परम्परा संरक्षण गर्न कृषि औजारको पूजा

Published on

काठमाडौं । खेतीपाती सुरु गर्नुअगाडि कृषि औजारको पूजा गर्ने थारू समुदायको परम्परागत चलन संरक्षणका लागि कैलालीको एक गाउँका किसान लागेका छन् । धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादाका किसान परम्परागत कृषि औजारको पूजा गर्ने परम्परागत चलन संरक्षणमा जुर्मुराएका हुन् । उनीहरूले खेतीपातीको काम सुरु गर्नुअगाडि कृषि औजारको पूजाआजा गरेका छन् । विगतमा हलो, जुवा, कोदालो, किल्वाही, हेङ्गालगायतका परम्परागत कृषि औजारको पूजा गरेर मात्रै बर्खे धान खेतीको काम सुरु गर्नुपर्ने यो समुदायमा मान्यता थियोे तर अचेल त्यो चलन हराउँदै गएको छ । थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरी कृषि औजारको पूजा गरेर मात्रै खेतीपातीको काम सुरु गर्ने चलन थारू समुदायबाट हराउँदै गएको बताउनुहुन्छ । पुर्खाको बेलामा चलनचल्तीमा रहेको चलन संरक्षणका लागि आफ्नो गाउँका किसानले विगत तीन वर्षदेखि ‘हरोठ लेना’ कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । हलो, जुवा, कोदालो, किल्वाही, हेङ्गालगायतका कृषि औजारको पूजा गर्नुलाई थारू समुदायमा हरोठ लेना भन्ने गरिन्छ ।

उक्त समुदायका व्यक्तिका अनुसार कृषि औजारको पूजाआजा गरेर खेतीपातीको काम सुरु गर्दा औजारकै कारण कुनै बाधा अवरोध हुँदैन । कोदालोले खुट्टा नकाटोस्, हलो, जुवा नबिग्रियोस्, कृषिको सबै काम सप्रियोस् भनेर यो पूजा गर्ने गरेको बताइएको छ । हरोठ लिने बेला सजना गीत गाएमा पानीसमेत पर्ने जनविश्वास थारू समुदायमा रहेको अध्यक्ष चौधरीले बताउनुभयो । विगतमा खेतीपाती सुरु गर्नुअगाडि हरेक गाउँका प्रत्येक किसानले हरोठ लेना गर्नु पर्दथ्यो । त्यो चलन अब लगभग लोपको सँघारमा पुगेको कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवती चौधरीले बताउनुभयो । उहाँले कलुवा खैना, मुठलेना, हरोठ लेना, गइया बेहर्ना, हरेरी पूजा, औली उटर्ना, खेन्हुवा बहन्ना, लवाङ्गी पूजा, पेन्डियालगायतका थारू समुदायको कृषिसँग सम्बन्धित परम्परागत पूजा हराउँदै गइरहेको बताउनुभयो । उपाध्यक्ष चौधरीले भन्नुभयो, “यस्ता परम्परागत पूजा लोप हुँदै गइरहेकाले अहिलेको पुस्ताले पुर्खाबाट यसका बारेमा सिक्न र त्यसलाई व्यवहारमा उतार्न जरुरी छ ।” पुर्खाले अपनाएको रीति, संस्कार, परम्परालाई पुस्तान्तरण गर्न जरुरी रहेको धनगढी उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामलाल चौधरीको जोड छ । यस्ता मौलिक संस्कृति, संस्कार अहिलेको पुस्ताले नसिकेमा त्यो इतिहासको पानामा सीमित हुने उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...