रोपाइँमा गाइन छाडे असारे भाका

Published on

काठमाडौं । राष्ट्रिय दिवसका रूपमा असार १५ मा धान दिवस मनाउन थालिए पनि धानफाँटबाट असारे भाका लोप भइसकेको अवस्था छ । असारे भाकालाई श्रम र पसिनाको गीतका रूपमा किसानबिच चिनिन्छ ।

असार मासको दबदबे हिलो छुनलाई घिन लाग्यो

पातली मोरीलाई फरिया किन्दा नौबिस ऋण लाग्यो

फाँटबाट गोरु, हली र बाउसे हराए । रोपाहारबिनाको रोपाइँमा कृषि प्रविधिसँगै जोत्ने मेसिन भित्रिए । धान रोप्ने मेसिन भित्रिँदै छ । सँगसँगै असारे भाका हराउँदै गएको छ । पछिल्लो समय रोपाइँको अधिकांश काम प्रविधिले गरेको छ । ट्याक्टर, रोलाभेटर, धान रोप्ने मेसिनको प्रयोगले पनि रोपाइँमा मानिसको प्रयोग घट्दै गएको छ । मानिसको प्रयोग घटेपछि असारे गीतका भाकासमेत लोप हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन् । असारे गीतको भाकाको तालमा छुपुछुपु हिलोमा धान रोप्ने रोपाहार हुन्थे । धान रोप्न आएका रोपाहार असारे भाकासँगै रमाइलो मान्दै मेलो सार्थे तर पछिल्लो समय यस्ता गीतबिनै रोपाइँ हुने गरेको छ । असार लाग्नासाथ पाल्पाका विभिन्न फाँटका खेतमा कतै बाजासँगै रोपाइँ हुन्थ्यो । कतै ‘हाइमाया’ का भाकासँगै असारे गीत गाइन्थ्यो । असारे गीतमा दुःखसुखका भाव, मायापिरतीका कहानी, रमाइला टुक्का समावेश हुन्थ्यो । जसले गर्दा रोपाइँ गर्ने लामो मेलो भए पनि रोपाहार, बाउसे, हलीले रमाइलो मानेर काममा व्यस्त हुन्थे ।

माडीफाँटस्थित बुढीकोटका स्थानीय शिवप्रसाद घिमिरेले पछिल्लो समय यस्ता गीत र भाका हराउँदै गएको बताउनुभयो । उहाँका अनुसार असारे गीत गाउँदा रोपाइँमा काम गर्ने कामदार खुसी भएर काम गर्थे । रमाइला गीत गाउँदै गर्दा काम गरेर दिन बितेको थाहै हुँदैनथ्यो । असार र साउनमा हुने रोपाइँमा पन्चैबाजाको समेत प्रयोग गर्ने प्रचलन थियो । सक्नेले पन्चैबाजा र हिलोमा नाच्ने मान्छेसमेत व्यवस्था गर्थे । त्यस्ता गीत र भाकाले फाँट गुञ्जायमान हुन्थ्यो । अहिले रोपाइँ सुनसान हुन्छ । पछिल्लो पुस्ताले असारे भाका, त्यस्ता गीतका टुक्का गाउन बिर्सिंदै गएका छन् । माथागढी–३ का इन्द्रबहादुर चिदीले पुराना पुस्ताले पनि यस्ता गीत नयाँ पुस्तालाई सिकाउन छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले माडीफाँटमा धान रोप्दा जताततै ‘हाइमाया’ भाकाका गीत सुनिन्थ्यो, अहिले गाउने मानिस नै छैनन् ।”गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...