नवलपुरमा व्यावसायिक स्याउ खेती

Published on

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि ९एएफसीआरसी०ले खेती गरेको हो । एएफसीआरसीले अधिकतम् ४० डिग्री सेल्सियस सम्म तापक्रम हुने यहाँको पाँच बिघा क्षेत्रफलमा स्याउ रोपेको छ । यहाँ रोपिएका स्याउ दुई वर्षमै फल्न थालेको छ । प्रालिका व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिनुभयो । “यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्छ”, उहाँले भन्नुभयो, “बिरुवा रोपेको दुई वर्षपछिनै फल दिन थालेको छ । एएफसीआरसीले करिब तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ । एउटा बोटमा ३० वटासम्म स्याउका दाना फलेका छन् । गर्मी धेरै भएकाले केही स्याउका दानाहरु फुटेको उहाँले बताउनुभयो । यहाँ लगाइएको स्याउको फल पहेँलो रङ र स्वाद फुजी स्याउको जस्तै हुने उहाँको भनाइ छ ।

एएफसीआरसीले ४० बिघा क्षेत्रफलमा स्याउसँगै अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफलीलगायतका फलफूल लगाएको छ । यहाँ लगाइएका फलफूल खेतीका लागि थोपा सिँचाइ प्रयोग गरिएको एएफसीआरसीका व्यवस्थापक भट्टराईको भनाइ छ । एएफसीआरसीले फलफूल खेतीसँगै ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा कीटाणुरहित वातावरणमा ठूलो सङ्ख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ । छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरु हजारौँ बिरुवा उत्पादन गर्न र राम्रो उत्पादन दिन यो प्रविधि अपनाउने गरिन्छ । टिस्यू कल्चर ल्याब स्थापना गर्ने बेला सरकारले अनुदान सहयोग गरेको थियो । उत्पादन गरिएका जिनाइन प्रजातिका केराका बेर्ना तथा बाँसका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले देशैभर लैजाने गरेको उहाँले बताउनुभयो ।

केराको बिरुवा प्रतिगोटा रु ३५ देखि रु ६० सम्म र बाँसको बिरुवा प्रतिगोटा रु एक सय ३० मा बिक्री गरिन्छ । टिस्यू कल्चर प्रविधिबाट उत्पादन गरिएका ‘बालकोवा’ प्रजातिको बाँस पहाडी क्षेत्रमा भूक्षय नियन्त्रण एवम् तराई क्षेत्रमा नदी कटान रोकथामका लागि लैजाने गरेको एएफसीआरसीले जनाएको छ । रासस

ताजा समाचार

चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ ” अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित...

‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’

काठमाडौँ । मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन...

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

काठमाडौँ । ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण...