विश्व क्रिकेट भारतको धाक

Published on

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगितामा खेल्दा भारत सधैँ प्रमुख दाबेदारका रूपमा रहेको हुन्छ तर विश्वकपमा भारतले कहिल्यै आफूमाथिको अपेक्षा पूरा गर्न सकेन । सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणमै च्याम्पियन हुँदा भारतबाट अपेक्षा गरिएको थिएन । त्यसपछि भारतमा टी–२० क्रिकेटको लहरै चल्यो । सोही क्रेजले भारतमा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भयो । जसले टी–२० क्रिकेटलाई अझ उचाइमा पु¥यायो । क्रिकेटको यस छोटो संरचनामा भारतीय टिमले पनि विश्व क्रिकेटमा दबाब बनाउँदै लग्यो तर भारत टी–२० विश्वकपमा दोस्रो पटक च्याम्पियन बन्न सकेको थिएन । यस पटक नवौँ संस्करणमा आएर १३ वर्षपछि भारत टी–२० विश्वकप च्याम्पियन बनेको छ । भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएर उपाधि जितेको हो । यस उपाधिसँगै भारतले क्रिकेटमा आफू महाशक्ति टिम हो भन्ने साबित ग¥यो । भारत अहिले टी–२० र एकदिवसीय दुवै संरचनाको क्रिकेटमा एक नम्बर टिम हो । टेस्ट संरचनाको वरीयतामा पनि अस्ट्रेलियापछि भारत दोस्रो स्थानमा छ ।

यस उपाधिसँगै भारतले सात महिनाअघि विश्वकप एकदिवसीय फाइनलमा मिलेको पीडादायी हारमा पनि मलहम लगाएको छ । सो समय भारतले नै विश्वकप जित्छ भनेर ठुलै चर्चा भएको थियो । भारतको क्रिकेट टिम फाइनलअघिसम्म अजय नै देखिन्थ्यो । भारत लगातार १० खेल जितेर उपाधि भिडन्तमा पुग्यो । यस क्रममा उसले सबै विपक्षीलाई सजिलै माथ दिएको थियो । त्यसैले फाइनलमा भारतलाई दाबेदार मानिएको थियो तर भारतले अन्तिम किल्ला ठोक्न सकेन । भारतले फाइनलमा अचम्मै हुने गरी अस्ट्रेलियाविरुद्ध घुँडा टेक्यो । आफ्नो टिमले विश्वकप उपाधि जित्छ भनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रङ्गशालामा आउनुभएको थियो । एक लाख ३२ हजार दर्शक मात्र होइन एक अर्ब ४० करोड भारतीय आकाशबाट जमिनमा पछारिएका थिए । यसपालि भने आफूमाथि गरेको भरोसालाई सही साबित गर्दै भारत च्याम्पियन बनेको छ । अझ भारतले टी–२० विश्वकपको इतिहासमै पहिलो पटक अपराजित रहेर उपाधि जितेको हो । यद्यपि भारत लगातार दोस्रो पटक विश्वकपको फाइनलमा हारको सँघारमा थियो । वास्तवमा दक्षिण अफ्रिका उपाधिनजिक थियो । दक्षिण अफ्रिकाले फाइनलमा छ विकेट बाँकी रहेको स्थितिमा ३० बलमा ३० रन बनाउन नसक्दा भारत भाग्यमानी साबित भयो । जसले प्रमुख प्रतियोगितामा दक्षिण अफ्रिकामाथि लागेको चोकर्सको दाग अझै मेटिएनभन्दा फरक नपर्ला । पछिल्ला विश्वकप प्रतियोगितामा उपाधि दाबेदार भएर पनि महत्वपूर्ण खेलमा सधैँ चिप्लिने हुँदा दक्षिण अफ्रिकालाई हरुवाको ट्याग दिइएको थियो । यसअघि एकदिवसीय र टी–२० विश्वकपमा गरेर सात पटक सेमिफाइनलमा पुगेर पनि दक्षिण अफ्रिका उपाधि भिडन्तसम्म पुग्न सकेको थिएन । यसपालि दक्षिण अफ्रिका फाइनलमा त पुग्यो तर उसले अन्तिम समयमा मनोबल उच्च पार्न सकेन । दक्षिण अफ्रिका उपाधिको सँघारमै रहेर पनि आफ्नै गल्तीले पहिलो पटक विश्वविजेता बन्नबाट वञ्चित भयो । भारतको जितको प्रमुख कारण उसको सन्तुलित टिम थियो । भारत यसपालि ब्याटिङ र बलिङ दुवैमा उत्तिकै सशक्त थियो । विशेषतः रोहित शर्माको कुशल नेतृत्व र ब्याटिङ अनि तेज बलर जस्प्रित बुमराह र अर्सदीप सिंहको बलिङले महत्वपूर्ण भूमिका निर्वाह गरे । अर्सदीपले अफगानिस्तानका फजलक फारुकीसरह सर्वाधिक १७ विकेट लिनुभयो । बुमराह आफ्नो बलिङले विश्वकपकै सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो । विश्वका महान् ब्याट्सम्यानको सूचीमा परिसकेका विराट कोहलीले पनि हिरोको पालो ‘अन्तिम’ मा भने झैँ फाइनलमा म्याच जिताउने पालि खेल्नुभयो । यसअघि पूरै प्रतियोगितामा कोहलीको ब्याट शान्त थियो । जसले गर्दा उहाँ आलोचित पनि बन्नुभयो तर कोहलीले फाइनलमा ‘म्यान अफ दी म्याच’ बनेर आफ्ना आलोचकलाई चुप पार्नुभयो ।

