‘नेपाल आर्थिक सुधारको चरणमा’

Published on

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको र जनताका जीवनस्तरमा सुधार ल्याउन सरकारले रणनीतिक महत्वको कार्यक्रम अघि सारेको बताउनुभएको छ । सदरमुकाम चौतारामा निर्माण सम्पन्न प्रदेश स्तरको ५० शय्याको चौतारा अस्पतालको बुधबार उद्घाटन गर्नुहुँदै उहाँले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले गणतन्त्रपछि थुप्रै उपलब्धि हासिल गरेको, पूर्वाधारदेखि शिक्षा, स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको बताउनुभयो । उहाँले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको र जनताका जीवनस्तरमा सुधार ल्याउन सरकारले रणनीतिक महत्वको कार्यक्रम अघि सारेको उल्लेख गर्नुभयो । उहाँले व्यवस्था मात्रै होइन, अवस्था परिवर्तन गर्न सरकार लागेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मुलुकमा राजनीतिक उत्तारचढावभित्र जटिलता र चुनौती थुप्रै छन् । पछिल्ला दिनमा सदनभित्रको जे अफ्ठ्यारा थिए । प्रधानमन्त्रीकै विशेष पहलमा समाधान गरी नीति तथा कार्यक्रम सहज रूपले अगाडि बढाउने वातावरणमा बनेको छ ।” उहाँले जनतालाई अनुभूत हुने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताललाई आग्रह गर्दै सामान्य उपचार लिन राजधानी र अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताउनुभयो । चौतारा अस्पतालका लागि जनशक्ति, स्रोतसाधान व्यवस्था गर्न सरकार लाग्ने भन्दै उहाँले नीतिगत सुधार गरी सय शय्या सञ्चालन भएका अस्पतालमा नर्सिङ कलेज पढाउने व्यवस्था हुने हुँदा चौतारा अस्पतालले पनि आफूलाई स्तरोन्नतिमा ध्यान दिन निर्देशन दिनुभयो । कार्यक्रममा मित्रराष्ट्र चीन सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको उक्त अस्पतालको साँचो बुधबार प्रधानमन्त्रीलाई हस्तान्तरण गर्दै नेपालका लागि चीनका राजदूत चेन सोङले अस्पताल निर्माणले जनताले उपचार सेवा सहज रूपमा पाउने बताउनुभयो । पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफू स्वास्थ्यमन्त्री हुँदा एक सय शय्यादेखि तीन सय शय्या सञ्चालन भएको अस्पतालमा नर्स प्यारामेटिक र तीन सय शय्यादेखि माथि चलेका अस्पतालमा एमबिबिएस पढाउने निर्णयलाई वर्तमान सरकारले सम्बोधन गरेकोमा सरकारलाई आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले पनि यस अस्पतालमा जनशक्ति अभाव छ । उपकरण पनि अभाव छ । यसको पूर्ति गर्न सरकार लागोस् ।”

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले ५० शय्याको चौतारा अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा दिने बताउनुभयो । प्रतिनिधि सभा सदस्य माधव सापकोटा र पूर्वसभामुख अग्निप्रसाद सापकोटाले चौतारा अस्पतालले जनतालाई महसुस हुने गरी स्वास्थ्य सेवा दिनुपर्ने बताउनुभयो । १८ महिना अवधिमा सम्पन्न भएको ३९ कोठाको ५० शय्याको उक्त अस्पताल भवन निर्माणका लागि चीनको अर्थ मन्त्रालय अन्तर्गत एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसन र नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच काठमाडौँमा सम्झौता भएको थियो । अस्पताल पुनर्निर्माण गर्न चीन सरकारले छ करोड १० लाख आरएमबी अनुदान सहयोग गरेको हो । अस्पताल करिब १८ महिनामा निर्माण सम्पन्न भएको प्रोजेक्ट प्रमुख वरिष्ठ इन्जिनियर मिस्टरगुओ बाओचेङले जानकारी दिनुभयो ।

अस्पतालका लागि मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले उपलब्ध गराएको छ । भवनमा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष रहेका छन् । फर्निचर, मेसिन, दराज सबै चीनबाट ल्याइएको हो । नेपाल सरकारलाई हस्तान्तरण गरेपछि पनि थप तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहने छन् । विशेषज्ञ चिकित्सक अभाव रहेको अस्पतालमा ६३ जना जनशक्ति छ । २०३१ सालमा स्थापना भएको उक्त अस्पताल २०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि पाँच वर्षसम्म टेन्ट, त्रिपालमुनि बसेर उपचार सेवा दिएको थियो । गोरखापत्र

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...