केयुले क्यान्सर अनुसन्धान केन्द्र सञ्चालन गर्ने

Published on

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले क्यान्सर रोगको समयमा नै पहिचानका लागि प्रयोगशाला तथा क्यान्सर रोगको अनुसन्धान सुरु गर्ने भएको छ । विश्वविद्यालय परिसरमा रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआइसी) को भवनमा क्यान्सर रोगको समयमै पहिचान, उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि बढाएको हो ।

विश्वविद्यालयले कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) को सहयोगमा इनोभेसन सेन्टरमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी नेपालकै क्यान्सर रोगको अनुसन्धान केन्द्र बनाउने लक्ष्य लिएको इनोभेसन सेन्टरका निमित्त निर्देशक प्राडा राजेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । उहाँले कोइकाले विश्वविद्यालयका लागि उपलब्ध गराएका अधिकांश स्वास्थ्यसम्बन्धी उपकरण क्यान्सर रोगको पहिचानका लागि मिल्दोजुल्दो भएकाले आवश्यक पर्ने थप उपकरण तथा रसायनलगायतका सामग्री उपलब्ध गराई क्यान्सर रोग अनुसन्धान केन्द्र बनाउन लागेको बताउनुभयो । “अहिले पनि क्यान्सर रोगसम्बन्धी कतिपय परीक्षण गर्नका लागि विदेश पठाउने गरिएको छ, विदेश पठाइएका नमुनाको परीक्षण भएर रिपोर्ट आउन तीन÷चार हप्ता लाग्ने गरेको छ, परीक्षणका लागि पठाइएका नमुनाको रिपोर्ट आउँदा क्यान्सर अर्को चरणमा पार गर्ने खतरा हुने र त्यसका लागि बिरामीको समय र पैसाको बरबादी हुने भएकाले विदेश पठाउने क्यान्सर परीक्षण नेपालमा नै गर्ने उद्देश्यले क्यान्सर रोग अनुसन्धान केन्द्र बनाउन लागेका हौँ,” प्राडा ज्ञवालीले भन्नुभयो ।

तीन महिनाभित्र केन्द्र सञ्चालन गर्ने लक्ष्यका साथ उपकरणको व्यवस्थापन, आवश्यक उपकरण खरिदलगायतका काम गर्दै आएको विश्वविद्यालयले केन्द्रका लागि तीन सातापहिले क्यान्सर रोग विशेषज्ञ डा। अजयकुमार झालाई केन्द्र प्रमुखमा नियुक्त गरेको छ । कोइकाको सहयोगमा विश्वविद्यालयमा स्थापना भएको स्वास्थ्य प्रयोगशालाबाट पहिलो चरणमा रक्त क्यान्सरको उपचारका लागि आवश्यक जनशक्ति, आधुनिक प्रविधि र सुविधा उपलब्ध गराइने भएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले समुदायलाई आवश्यक पर्ने क्यान्सरलगायतका गम्भीर रोगका सेवा प्रदान गर्न विश्वविद्यालयले तयारी अघि बढाएको बताउनुभयो । स्वास्थ्य प्रयोशाला प्रमुख डा। अजयकुमार झाले समुदायसम्म कसरी क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने विषयमा काम गरिने बताउनुभयो । कोइकाले करिब एक अर्ब नेपाली रुपियाँको लागतमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआइसी) को भवनका साथै करिब २० करोड रुपियाँ बराबरको स्वास्थ्य प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण, फर्निचरलगायत उपलब्ध गराएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...