भारत मानसिक रूपमा पनि बलियो देखियो । फाइनलमा हारको मुखबाट जित प्राप्त गरेर भारतले अन्तिम समयसम्म लड्ने खुबी मात्र होइन, खेलाडीहरू मानसिक रूपमा कत्तिको सबल छ भन्ने पनि देखायो । यसअघि भारतलाई पनि फाइनलको दबाब थेग्न नसक्ने टिम मानिन्थ्यो । हुन पनि सन् २०११ मा एकदिवसीय विश्वकप जितेपछि भारत आइसिसीका चार प्रमुख प्रतियोगिताका फाइनलमा हारेको थियो । सन् २०१४ मा टी–२० विश्वकप फाइनल, सन् २०१७ मा च्याम्पियनसिप ट्रफी फाइनल, सन् २०२१ मा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल र सन् २०२३ मा घरेलु मैदानमा एकदिवसीय विश्वकपको फाइनलमा हार बेहोरेपछि भारतलाई पनि चोकर्स भन्न थालिएको थियो ।

विश्व क्रिकेटका शक्तिहरू पाकिस्तान, न्युजिल्यान्ड र श्रीलङ्काका लागि यसपालिको विश्वकप बिर्सनलायक रह्यो । यी तिनै राष्ट्रले समूह चरण पनि पार गर्न सकेन । समूह चरणमा अस्ट्रेलियाले सानदार लय देखायो । जसले भारत र अस्ट्रेलियाबिच पुनः फाइनल भिडन्त हुने अनुमान गरिएको थियो तर सुपर आठमा पुगेपछि एक्कासि अस्ट्रेलियाको लय बिग्रियो । अफगानिस्तान र भारतसँग हारेपछि अस्ट्रेलिया सेमिफाइनलमा पुग्न सकेन । अन्डरडगका रूपमा रहेको अफगानिस्तानले लगातार दोस्रो विश्वकपमा सबैको मन जित्यो । अफगानिस्तानले सेमिफाइनलसम्मको यात्रामा न्युजिल्यान्ड, अस्ट्रेलिया, बङ्गलादेश जस्ता राष्ट्रलाई धराशायी बनाएको थियो । सात महिनाअघि भारतमा सम्पन्न एकदिवसीय विश्वकप पनि अफगानिस्तानका लागि सपनाको यात्रा बनेको थियो । सो विश्वकपमा अफगानिस्तानले तीन पूर्वच्याम्पियन इङ्ग्ल्यान्ड, पाकिस्तान र श्रीलङ्कालाई स्तब्ध पारेको थियो । त्यसैले अब अफगानिस्तान पनि विश्व क्रिकेटको सशक्त टिम बनिसकेको छ ।

