राष्ट्रिय सडक सञ्जालसँग अझै जोडिएन सिमकोट

Published on

काठमाडौं । जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म पनि जोडिन सकेको छैन । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो ।

जिल्लालाई पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालसँग जोड्न दोजाम कर्णालीमाथि पक्की पुल निर्माण गर्न आवश्यक देखिन्छ । सरकारले चालु आर्थिक वर्षभित्र सिमकोटलाई सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित बजेट विनियोजन गरेको थियो । पुल निर्माणले गति लिन नसक्दा चालु आवमा पनि हुम्लामा सडक सञ्जाल विस्तार नहुने पक्का भएको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । चालु आव सकिना एक महिना केही दिन मात्र बाँकी रहेको अवस्थामा पुल निर्माण सम्पन्न नहुने उहाँले बताउनुभयो । “राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुलुकको एकमात्र जिल्ला हुम्ला हो । सरकारले हरेक वर्ष सदरमुकाम सिमकोटलाई सडक सञ्जालसँग जोड्न बजेट विनियोजन गर्दै आएको छ”, नेपालीले भन्नुभयो, “पक्की पुल निर्माण सुरु भएको एक वर्ष हुँदा पनि निर्माण कम्पनीले ढिलाइ गरेकाले काम रोकिएको छ ।” खार्पुनाथ गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएको भए पनि गाउँपालिकाको खार्पुमा पर्ने दोजाम कर्णाली नदीमा पुल निर्माण नहुँदा आवागमनमा सास्ती हुनुका साथै जिल्ला राष्ट्रिय सडक सञ्जालबाट अलग हुँदै आएको उहाँले बताउनुभयो ।

“निर्माण सुरु भएयता पुलको पूर्वतर्फको पिलर निर्माणस्थलमा तातोपानीको मुहान निस्किएको छ । गत साउनमा नदीको पानी उक्त पिलरमा पस्दा करिब आठ महिना काम रोकिएको थियो । अहिले पनि तातोपानी निस्किएको स्थानमा पुल निर्माण गर्ने वा नगर्ने निश्चित भएको छैन”, योजना प्रमुख नेपालीले भन्नुभयो, “सरोकार भएका निकायसँग छलफल गरिरहेका छौँ । निर्माण कम्पनीले पनि समन्वय गरिरहेको छ । तर ठोस निर्णय नहुँदा पक्की पुल निर्माण अनिश्चित भएको छ ।”

पुल निर्माण गर्ने निर्णय गरी काम अगाडि बढाएको अवस्थामा कम्तीमा चार वर्ष समयावधि लाग्ने उहाँले जानकारी दिनुभयो । दोजाम कर्णालीमा पक्की पुल निर्माण ढिलाइ भएको भन्दै तत्कालका लागि सोही स्थानमा अस्थायी बेलिब्रिज बनाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन् । अस्थायी बेलिब्रिज निर्माण गरी तत्काललाई आवागमन सहज बनाउनुपर्ने माग स्थानीयको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबाट बेलिब्रिज निर्माण गर्ने मौखिक सहमति आए पनि बजेटको व्यवस्था नहुँदा काम अगाडि बढ्न नसकेको योजना प्रमुख नेपालीले बताउनुभयो । पक्की वा अस्थायी पुल निर्माण नहुँदा चार वर्षसम्म सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाका जनप्रतिनिधि, नागरिक समाज र विभिन्न राजनीति दलका प्रतिनिधि पुल निर्माणका लागि ‘डेलिगेसन’ लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसम्म पुगे पनि हालसम्म माग पूरा हुन नसकेको नेपालीले बताउनुभयो । तत्काल सडक सञ्जालसँग जोड्न दोजाम कर्णालीमा अस्थायी बेलिब्रिज निर्माण गर्नुपर्नेमा त्यो पनि सम्भावना नदेखिएको उहाँले बताउनुभयो ।

निर्मार्णाधीन पक्की पुलको कामले गति लिन नसकेको स्वीकार गर्दै योजना प्रमुख नेपालीले भौतिक संरचना, निर्माण कम्पनीको ढिलाइ, बाढीपहिरोको जोखिमले काममा ढिलाइ भएको उल्लेख गर्नुभयो । कर्णाली करिडोर अन्तर्गत दुल्ली कुनाबाट लालीबगरसम्मको असजिलो छारे भिरलाई छिचोलेर नेपाली सेनाले सडकलाई अन्तिम रुप दिने तयारी गरिरहेको छ । उक्त खण्डमा दैनिक चार घण्टा मात्र यातायातका साधन सञ्चालन हुँदै आएका छन् । हाल कर्णाली करिडोरमा सञ्चालनमा आएको यातायातका साधन खार्पुको दोजाम कर्णाली पारीसम्म मात्र आउने गर्छन् । पारीबाट वारि आउन स्काभेटरको सहयोगमा सवारीसाधन तार्ने गरिएको छ । वर्षाको समयमा नदीमा पानीको बहाव बढ्ने भएकाले स्काभेटरको सहयोगमा सवारीसाधन तार्ने जोखिम रहेको स्थानीय बताउँछन् । सो स्थानमा पुल निर्माण भए हुम्ला सदरमुकाम हुँदै हिल्सासम्म राष्ट्रिय सडक सञ्जाल जोडिनेछ । रासस

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...