वन रक्षकसँग रमाउँदै चित्तलको बच्चा

Published on

काठमाडौं । डिभिजन वन कार्यालय बाँकेअन्तर्गतको सशस्त्र सुरक्षा वन शाखाको कार्यालय परिसरमा राखिएको चित्तलको बच्चा सशस्त्र वन रक्षकहरुसँग रमाउने गरेको छ । केही दिनअघि मात्र जिल्लाको एक सामुदायिक वन उपभोक्ता समुहको जङ्गल क्षेत्रबाट उद्धार गरिएर डिभिजन वन कार्यालयमा ल्याइएको सो चित्तलको बच्चा अहिले सशस्त्र वन रक्षकहरुसँग रमाउन थालेको हो । चित्तलको बच्चालाई गत जेठ ११ गते जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. २ मकैबारीस्थित शिवशक्ती सामुदायिक वन उपभोक्ता समुहको जङ्गल क्षेत्रबाट उद्धार गरिएर डिभिजन वन कार्यालयमा ल्गाइएको थियो ।

करिब डेढ महिनाको भाले चित्तलको बच्चलाई आमाबिनाको टुहुरो अवस्थामा बैजनाथ गाउँपालिका वडा नं. २ मकैबारीस्थित शिवशक्ती सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा गत जेठ ११ गते कोहलपुर सव डिभिजन वन कार्यालयका डिभिजन वन रक्षक अर्जुन आचार्यको उद्धार टोलीले उद्धार गरी कार्यालयमा ल्याएको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीले जानकारी दिनुभयो । “जङ्गल गएका स्थानीयको पछाडी लागेर वस्तीमा पसेको रहेछ, स्थानीयले कोहलपुर सव डिभिजन वन कार्यालयमा खबर गरेपछि त्यहाँबाट वन रक्षक अर्जुन आचार्यको उद्धार टोली पुगेर सकुशल उद्धार गरी जिल्लामा ल्याउनुभएको छ ।” सहायक वन अधिकृत शाहीले भन्नुभयो ।

उक्त बच्चा आफ्नो आमासँग बिच्केर स्थानीयको पछाडी लागेर गाउँसम्म आएको हुन सक्ने उहाँले बताउनुभयो । अहिले सुरक्षा शाखाका कर्मचारीहरुसँग घुलमिल गरेर बसिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सो बच्चा सशस्त्र वन रक्षकहरुले लगाएको ड्रेससँग अतिनै घुलमिल हुने गरेको छ । “सामान्य पोशाक लगाएका मान्छेहरुसँग भाग्छ, नजिक जाँदैन । तर सशस्त्र वन रक्षकहरुले लगाएको हरियो कलरको ड्रेस लगाएका व्यक्तिहरुसँग भने नजिकै गएर लुटपुटिन्छ ।” शाहीले भन्नुभयो । उहाँका अनुसार उक्त चित्तलको वच्चा सानैदेखी मान्छेसँग बस्न बानी परेको हुनाले उक्त चित्तलको बच्चालाई तत्कालै पुनः आफ्नै प्राकृतिक वासस्थानमा छाड्न असुरक्षित भएको बताउनुभयो । “यो मान्छेसँगै हिँडडुल गर्ने बानी परिसकेको छ, सुरुदेखि नै हरेक दिन सशस्त्र वन सुरक्षा शाखाको ड्युटीले यसलाई खुवाउने गरेको हुँदा शाखाको युनिफर्मसँग राम्रो घुलमिल भएको छ । अब यसलाई पुनः जङ्गलक्षेत्रमा छाड्दा गाउँ वस्तीमा आउने र मान्छेको पछि लागेर जान सक्ने सम्भावना हुन्छ ।” उहाँले भन्नुभयो, मान्छेसँग पछि लागेर जाँदा यसलाई खतरा हुन सक्छ । त्यसैले यसको सुरक्षा र संरक्षणका लागि केही समयसम्म यहीँ नै राख्नु पर्ने देखिन्छ ।”

उक्त चित्तलको बच्चलाई दैनिक बिहान, दिउँसो र साँझ गरेर दुईदेखि तीन लीटरसम्म भैंसीको दुध खुवाउने गरिएको छ । बढ्ने उमेर भएकाले खानाको परिमाण पनि दिनानुदिन बढेको हुँदा दैनिकरुपमा उसलाई खुवाइने दुधको मात्रा बढीरहको शाहीको भनाइ छ । उद्धार गरेर ल्याइने जङ्गली जनावरहरुलाई पुनः जङ्गलमै व्यवस्थापन गरिँदै आएको सहायक वन अधिकृत शाहीले जानकारी दिनुभयो । समस्याग्रस्त वन्यजन्तुहरुलाई उद्दार गर्ने र प्राकृतिक वासस्थानमा नै लगेर छाड्दै आएका छौं ।” उहाँले भन्नुभयो, “अन्य क्षेत्रभन्दा नजिकै बाँके राष्ट्रिय निकुञ्ज भएका कारण निकुञ्मा सुरक्षा हुने भएकाले निकुञ्जसँगको सहकार्यमा उद्धार गरिएका जनावरहरु निकुञ्ज क्षेत्रमै व्यवस्थापन गर्ने गरेका छौं । उद्धार गरेर ल्याइने जनावरहरुलाई पालनपोषण तथा रेखदेख गर्नका लागि अलग्गै कोष नहुँदा भने समस्या थपिएको शाहीको भनाइ छ । “कतिपय जनावरहरुलाई घाइते अवस्थामा उद्धार गरेर ल्याइन्छ, तिनीहरुको उपचार तथा खानपानका लागि अलग्गै कोष छैन, जगेडा कोषबाट खर्च गर्ने गरेका छौं, अलि समस्या नै छ ।” उहाँले भन्नुभयो ।

जिल्लामा भएका अन्य सव डिभिजन वन कार्यालयमासमेत उद्दार गरेर ल्याइने जनावरहरुलाई राख्न तथा व्यवस्थापन गर्नका लागि वन्यजन्तु उद्धारसम्बन्धी न्यूनतम भौतिक संरचना हुनुपर्ने उहाँको भनाइ छ । डिभिजन वन कार्यालयअन्तर्गतको सशस्त्र वन सुरक्षा शाखाको प्रत्येक्ष हेरचाहमा रहेको उक्त उद्धार गरिएको चित्तलको बच्चालाई दैनिक खाना खुवाउने, डुलाउने र हेरचाह भने सशस्त्र वन सुरक्षा शाखाले ड्युटी खटाई पालैपालो गर्ने गर्दछन् । बिहान र बेलुका गरी दिनमा दुई पटक उक्त चित्तलको बच्चालाई चरिचरणका लागि केजबाट बाहिर निकाल्ने गरिन्छ भने कार्यालय परिसरको सिमाना पुर्णरुपमा बन्द नभएका कारण दिउँसो कतै भागेर जान सक्ने भएको हुँदा दिनभरी केजमै राखेर हेरबिचार गरिएको सशस्त्र वन सुरक्षा शाखाको भनाइ छ । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...