आठ विद्यालयको तह घटाइयो

Published on

काठमाडौं । विद्यार्थी नभएपछि रामेछापको मन्थली नगरपालिका–२, टेकानपुरमा सञ्चालित एउटा विद्यालय बन्द गरिएको छ । उक्त वडामा रहेको ताम्राकौशिका आधारभूत विद्यालय नगरको सामुदायिक शिक्षा सुधारका लागि बनाइएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि बन्द गरिएको हो । नगर शिक्षा समितिले बनाएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि ताम्राकौशिका आविलाई बालकन्या आविमा समायोजन गरी बाल ताम्राकौशिका आवि नामकरण गरी सञ्चालन गरिएको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “ताम्राकौशिका आवि र बालकन्या आविको व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरिएको छ । दुवै विद्यालयलाई समायोजन गरी बालकन्या आवि भएको स्थानमा बाल ताम्राकौशिका आवि राख्ने निर्णय भएको छ । अहिले विद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न जग्गा व्यवस्थापनको काम भइरहेको छ ।” वडाले ताम्राकौशिका आधारभूत विद्यालयको भवनमा स्वास्थ्य चौकी सञ्चालन गर्ने तयारी गरिरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

नगरपालिकाले विद्यार्थी सङ्ख्या नपुगेका आठ वटा सामुदायिक विद्यालयको तह घटुवा गरेको छ । सामुदायिक शिक्षा सुधारका लागि नगर शिक्षा समितिले तोकेको मापदण्डभन्दा थोरै विद्यार्थी भएका सामुदायिक विद्यालयको कक्षा घटाएको हो । विद्यार्थी अभाव झेल्दै आएका आधारभूत र माध्यमिक गरी आठ वटा विद्यालयमा कक्षा घटाइएको र विद्यार्थी सङ्ख्या न्यून भएका दुई वटा विद्यालयलाई बाल विकास केन्द्रका रूपमा सञ्चालन गर्ने समितिले निर्णय गरेको मन्थली नगरपालिकाका सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताउनुभयो । “यो शैक्षिक सत्रबाट विद्यार्थी सङ्ख्या न्यून भएका वडा नं. ३ मा रहेको कालीदेवी आधारभूत विद्यालय र वडा नं. ७ मा रहेको नवचन्द्र आधारभूत विद्यालयलाई यसअघि सञ्चालन हुने कक्षा घटाएर बाल विकास केन्द्रका रूपमा सञ्चालन गर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो ।

नगरपालिकाले वडा नं. ४ मा रहेको भीमेश्वर आवि, वडा नं. ५ मा रहेको शिवज्योति आविमा कक्षा ४ र ५ घटाउने निर्णय गरेको छ । त्यसै गरी वडा नं. ६ मा रहेको कालिका मावि, वडा नं. ११ मा रहेको मनकामना मावि, वडा नं. १० मा रहेको हरिसिद्धि मावि, वडा नं. १४ मा रहेको हरिसिद्धि मावि चौकीघरमा कक्षा ९ र १० घटुवा गर्ने निर्णय भएको छ । वडा नं. ९ को पुण्य आवि र वडा नं. १३ को साँखे आविमा कक्षा ६ देखि ८ सम्म घटुवा गर्ने निर्णय गरेको छ । भौगोलिक विकटता, सामाजिक, आर्थिकलगायतका कारणले विद्यार्थी सङ्ख्या न्यून हुँदाहुँदै पनि कतिपय विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले त्यस्ता विद्यालयलाई विशेष विद्यालयका रूपमा सञ्चालन गर्ने निर्णय भएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । विद्यालयमा भौतिक पूर्वाधार थपिँदै जाने र विद्यार्थीको सङ्ख्या घट्ने अवस्थामा विद्यार्थीको सङ्ख्याका आधारमा कक्षा सञ्चालन गर्दा गुणस्तरमा वृद्धि हुने, विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा शिक्षकको अभाव नहुने र विद्यालयमा गरिएको लगानी सदुपयोग हुने भएकाले विद्यालयको तह घटाइएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । “शिक्षा क्षेत्रको सुधारका लागि शिक्षा समितिले विद्यालयको आवश्यक अध्ययन गरी विद्यालय मापदण्ड अनुसार विद्यालयको तह घटाइएको हो,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...