए पनि खेलमैदानको अरु जग्गा गौचरण बनेको छ । बिहान देखि साँझसम्म स्थानीयले गाई, भैंसी, बाख्रा, पगाहा लगाउने गरेका छन् । आयोजना परिसरको एउटा घरमा २०७० साल देखि ६५ वर्षीय सुकरेतलाल सरदार बस्दै आउनुभएको छ । चौकीदारको रुपमा बस्दै आउनुभएका सरदारले तलब पाउनुहुन्न । आपसी समझदारी खेलमैदानको एक बिघा जग्गा खेती गरेर चौकीदारी गरिरहेको सरदारले बताउनुभयो । महानगरको १९ नम्वर वडामा पर्ने यो विशाल आयोजनाभित्र चौकीदारी गर्ने सुकरेतलालले मट्टितेलको बत्ती बालेर बसेको १४ महिना भयो । आयोजनाले बिजुलीको बिल भुक्तान नगरेपछि विद्युत प्राधिकरणले लाइन काटेको प्रशिक्षक महेश रिजालले बताउनुभयो ।

क्रिकेट रङ्गशालामात्र नभएर स्विमिङ पुल, कभर्डहल, फुटबल मैदान समेत निर्माण गरेर बैजनाथपुरलाई खेलकुद कम्प्लेक्स बनाइने महानगरको सपना छ । महानगरका नगरप्रमुख नागेश कोइरालाले भन्नुभयो, ‘‘महानगरको स्रोतले धान्ने आयोजना होइन । हामीले हाम्रै पालामा रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि पहल गरेका हौं । हाम्रो बजेटले भ्याएसम्म रङ्गशालासम्म पुग्ने सडक र बत्तीको लागि सहयोग गरेका छौँ । हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट करिब तीन करोड खर्च भइसकेको छ । क्रिकेटको टर्फ विकेट निर्माण भएको छ । जमिनलाई घेरा गरेर टर्फ विकेटसहित स्कोरर बोर्ड, साइड स्क्रिन र करिब सय जना अटाउने प्यारापिट निर्माण भइसकेको छ । तर बजेटको सुनिश्चितता नभई सानातिना खर्चले मात्र यो आयोजना सम्पन्न हुने देखिँदैन । गोरखापत्र

ताजा समाचार

गाजामा हमासका वरिष्ठ कमान्डर मारिएको इजरायली सेनाको पुष्टि

काठमाडौँ । इजरायली सेनाले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन सहरमा भएको हवाई हमलामा हमासका...

योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै...

भारतले लिने भयो रक्तचन्दन

काठमाडौँ । नेपालमा अवैध ओसारपसार भई थन्किएर रहेको रक्तचन्दन भारतले फिर्ता लैजाने भएको छ ।...

राष्ट्रपतिको युरोप भ्रमण: जलवायु परिवर्तनमा नेपालको प्राथमिकता केन्द्रमा रहनुपर्ने मुद्दा स्थापित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरणको मुद्दा...