काठमाडौं । जेठ २९ गते नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम दुवै जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिए, “नारायणगढ–बुटवल सडकखण्डमा अवरोध भए एक घण्टाभित्र सञ्चालनमा ल्याउनू।” ठेकेदार र निर्माण कम्पनीले हुन्छ भन्दै प्रतिबद्धता जनाए । यो निर्देशन दिएको २० औँ दिनमै प्रतिबद्धता उल्लङ्घन भयो । नारायणगढ–बुटवल सडकखण्डको चोरमारा क्षेत्रमा १२ घण्टासम्म सडक जाम भयो । रातो माटो भएको ओरालो बाटोमा हल्का पानी परेपछि गाडी चल्नै सकेनन् । “१२ घण्टा जाम हुँदा पनि चिनियाँ ठेकेदार कम्पनीले बाटो खुलाउन कुनै प्रयास गरेन, फोन गर्दा धेरैको मोबाइल ‘अफ’ छ । ‘अन’ भएकाहरूको पनि फोन नै उठ्दैन,’’ ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अच्युत आचार्यले भन्नुभयो ।
यो कुरा जिल्ला प्रहरी कार्यालय, प्रजिअ कार्यालय हुँदै गृह सचिवसम्म रिपोर्टिङ भयो । माथिको आदेशपछि ठेकेदार कम्पनीका चार जनालाई अफिसबाटै उठाएर जिल्ला प्रहरी कार्यालयमा चार घण्टा राखेपछि ठेकेदारले चिप्लो बाटोमा गिट्टी बालुवा ओछ्याउने प्रतिबद्धतासहित फिल्डमा खटिए । त्यसको अनुगमन गर्न पत्रकारसहित सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक अच्युत आचार्यसहितको टोली चोरमारा पुग्यो । अनुगमनमा जाँदा पनि दुईरचार ट्रक गिट्टी बालुवा ओछ्याएर टालटुले काम हुँदै थियो । गाडीको जाम अझै उस्तै थियो । प्रहरीले क्रेनले ट्रक धकेल्दै बाटो खुलाउने प्रयास गर्दै थियो । “माथिको आदेश एक घण्टाभित्र जाम खुलाइसक्ने भन्ने छ, तपाईंहरू त्यस अनुसार काम गर्ने कि नगर्ने स्पष्ट भन्नूस्, हामी यो कुरा कुनै पनि हालतमा ‘कम्प्रमाइज’ गर्नेवाला छैनौँ,” फिल्डमै चिनियाँ ठेकेदार कम्पनीलाई निर्देशन दिँदै सहायक प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो ।
तर, ठेकेदारले हुन्छ हुन्छ भनेर पनि काम नगर्ने गरेको ट्राफिक प्रमुख आचार्यको भनाइ छ । “राति १ बजेदेखि जाम भएको हो, एसपी र सिडिओ सा’बबाट दबाब दिएपछि हल्का काम गरे जस्तो गर्छन् तर हरेक पटक गर्छु भनेर पनि काम हुँदैन, व्यवहारमा देखिन्न,” ट्राफिक प्रमुख आचार्यले भन्नुभयो । आचार्यका अनुसार रातभरि काम गरेर अप्ठ्यारो र चिप्लो बाटोभरि गिटी बालुवा हालेर ग्राभेल गर्ने सहमति भएको थियो तर अझै पनि भने अनुसार काम गरिएन । “एक सय ट्रकभन्दा बढी गिट्टी बालुवा नहालेसम्म चिप्लो माटो भएको सडकमा गाडी गुड्न लायक हुँदैन,” ट्राफिक प्रमुख आचार्यले भन्नुभयो, “तर रातभरिमा बल्लतल्ल २०र२५ ट्रक हालेको छ । बाटो बल्लतल्ल एकतर्फी सञ्चालन गरेका छौँ ।” सहमति अनुसार बाटो अवरुद्ध भएमा निर्माण कम्पनीले नै मर्मत गरी सडक सञ्चालनमा ल्याउनुपर्ने हो । जिल्ला प्रहरी प्रमुख रेग्मीले अनुमान गरिएको भन्दा फरक ठाउँमा ट्राफिक जाम भएको बताउनुभयो । रेग्मीले भन्नुभयो, “यो ठाउँमा यसरी अवरोध होला भनेर कल्पना पनि गरिएको थिएन, अवरोध भइसकेपछि ठेकेदार कम्पनीलाई कार्यालयमै ‘ब्रिफ’ गरी साइटमै ल्याएर यो अवस्था देखाएर काम गर्न भनेका छौँ ।”
जिल्ला प्रशासन कार्यालयले नारायणगढ–बुटवल सडक आयोजनाको पूर्वी खण्डका प्रमुखलाई जानकारी गराएर समन्वय गर्न आग्रह गर्दा पनि काम नभएको बताएको छ । थप डेढ वर्ष समय माग गत वर्ष दोस्रो पटक थपिएको म्याद सकिन अब केही हप्ता मात्र बाँकी छ । साउन ८ गते आयोजनाको म्याद सकिने हो । यो अवधिमा सबै काम सक्नुपर्ने थियो तर अहिलेसम्मको भौतिक प्रगति ५२ प्रतिशत मात्र रहेको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिनुभयो । अघिल्लो वर्ष म्याद थप्दा झन्डै ४२ प्रतिशत भौतिक प्रगति भएको थियो र त्यसलाई बढाएर ७५ प्रतिशत पु¥याउने र कम्तीमा एकतर्फी बाटो कालोपत्रे गर्ने भनिएको थियो तर थपेको म्याद सकिन केही हप्ता मात्र बाँकी छँदा पनि भने अनुसारको प्रगति नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गोरखापत्र