यस प्रतियोगितामा आफ्नो छवि उच्च पार्ने अर्को राष्ट्र अमेरिका हो । सहआयोजक अमेरिकाले अनपेक्षित रूपमा सुपर आठमा स्थान बनाएर एसोसिएट राष्ट्र पनि कमजोर छैन भन्ने साबित ग¥यो । अमेरिकाले सुपर ओभरमा गत उपविजेता पाकिस्तानविरुद्ध हासिल गरेको जित टी–२० विश्वकप क्रिकेटकै ठुलो स्तब्धकारी नतिजा बन्यो । नेपाल समूह चरणबाट बिदा भए पनि विपक्षी टिमहरूलाई टक्कर दिएर इमिर्जिङ क्रिकेट राष्ट्रका रूपमा आफ्नो पहिचानलाई गुम्न दिएन । यसपालि सहभागी २० मध्ये नौ एसोसिएट राष्ट्र थिए । विगतका विश्वकपमा टेस्ट मान्यताप्राप्त र एसोसिएट टिमबिचको स्तरमा ठुलो खाडल हुँदा विश्वकपको रौनकमा कमी आउने पनि गरेको थियो । त्यसैले पछिल्ला केही विश्वकपमा विश्वकपको रोमाञ्च घट्ने डरले आइसिसीले प्रारम्भिक चरणको प्रावधान राखेको थियो तर यसपालि यस्तो प्रावधान थिएन । एसोसिएट टिमहरूले पनि आइसिसीको यस निर्णयलाई सही साबित गर्दै आइसिसीका पूर्णकालीन सदस्य टिमहरूलाई कडा चुनौती दिए । विशेषतः अमेरिका र नेपालले आफ्नो पहिचान बनाए । नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्यान्डले पनि विपक्षीबाट सम्मान पाए तर युगान्डा र पपुआ न्युगिनी भने कमजोर देखिए । नेपाल र दक्षिण अफ्रिका, पाकिस्तान र अमेरिका तथा नामिबिया र क्यानडाबिचको खेल यस विश्वकपकै रोमाञ्चक खेल बने । अफगानिस्तान र बङ्गलादेशबिचको सुपर आठको खेल पनि सनसनीपूर्ण थियो ।

यसपालि क्रिकेटलाई विश्वव्यापी गराउने लक्ष्य अनुरूप अमेरिकालाई पनि सहआयोजकको जिम्मेवारी दिइएको थियो । यद्यपि अमेरिकाका पिच पूर्ण रूपमा तयार भएको देखिएन । अमेरिकामा भएका सबै जसो खेलमा न्यून स्कोर बने । यसपालिको विश्वकप बलरका लागि उत्कृष्ट साबित भयो । टी–२० अहिले ब्याट्सम्यानको खेल भइसकेको छ । आजकल यस संरचनामा दुई सय रन पनि जित हात पार्न पर्याप्त छैन तर अमेरिकामा १२० देखि १३० रनको स्कोर जोगाउन पनि हम्मेहम्मे बनेको थियो । अमेरिकामा भएको विश्वकपले पिच र वातावरणको प्रभाव क्रिकेटमा कत्तिको हुन्छ भन्ने देखाएको छ । वेस्ट इन्डिजको पिचमा भने ब्याट्सम्यान र बलर दुवैका लागि मौका मिलेको थियो । व्यक्तिगत प्रदर्शनमा भारतका रोहित शर्मा, जस्प्रित बुमराह र अर्सदीप सिंह, अफगानिस्तानका रहमनुला गुरबाज, तेज बलर फजलक फारुकी र रासिद खान, दक्षिण अफ्रिकाका क्विन्टन डिक र एन्रिच नोर्ट्जे, वेस्ट इन्डिजका निकोलस पुरन र बङ्गलादेशका तेज बलर तन्जिम हसन सकिन चम्किनुभयो । गुरबाज यस विश्वकपमा सबभन्दा बढी रन बनाउने ब्याट्सम्यान बन्नुभयो ।

