शीर्ष नेताहरूबिच समसामयिक विषयमा छलफल

Published on

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासँग संवाद गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग समसामयिक राजनीतिक सन्दर्भमा छलफल गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको शीर्ष नेताको बैठकमा सरकार, संसद्, सङ्क्रमणकालीन न्यायसहित विभिन्न विषयमा छलफल भएको हो । सभापति देउवा र अध्यक्ष ओलीसँगको छलफललगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गर्नुभयो । बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले संसद् र समितिमा रहेका विधेयकलाई अन्तिम रूप दिने तथा संसद्का कामकारबाहीका सन्दर्भमा छलफल भएको बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि समसामयिक राजनीतिक सन्दर्भमै संवाद भएको जानकारी दिनुभयो ।

डा। महतका अनुसार बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकलाई अन्तिम रूप दिनुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्डले शीर्ष नेतासँग छलफल गर्नुभएको हो । उहाँले कानुन, न्याय तथा मानव अधिकार समितिमा रहेको विधेयक तथा सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामसहित सङ्क्रमणकालीन न्यायको सवाललाई कसरी टुङ्ग्याउने भन्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तर औपचारिक सहमति भइसकेको छैन । छलफल हुँदै छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर अगाडि बढ्ने अभिप्रायसाथ कानुन निर्माणदेखि समसामयिक सन्दर्भसम्म छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै काम गर्नु छ । सरकार र संसद्मा समझदारीका साथ जानुपर्ने छ । त्यसैले सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका नेताबिच कुनै न कुनै विषयमा सहकार्यको वातावरण बनाउने अभिप्रायले नै उहाँहरूले छलफल गर्नुभएको हो ।”

अध्यक्ष नेपालसँग पनि छलफल

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँहरूबिच प्रदेश सरकारका सन्दर्भमा छलफल भएको हो । एमाले प्रमुख सचेतक बर्तौलाले सत्ता साझेदार दलबिचको समझदारीसहित नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा कसरी सामेल गराउने भन्ने सन्दर्भमा शीर्ष नेताबिच छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य समसामयिक सन्दर्भमा छलफल त हुने नै भयो । मुख्य रूपमा छलफल यही विषयमा हो । एकीकृत समाजवादीका उपाध्यक्ष डा। वेदुराम भुसालले कोशी प्रदेश सरकारमा सहभागिता, मधेश प्रदेश सरकार, सुदूरपश्चिम सरकारमा सत्ता साझेदार दलको सहभागितासहित राजनीतिक समझदारीका विविध विषयमा छलफल भएको बताउनुभयो ।

नागरिक उन्मुक्ति सरकारमा जाने

नागरिक उन्मुक्ति पार्टी सङ्घीय सरकारमा सामेल हुने भएको छ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सरकारमा सहभागी हुने विषयमा छलफल भएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई गत साता भएको छलफलपछि अध्यक्ष श्रेष्ठले एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जाने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालय कुन हुन्छ भन्ने कुरा छलफलमै छ । फाइनल भएको छैन तर एक हप्ताभित्रै नागरिक उन्मुक्ति सरकारमा जाने चाहिँ निश्चित हो ।”

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...