मोदी नेतृत्वको गठबन्धनलाई प्रस्ट बहुमत

Published on

काठमाडौं । भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप्त भएको छ । बुधबार बिहान १:३० बजेको मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त भएको हो । मत परिणाम अनुसार एनडिएले कुल ५४३ सिटमध्ये २९४ सिटमा जित हासिल गरेको छ । विपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेस नेतृत्वको ‘भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन’ (इन्डिया) ले २२३ सिटमा जित हासिल गरेको छ । अब मात्र नौ सिटको परिणाम आउन बाँकी छ । परिणाम घोषणा भएका मध्ये १७ सिटमा अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । केही प्रदेशमा अपेक्षाभन्दा राम्रो नतिजा प्राप्त नभएकाले भाजपालाई निर्वाचनपूर्व गरिएका ‘एक्जिट पोल’हरूले देखाए झैँ एकल बहुमत भने जुटेन । भारतीय जनता पार्टीले प्रस्ट बहुमत ल्याउने अपेक्षाका बिच राजनीतिक विरासत र भारतीय लोकतन्त्रको इतिहास बोकेका नेता राहुल गान्धी नेतृत्वको ‘इन्डिया’ गठबन्धनले निर्वाचन परिणाममा व्यापक सुधार गरेपछि प्रधानमन्त्री मोदीको चाहनामाथि धक्का लागेको छ ।

मोदीको तेस्रो जित

भारतका प्रधानमन्त्री मोदीले वाराणासीबाट तेस्रो पटक विजयी हुनुभएको छ । उहाँ तेस्रो पटक प्रधानमन्त्री निर्वाचित हुनुभएमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको तीन कार्यकालसँग बराबरी गर्नुहुने छ । भारतमा लोकतन्त्र प्राप्तिपछि तत्कालीन प्रधानमन्त्रीद्वय इन्दिरा गान्धी र मनमोहन सिंह दुई पटक प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछि मोदीले दुई कार्यकाल सम्हाल्नुभएको छ । उहाँलाई तेस्रो कार्यकालका लागि विहारका मुख्यमन्त्री नीतिशकुमार नेतृत्वको जनता दल एकीकृत र चन्द्रबाबु नाइडुको तेलगु देशम पार्टीको ३० सिटको साथ लिनुपर्ने हुन्छ । भारतका प्रधानमन्त्री मोदीले एनडिए गठबन्धनलाई जितका लागि प्राप्त जनमतप्रति धन्यवाद दिनुभएको छ । उहाँले भारतको इतिहासमा अभूतपूर्व क्षण भएको बताउँदै मतदातामा धन्यवाद व्यक्त गर्नुभएको छ । मोदी नेतृत्वको गठबन्धनले सन् २०१४ मा ३३६ सिटमा जित हासिल गर्दा भाजपा एक्लै २८२ सिटमा विजयी भएको थियो । सन् २०१९ मा भाजपाको ३०३ सहित गठबन्धनले ३५२ सिटमा विजय हासिल गरेको थियो । कङ्ग्रेस नेता राहुल गान्धीले निर्वाचनपछि प्रतिक्रिया दिँदै अझै मेहनत गर्नुपर्ने बताउनुभएको छ । भाजपा नेता सुधान्सु त्रिवेदीले गठबन्धनले अपेक्षाकृत नतिजा नआए पनि गठबन्धनले जित हासिल गरेकाले मोदी नेतृत्वमै सरकार बन्ने बताउनुभएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...