नेपालको प्रदर्शन

दोस्रो पटक टी–२० विश्वकपमा खेलेको नेपालले यस विश्वकपमा अनपेक्षित नतिजा निकाल्ने आशा गरिएको थियो । नेपाललाई हेर्नलायक टिममध्ये एक मानिएको थियो । यद्यपि नेपाल जितविहीन बन्यो तर नेपाली क्रिकेटरहरूले नेपाली जनता र समर्थकलाई खुसी बनाउने भरमग्दुर प्रयास ग¥यो । नेपालले जित प्राप्त गर्न नसके पनि बङ्गलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सलाई कडा टक्कर दियो । पहिलो खेलमा नेदरल्यान्ड्सका तेज बलरहरूको स्विङ बलिङमा कमजोर देखिएपछि नेपाल १०६ रनमै अलआउट भएको थियो तर नेपालले नेदरल्यान्ड्सलाई सजिलै जित हासिल गर्न दिएन । नेदरल्यान्ड्सले आठ बल बाँकी छँदा मात्र बल्लतल्ल जित प्राप्त गरेको थियो । त्यसपछि दक्षिण अफ्रिकाविरुद्धको खेलमा इतिहास रच्नबाट नजिक पुगेर असफल हुँदा हुने पीडाको अनुभव नेपाली व्रिmकेटर र समर्थकले गरे । उपविजेता बनेको दक्षिण अफ्रिकासँग नेपाल एक रनले स्तब्ध भएको थियो । नेपालले खेल जित्न दुई बलमा दुई रन बनाउन नसकेको हो । सो खेल जितेको भए नेपाल टी–२० विश्वकपमा अहिलेसम्मकै स्तब्धकारी नतिजा निकाल्न सफल हुन्थ्यो । बङ्गलादेशविरुद्धको खेलमा विपक्षीलाई १०६ रनमै रोकेर पनि नेपाल २१ रनले पछि प¥यो । श्रीलङ्काविरुद्धको खेल भने वर्षाका कारण नेपालले खेल्न पाएन ।

ब्याटिङमा नेपालका लागि उल्लेख्य क्षण रहेन । नेपालका लागि सबभन्दा धेरै रन बनाउने आसिफ शेखको ब्याटबाट पनि तीन खेलमा मात्र ६३ रन निस्केको थियो । यद्यपि अमेरिकामा बलिङमैत्री पिच भएकाले ब्याट्सम्यानको प्रदर्शनमा खासै औँला उठाउने ठाउँ पनि छैन । बलिङमा दीपेन्द्रसिंह ऐरीले छ, कुशल भुर्तेलले चार, सोमपाल कामीले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले दुईरदुई विकेट लिनुभयो । यसपालिको विश्वकपमा नेपाली क्रिकेट समर्थकको चर्चा पनि विश्वभर चुलियो । टेक्सास र फ्लोरिडाको रङ्गशाला रातो र निलो जर्सीले सजिएको थियो तर नेपाली क्रिकेट टिमले विभिन्न स्थानबाट लामो यात्रा तय गरेर डालास र फ्लोरिडा पुगेका नेपाली समर्थकलाई खुसी खुसी घर फर्काउन सकेनन् । वेस्ट इन्डिजमा पनि नेपाली क्रिकेट समर्थकको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली क्रिकेट समर्थक राष्ट्रिय भावनाले ओतप्रोत छन् र विश्वको कुनै पनि कुनामा राष्ट्रिय टिमको खेल हुँदा नेपाली समर्थक त्यहाँ पुग्छ भन्ने सन्देश यस विश्वकपले दिएको छ ।

ताजा समाचार

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । शनिबार बिहान सुत्केरी बेथा लागेका एक जना गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको...

एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु

काठमाडौं । यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर...

धानमा किराको समस्या, किसानलाई उत्पादन घट्ने चिन्ता

काठमाडौं । जोरायल गाउँपालिकामा–३ कोलामा रोपिएको हंसराज बास्मती धानमा किरा देखा परेको छ ।...

प्यालेस्टिनी भूमिमा इजरायली कब्जाबारे सल्लाहकार राय दिन अदालतको आदेश

काठमाडौं । अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जाको कानुनी परिणामको बारेमा...