सुस्त श्रवण भएका विद्यार्थीलाई समस्या

Published on

काठमाडौं । समीर बोहरा र रोहन सिंह तुलसीपुर उपमहानगरपालिका–८ स्थित माध्यमिक विद्यालय अश्वारामा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । शान्तिनगर गाउँपालिका निवासी समीर र तुलसीपुर उपमहानगरपालिका–११, बेलटाकुरा निवासी रोशन दुवै जना सुन्न र बोल्न सक्नुहुन्न । उहाँहरू जस्तै कक्षा १२ मा अध्ययनरत चार जना सुस्त श्रवण भएका विद्यार्थीका लागि अहिले साङ्केतिक भाषा जानेको शिक्षकको आवश्यकता छ । तर विद्यालयमा माथिल्लो कक्षामा पढाउने साङ्केतिक भाषा जानेको शिक्षक नहुँदा उहाँहरू बोल्न र सुन्न सक्ने अन्य विद्यार्थीसँगै बसेर पढ्नुपर्ने बाध्यता छ । विद्यार्थी मात्र नभई पढाउने शिक्षकलाई समेत बुझाउन समस्या हुने गरेको छ । आफूहरू जस्ता फरक क्षमताका विद्यार्थीका लागि छुट्टै कक्षा हुनुपर्ने भए पनि सबै विद्यार्थी एउटै कक्षाकोठामा बसेर पढ्नु पर्दा बुझ्न समस्या हुने गरेको सुस्त श्रवण भएका विद्यार्थी समीर बताउनुहुन्छ । अध्ययनका लागि विद्यालयमा नियमित आउने गरेको भन्दै समीर भन्नुहुन्छ, “विद्यालय नियमित आए पनि सुन्न र बोल्न सक्ने विद्यार्थीसँगै बसेर पढ्दा हामीलाई बुझ्न गाह्रो हुने गरेको छ । हामीले नजानेको सोद्धा सरले बुझ्नुहुन्न । जसस्ले गर्दा नजानेका कुरा लेखेर सोध्नुपर्ने हुन्छ ।” कक्षाकोठामा पढेका कुरा नबुझ्ने भएकाले शिक्षकहरूले लेखेर फेसबुक ग्रुपमा राखिदिने भएकाले केही सहजता भए पनि त्यो प्राप्त नभएको समीर बताउनुहुन्छ । अन्य शिक्षकले साङ्केतिक भाषा नबुझ्दा आफ्ना विषयगत समस्या राख्नसमेत समस्या भएको बताउनुहुन्छ ।

उहाँकै जस्तै अनुभव रोशनको पनि छ । सुस्त श्रवण भएका विद्यार्थीलाई अन्य विद्यार्थीसँग राखेर पढाउँदा सिकाइमा समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । बोल्न सुन्न सक्ने विद्यार्थीले पढाउँदा पढाउँदै बुझ्न सक्ने भए पनि आफूहरू भाषा नबुझ्ने भएकै कारण पछि पर्नुपर्ने अवस्था भएको रोशनको भनाइ छ । शिक्षकले कक्षाकोठामा पढाएको कुरा अर्थ बुझ्न पाए पनि धेरै सजिलो हुने गरेको भन्दै रोहण भन्नुहुन्छ, “भाषाको समस्याले गर्दा बुझ्न गाह्रो छ, तल्लो कक्षा जस्तै ११ र १२ मा पनि भाषा बुझ्ने शिक्षक भइदिए सहजता हुने थियो ।” आधारभूत तहमा जस्तै माथिल्लो कक्षामा पनि साङ्केतिक भाषा बुझ्ने शिक्षक भइदिए आफूहरूका लागि सहजता हुने भएकाले सरकारसँग शिक्षकको व्यवस्था गरिदिन विद्यार्थी रोशनले माग गर्नुभयो । शिक्षक र कक्षाकोठा अभावमा बहुकक्षा चलाउनुपर्ने बाध्यता भए पनि तल्लो कक्षामा सुस्त श्रवण भएका विद्यार्थीका लागि शिक्षकको व्यवस्था हुँदा पढ्न सहजता भएको रुकुमपश्चिम बाफीकोट गाउँपालिका–९ निवासी दुर्गा केसी बताउनुहुन्छ ।

गत वर्षदेखि माध्यमिक विद्यालय अश्वारामा कक्षा ६ मा अध्ययनरत दुर्गा आफूहरू जस्तै साथीहरूसँगै कक्षामा बसेर अध्ययन गर्न पाउँदा खुसी लागेको बताउनुहुन्छ । रुकुममा अन्य विद्यार्थीसँगै अध्ययन गर्दा शिक्षकले पढाएको नबुझ्ने, साथीहरूले हेप्ने गरे पनि अहिले आफूहरू जस्तै साथीसँग बसेर पढ्दा पढाइमा सुधारसँगै नजानेका कुरा शिक्षकलाई सोध्न सहजता भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफूहरू जस्ता साथीहरूसँगै बसेर अध्ययन गर्दा सहजता भएको छ, नजानेको कुरा शिक्षकलाई सोद्धा बुझ्नुहुन्छ तर एउटै कक्षाकोठामा दुई वटा कक्षाका विद्यार्थी बसेर पढ्नु पर्दा केही समस्या हुन्छ । विद्यालयमा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव हुँदा बहुकक्षा चलाउनु परेको साङ्केतिक भाषा शिक्षिका स्मृति योगी बताउनुहुन्छ । कक्षाकोठा र पर्याप्त जनशक्ति नहुँदा कक्षा १, २ र ३, ४ र ५, ६ र ७ मा अध्ययनरत विद्यार्थीलाई सँगै राखेर बहुकक्षा चलाउनुपर्ने बाध्यता रहेको भन्दै शिक्षिका योगीले भन्नुभयो, “दुईदेखि तीन वटासम्म कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउँदा राम्रोसँग बुझाउन र कोर्स पूरा गर्न समस्या भइरहेको छ ।” उहाँका अनुसार विद्यालयमा तीन जना अनुदान शिक्षक र एक जना विद्यालयले राखेका शिक्षक गरेर चार जना शिक्षकले पठनपाठनको काम गर्दै आउनुभएको छ तर माथिल्लो कक्षा अध्ययनका लागि साङ्केतिक भाषा बुझेको शिक्षक नहुँदा पठनपाठनमा समस्या हुने गरेको शिक्षक खगेन्द्र काफ्ले बताउनुहुन्छ ।

बोल्न सक्ने र कान सुन्ने विद्यार्थीसँगै सुस्त श्रवण भएका विद्यार्थीलाई राखेर पढाउँदा उनीहरूलाई बुझाउन समस्या हुने गरेको भन्दै शिक्षक काफ्लेले भन्नुभयो, “सुस्त श्रवण भएका विद्यार्थीको सहजताका लागि फेसबुक ग्रुप बनाएर नोट राख्ने गरेका छौँ तर त्यही मात्र पर्याप्त हुने गरेको छैन ।” बहिराका लागि सबैभन्दा मुख्य समस्या भाषा नै भएकाले तल्लो कक्षासँगै माथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीका लागि पढाउनेदेखि परीक्षाको उत्तरपुस्तिका जाँच्न सक्ने शिक्षकको व्यवस्था हुन सके बहिरा विद्यार्थीको शैक्षिक ज्ञानको मापन हुने शिक्षक काफ्ले बताउनुहुन्छ । अश्वारा माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ कक्षासम्म १०४ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...