अनुदानले किसान उत्साही

Published on

काठमाडौं । कृषि र पशुपालनको क्षेत्रमा नेपाल सरकारले प्रदान गरेको अनुदान रकम प्राप्त गरेका लुम्बिनी प्रदेशका सात जिल्लाका किसान उत्साही देखिएका छन् । मेहनत र नेपाल सरकारको अनुदान सहयोग रकमले कृषि र पशुपालनको क्षेत्रमा आफूलाई उत्साही बनाएको उनीहरूको भनाइ छ ।

विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा सङ्घीय सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयद्वारा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभसन आयोजना (एनएलएसआइपी) ले लुम्बिनी प्रदेशका सात जिल्लामा किसानका लागि साढे ४५ करोड रुपियाँ लगानी गरेको छ । यो लगानीबाट आफूहरू उत्साही भएको यहाँका किसानले बताएका छन् । परियोजनाले समूह, सहकारी र निजी फार्मतर्फ छनोट भएका १२५ वटा उपआयोजनालाई अधिकतम एक करोडसम्म अनुदान दिएको छ । यो परियोजना लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र बर्दिया जिल्लामा सञ्चालनमा छ । यो परियोजना लागुभएको छ वर्षपछि आगामी असार मसान्तमा सकिँदै छ । परियोजनाको आयोजना कार्यान्वयन एकाइ बुटवलका निमित्त प्रमुख डा। शिवलाल भुसालका अनुसार समूह सहकारीतर्फ प्रदेशका सात जिल्लाका मूल्य शृङ्खलातर्फ ४०, दुध मूल्य शृङ्खलातर्फ ६७, डेरी प्रशोधनतर्फ १८ वटा उपआयोजनामा उक्त रकम लगानी गरिएको हो  । ५४ वटा निजी फार्म तथा उद्योगतर्फ नवलपरासीमा चार, रुपन्देहीमा २६, कपिलवस्तुमा ११, बर्दियामा १५, अर्घाखाँचीमा सात, गुल्मीमा चार र पाल्पामा ११ वटा उपआयोजना सम्पन्न भएका छन् । भुक्तानी रकमको आधारमा हालसम्म ४५ करोड ७८ लाख ६२ हजार रुपियाँ किसानले अनुदानका रूपमा प्राप्त गरेका छन् ।

यसमा बैङ्क तथा वित्तीय संस्थाबाट किसानले लिएको सहुलियत कर्जा ३० प्रतिशत र किसानले आफैँ लगानी गरेको २० प्रतिशत गणना गरिएको छैन । आयोजनाले नेपालको खसीबोकाको मासु तथा मासुजन्य पदार्थको उत्पादन उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको थियो । सोही अनुसार उपआयोजना छनोट गरी कार्यान्वयन गरिएको जनाइएको छ । आयोजना कार्यान्वयन एकाइ बुटवलका निमित्त प्रमुख डा। शिवलाल भुसालले २० प्रतिशत कृषकका तर्फबाट लगानी, ३० प्रतिशत वित्तीय ऋण प्रवाह र बाँकी ५० प्रतिशत (अधिकतम एक करोडसम्म) आयोजनाको तर्फबाट पूरक अनुदानका रूपमा प्रदान गरिएको जानकारी दिनुभयो । सियारी गाउँपालिकास्थित लुम्बिनी बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष वसन्तराज भुसालले यस परियोजनाबाट बोयर जातको बाख्रा पाल्न २२ लाख रुपियाँ अनुदान रकम प्राप्त गर्नुभएको छ । उहाँले बाख्रापालनमा उत्साही भएको बताउनुभयो । पाँच वर्षअघिदेखि विदेशबाट १० वटा बोयर प्रजातिका बाख्रा खरिद गरेर व्यवसाय सुरु गरेको यो समूहले शतप्रतिशत बोयर प्रजातिका पाठापाठी उत्पादन गरेर बिक्रीवितरण गर्ने गरेको भुसालले बताउनुभयो । जिउँदो नै प्रतिकिलो दुई हजार पाँच सय रुपियाँमा बिक्री हुने भएकाले आफूहरूले नाफा गर्न सफल भएको उहाँको भनाइ छ । हाल यस फार्ममा ३० वटा बोयर बोका तथा माउ छन् । त्यस्तै एनएलएसआइपी परियोजनाले रुपन्देहीको देवदहमा रहेको साना किसान कृषि सहकारी संस्थामार्फत लगानी गरेको स्थानीय ताराप्रसाद भटट्राईले पनि साना किसान कृषि सहकारी संस्था लिमिटेड देवदहमार्फत प्राप्त गरेका गाई तथा भैँसीबाट दुध उत्पादन राम्रो भएको र आफू सन्तुष्ट रहेको उल्लेख गर्नुभयो । साना किसान कृषि सहकारी संस्था लिमिटेड देवदहकी अध्यक्ष टीका न्यौपानेले यो परियोजना अन्तर्गत एक सय वटा पशु किनेर किसानलाई वितरण गरिएको उल्लेख गर्नुभयो । यस कार्यक्रमबाट किसान उत्साही भएको न्यौपानेको भनाइ छ ।

यस परियोजना अन्तर्गत अनुदान रकम प्राप्त गरेका कपिलवस्तुको वाणगङ्गा दुग्ध उत्पादक सहकारी संस्था, दिनबन्धु एकीकृत कृषि फार्मलगायतका सञ्चालकले कृषि र पशुपालनमा परियोजनाको अनुदानले उल्लेख्य सहयोग प्राप्त भएको बताएका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ११ वनगाईस्थित दीनबन्धु एकीकृत कृषि फार्मका सञ्चालक हरिप्रसाद पौडेलले पुशपालनमा आफू सफल र सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभयो । परियोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत ईश्वरीप्रसाद खतिवडाले अनुगमनबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । अनुगमन टोलीका डा। अरुण खनालले पशुपालनको क्षेत्रमा किसानले राम्रो प्रगति गरेको उल्लेख गर्नुभयो । परियोजना अन्तर्गत निजी फार्म, कम्पनीतर्फ ११७ वटा उपआयोजना सम्झौता भएकामध्ये ७८ वटा मात्र सम्पन्न भएका छन् भने ३९ वटा उपआयोजना रद्द भएका छन् । गोरखापत्र

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...