सडक नहुँदा बारीमा कुहिन्छ तरकारी

Published on

काठमाडौं । कृषि पकेट क्षेत्रको उपज बजारसम्म पुर्‍याउने सडक नहुँदा चुलोमा पाक्नुपर्ने तरकारी बारीमै सडाउनुपर्ने बाध्यता भएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका विभिन्न कृषि पकेट क्षेत्रका गाउँमा वार्षिक चार करोड रुपियाँ खर्च गर्दै आए पनि ढुवानीका लागि सडक सुविधा नहुँदा कृषि उपज बारीमै सड्ने गरेको छ । सिगास गाउँपालिका–१, बेसरा गाउँमा बर्खा लागेपछि उत्पादन भएको तरकारी बारीमा सड्ने गरेको अगुवा किसानले गुनासो गरेका छन् । बेसरा गाउँमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सुरु भए पनि बर्खा लागेपछि यहाँको तरकारी बारीमै सड्ने गरेको छ । यहाँ चार किलोमिटर मात्रै पक्की सडक हुने हो भने बाह्रै महिना तरकारी बिक्री गर्न सहज हुने देखिएको छ । वडा कार्यालयसम्म चार किलोमिटर सडक कालोपत्रे भइदिए यहाँको कृषि उपज छ घण्टामै सुदूरपश्चिमको प्रदेश राजधानी पु¥याउन सकिने सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाको सिरानसम्म बैतडी–बझाङ जोड्ने पक्की सडक भए पनि बेँसीमा रहेका गाउँ सडकसँग जोडिन सकेका छैनन् ।” गाउँका किसानले हामीलाई सडक देऊ, हामी अघाउने गरी तरकारी फलाएर दिन्छौँ भन्ने गरेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिँउदमा मात्रै चल्ने विन्द्रावन–बेसरा–खक्र्यौडा सडक बर्खा लागेपछि ठप्प हुन्छ । बर्खा लागेपछि गाउँमा फलेको तरकारी खेर जाने गरेको छ । सडक स्तरोन्नति गर्न वडासँग बजेट छैन ।”

गाउँपालिका र कृषि ज्ञान केन्द्रले सिगास गाउँपालिका–१ का बेसरा, अङ्डेगाडा, विन्द्रावन, खन्तड, बजकोट, जुकेपानीलगायतका गाउँलाई तरकारी र फलफूल पकेट क्षेत्र घोषणा गरेर करोडौँ रुपियाँ लगानी गर्दै आएको छ । आगामी वर्षमा पनि सिगास गाउँपालिका–१ मा तरकारी खेतीलाई प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख घनश्याम चौधरीले बताउनुभयो । उहाँले तरकारी उत्पादनका लागि समस्या नभए पनि बजारसम्म लैजान समस्या पर्ने गरेको बताउनुभयो । जिल्लामा सुगम मानिएको पाटन नगरपालिका–८, ९ र १० मा पनि तरकारी ढुवानी गर्न गतिलो सडक छैन । यहाँका गाउँबाट हिउँदमै दैनिक ५० क्विन्टलभन्दा बढी तरकारी बिक्री हुने भए पनि बर्खामा सडक बन्द हुँदा उत्पादित तरकारी बारीमै सडेर जाने गरेको छ । यहाँका गाउँमा आलु, बन्दा, रायो, काउली, टमाटर, भेडेखुर्सानी, धनियाँ, मुलालगायतका तरकारी प्रशस्तै उत्पादन हुने गरेको छ । गाउँमा उत्पादित तरकारी किन्न हिउँदमा व्यापारी घरआँगनमै गाडी लिएर आउने गरेका तर बर्खामा कोही पनि नआउँदा किसानलाई समस्या हुने गरेको तरकारी थोक बिक्रेता केशददत्त भट्टले बताउनुभयो । उहाँले हिउँदमा मात्रै पाटन नगरपालिकाका धारापानी, जुकेपानी, धारी, ज्याफु र सिगास गाउँपालिकाका–१ का गाउँबाट दैनिक ५० क्विन्टल तरकारी ढुवानी गरेर धनगढी र महेन्द्रनगर पठाउने गरेको पनि बताउनुभयो ।

विदेशबाट फर्केर गाउँमै तरकारी खेतीमा लागेका पाटन नगरपालिका–९, किचारका मोहन बिजलेले ३० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती सुरु गरे पनि ढुवानी गर्ने सडक नहुँदा बर्खामा फलेको तरकारीबाट खासै फाइदा लिन नसकेको बताउनुभयो । यहाँका गाउँमा तरकारी उत्पादन बढेपछि सुदूरपश्चिम प्रदेश सरकारको अगुवाइमा पाटन नगरपालिका–८ मा तरकारी भण्डारण गर्न शीतभण्डार निर्माणको काम भइरहेको छ । पाटन नगरपालिकाको खोड्पे क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख चौधरीले बताउनुभयो । पाटन नगरपालिकाको खोड्पे क्षेत्रमा प्रदेश सरकार, स्थानीय तह र कृषिको क्षेत्रमा काम गर्ने गैरसरकारी क्षेत्रले उल्लेख्य लगानी गरे पनि सडकमा भने कसैको ध्यान जान सकेको छैन । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...