निर्माण व्यवसायी सम्पर्कविहीन

Published on

काठमाडौं । धान फल्ने खेतमा ढुङ्गा थुपारेर निर्माण व्यवसायी (ठेकेदार) सम्पर्कविहीन भएका छन् । सिगास गाउँपालिका जाने मूल सडक सुधार गर्न एक करोड रुपियाँको ठेक्का हात पारेका ठेकेदार फरार भएका हुन् । सडक सुधारका नाममा खेतमा ढुङ्गा फालेर ठेकेदार सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् । सिगास–३, सिन्याखेतबाट गाउँपालिका केन्द्र गर्जे जाने २१ किलोमिटर सडक सुधार गर्न एक करोड रुपियाँमा ठेक्का लगाइएको थियो । ठेकेदारले सडक सुधारको काम अधुरै छाडेर उल्टै स्थानीयको खेतमा ढुङ्गा फालेर सम्पर्कविहीन भएको स्थानीय घनश्याम धामीले बताउनुभयो । यस विषयमा पालिकालाई कुनै जानकारी नआएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो । “सम्झौता अनुसारको काम गर्न ठेकेदारलाई पत्राचार गरेका छौँ,” प्रशासकीय अधिकृत अवस्थीले भन्नुभयो, “सम्झौता अनुसारको काम नगरे ठेक्का तोडेर धरौटी जफत गर्ने प्रक्रियामा जान्छौँ ।”

केन्द्र पुग्न छ घण्टाको यात्रा

सिगास गाउँपालिका जोड्न करिब छ वर्षअघि निर्माण सुरु भएको सिन्याखेत–गर्जे सडकमा यातायातका साधन चल्दैनन् । ठाडो गरेर काटिएको सडक सुधार गर्न गाउँपालिकाले बजेट विनियोजित गरे पनि सवारीसाधन चलाउन जोखिम भएको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयो । सो पालिकाको स्थानीय बासिन्दासमेत रहेका समन्वय प्रमुख धामीले आफ्नै गाउँको विकासे योजना अलपत्र परेका कारण प्रमुख जिल्ला अधिकारीसहित सडक अनुगमन गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले स्थानीय तहले निर्माण गरेका सडक मापदण्ड अनुसार नबनेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले मापदण्ड अनुसार सडक निर्माण गर्नुपर्छ । त्यसका लागि सडक विभाग जस्ता आधिकारिक निकायसँग समन्वय जरुरी छ ।” “सवारीसाधन नै चलाउन नमिल्ने सडक निर्माण गर्नु भनेको राज्य कोषको दुरुपयोग गर्नु हो,” प्रजिअ शर्माले भन्नुभयो, “एकातिर गाडी चलेको छैन, अर्कोतिर स्थानीयवासीका खेत मासिएका छन् । यस्तो सडक खनेर के फाइदा भयो रु जिल्लाका १० वटा स्थानीय तहले जथाभाबी सडक खन्दा खानेपानीका मुहान सुकेको समितिका प्रमुख धामीले बताउनुभयो । अव्यवस्थित सडक निर्माणकै कारण बाढीपहिरोको जोखिम बढेको भनाइ उहाँको छ । स्थानीय तहले खनेका सडक बर्खाले बगाउने गरेको छ । हिउँदका केही महिनाबाहेक ग्रामीण क्षेत्रमा बर्खामा गाडी चल्दैनन् । बर्खा सकिएपछि पुनः चिरा परेको सडक सफा गर्ने भन्दै स्थानीय तहले लाखौँ रुपियाँ खर्च गरेको गुनासो सर्वसाधारणको छ । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...