नेदरल्यान्ड्सले रोमानियालाई हल्का रूपमा नलिने

Published on

काठमाडौं । युरोपेली च्याम्पियनसिपमा मङ्गलबार रोमानियाविरुद्ध खेल्दा नेदरल्यान्ड्सलाई विगतमा जस्तोदाबेदार मानिएको छैन । परम्परागत रूपमा युरोपेली फुटबलमा रोमानियाभन्दा नेदरल्यान्ड्स धेरै माथि छ । सन् १९९० पछि नेदरल्यान्ड्सले रोमानियासँग हारेको पनि छैन । यी दुई टिमबिच अहिलेसम्म १४ पटक आमनेसामने हुँदा नेदरल्यान्ड्सले रोमानियालाई १० पटक हराएको छ । यस क्रममा नेदरल्यान्ड्सले २९ गोल गरेको छ । रोमानियाबाट मात्र तीन गोल आएको छ । पछिल्लो पटक सन् २००७ मा भएको युरोपेली च्याम्पियनसिपको छनोट चरणमा रोमानियाले नेदरल्यान्ड्सलाई हराएको थियो । यद्यपि यी दुईबिच मङ्गलबार हुने भिडन्तलाई बराबरीको टक्कर मानिएको छ । रोमानिया युरोको नकआउटमा पुगेको यो मात्र दोस्रो पटक हो । सन् २००० मा रोमानियाले क्वाटरफाइनलसम्मको यात्रा गरेको थियो । नेदररल्यान्ड्स सन् १९८८ को विजेता हो ।

रोमानिया समूह ‘इ’ विजेता बन्दै नकआउट चरणमा पुगेको हो । नेदरल्यान्ड्स बल्लतल्ल उत्कृष्ट तेस्रो स्थानमा रहने चार टिम अगाडि बढ्ने प्रावधान अनुरूप मात्र समूह चरणबाट बिदा हुनबाट जोगिएको हो । समूह चरणमा युक्रेनलाई ३–० ले हराएपछि रोमानिया दोस्रो खेलमा बेल्जियमसँग २–० ले पराजित भएको थियो । यद्यपि अन्तिम लिग खेलमा स्लोभाकियासँग १–१ ले बराबरीमा खेलेर रोमानिया समूह विजेता बन्यो । नेदरल्यान्ड्सले पोल्यान्डविरुद्ध पुनरागमन जित हासिल गरेको थियो । फ्रान्ससँग गोलरहित बराबरीमा खेल्यो । अन्तिम खेलमा अस्ट्रियासँग ३–२ ले हारेपछि नेदरल्यान्ड्स टिममा समस्या देखिएको हो । रोमानियालाई हराएमा नेदरल्यान्ड्सको पुनः रोमानियासँग क्वाटरफाइनलमा खेल्ने समीकरण बन्न सक्छ । यसका लागि अर्को प्रिक्वाटरफाइनलमा अस्ट्रियाले पनि टर्कीलाई हराउनुपर्ने हुन्छ ।

उच्च मनोबलमा अस्ट्रिया

फ्रान्स, नेदरल्यान्ड्स र पोल्यान्ड जस्तो ठुला फुटबल राष्ट्र सामेल समूहबाट विजेता बनेर नकआउटमा पुगेकाले अस्ट्रिया उच्च मनोबलमा रहेको छ । त्यसैले टर्कीविरुद्ध मङ्गलबार हुने अन्तिम १६ को भिडन्तमा अस्ट्रियालाई दाबेदार मानिएको छ । समूह ‘एफ’ बाट अघि बढेको टर्कीले एकजुट भएर प्रदर्शन गर्न सकेको छैन । केही व्यक्तिगत उत्कृष्टताको आधारमा टर्की अगाडि बढेको हो भन्दा फरक पर्दैन । युरो २००८ मा सेमिफाइनलसम्मको यात्रा गरेको टर्की पछिल्लो खेलमा १० खेलाडीमा सीमित चेक गणतन्त्रविरुद्ध जित हासिल गर्दा सङ्घर्षरत बनेको थियो । अस्ट्रिया भने पोल्यान्ड र नेदरल्यान्ड्स जस्ता टिमलाई हराएर अघि बढेको हो । गत मार्चमा टर्कीसँग मैत्री खेल हुँदा अस्ट्रिया ६–१ ले विजयी भएको थियो । सो खेलमा माइकल ग्रेगोरिचले ह्याट्रिक गर्नुभएको थियो । सन् २००२ को विश्वकपको प्लेअफमा टर्कीले समग्रमा अस्ट्रियालाई ६–० ले पराजित गरेको थियो । पछिल्ला प्रदर्शन हेर्ने हो भने अस्ट्रिया शानदार लयमा देखिन्छ । युरो २०२४ को छनोटमा अस्ट्रियाले मात्र एक खेल हारेको थियो । अस्ट्रियाले पछिल्ला १९ खेलमध्ये १४ मा जित हात पारेको छ । दुई खेल बराबरीमा सकिएको थियो भने दुई खेलमा अस्ट्रिया पराजित भएको थियो । एपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...