बेलायतमा नयाँ नेतृत्व

Published on

काठमाडौं । युरोपको शक्तिशाली राष्ट्र संयुक्त अधिराज्य बेलायतमा १४ वर्षपछि सत्ता परिवर्तन भएको छ । युरोपमा दक्षिणपन्थी पपुलिस्टको हावा चलिरहँदा बेलायतमा भने मध्य वामपन्थी प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले अत्यधिक बहुमतसहित नयाँ सरकार बनाएको छ । १४ वर्ष शासन गरेको सत्तारूढ कन्जरभेटिभ पार्टी चुनावमा नराम्ररी पराजित भएको छ । सो पार्टीका शीर्ष नेता पूर्वप्रधानमन्त्री लिज ट्रस, रक्षामन्त्री ग्रान्ट स्याप्सलगायत पराजित हुनुभएको छ । बेलायतको ६५० सिटको संसद्मा सरकार बनाउन ३२६ सिट आवश्यक पर्नेमा ४१२ सिटसहितको भारी बहुमतसहित लेबर पार्टीका नेता किअर स्टार्मर नयाँ प्रधानमन्त्री बन्नुभएको छ । जुलाई ४ मा भएको निर्वाचनमा आफ्नो दल नराम्ररी पराजित भएपछि प्रधानमन्त्री ऋषि सुनकले राजीनामा दिएलगत्तै राजा चाल्र्स तृतीयले जुलाई ५ मा स्टार्मरलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

यसअघि लेबर पार्टीले तत्कालीन प्रधानमन्त्री सर टोनी ब्लेयरको नेतृत्वमा सन् १९९७ मा ऐतिहासिक ४१८ सिट जितेको थियो । प्रधानमन्त्री नियुक्त भएलगत्तै स्टार्मर टेन डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालय गएर राष्ट्रका नाममा सम्बोधन गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो काम अत्यावश्यक छ । हामी आजबाटै सुरु गर्छौं, परिवर्तनको काम तुरुन्तै सुरु हुन्छ । यद्यपि स्विच क्लिक गर्नु जत्तिकै सरल भने हुने छैन । निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित भएका छन् । सत्तारूढ कन्जरभेटिभ पार्टीले इतिहासमै सबैभन्दा नराम्रो पराजय भोगेको छ, जसले १२१ सिट मात्र जित्यो । यो पार्टीले पाँच वर्षअघिको तुलनामा २५० सिट गुमाएको छ । सन् २०१९ को आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले ३६५ सिट ल्याएको थियो । नवनिर्वाचित प्रधानमन्त्री ६१ वर्षीय स्टार्मर बेलायती राजनीतिमा आएको धेरै भएको छैन । पहिलो पटक उहाँ सन् २०१५ मा सांसद निर्वाचित हुनुभयो । उहाँ हल्बोर्न एन्ड सेन्ट प्यानव्रmास निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो जहाँ उहाँ आफ्नो परिवारसँग धेरै वर्ष बस्नु भयो । स्टार्मर प्रतिपक्षमै बसे पनि छायामन्त्रीका रूपमा निरन्तर खटिरहनुभयो । दक्षिणी इङ्ग्ल्यान्डको एउटा सानो सहरका बासिन्दा स्टार्मर पूर्वअभियोजक र मानव अधिकार अधिवक्ता हुनुहुन्छ । उहाँ सन् २०२० अप्रिलमा मात्र लेबर पार्टीको नेता बन्नुभएको हो ।

सन् १९६२ मा सामान्य परिवारमा जन्मनुभएका उहाँका बुबा कारखानामा काम गर्नुहुन्थ्योे भने आमा नर्स । उहाँले आफूलाई वर्किङ क्लासको प्रतिनिधिका रूपमा चिनाउनुहुन्छ । स्टार्मरले भिक्टोरिआ एलेक्जेन्डरसँग सन् २००७ मा विवाह गर्नुभएको छ । उहाँका दुई सन्तान छन् । स्टार्मरले अक्सफोर्ड विश्वविद्यालयबाट एलएलबी गर्नुभएको छ । वकालतकै सिलसिलामा उहाँले क्यारेबिया तथा अफ्रिकामा समेत काम गर्नुभएको छ । मृत्युदण्ड सुनाइएका कैदीबन्दीको पक्षमा उहाँले थुप्रै मुद्दा लड्नुभएको छ । समग्रमा बेलायतको अर्थतन्त्र र जनताको दैनिकीमा थपिएको सङ्कटले जनता यस पटक लेबर पार्टीलाई जिताएको उहाँको बुझाइ छ ।

लेबर सरकारको पहिलो प्राथमिकता आर्थिक रूपमा देश र जनतालाई सबल र सक्षम बनाउनु अनि आर्थिक स्थिरता प्रदान गर्नु हुने छ । त्यस्तै नेसनल हेल्थ सर्भिस (एनएचएस) मा बढ्दै गरेको बिरामीको चाप घटाउन पालो कुर्ने समय ९वेटिङ टाइम० घटाउनु, बोर्डर सुरक्षा कमान्ड वा दस्ता बनाउनु प्रमुख प्राथमिकता हुन् । लेबर पार्टीको सरकार बनेपछि आन्तरिक शासन सञ्चालन र आम जनजीविकासँग सम्बन्धित विषय अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, आन्तरिक सुरक्षा, ऊर्जा आदिमा केही नयाँ नीतिको अपेक्षा गरिए गरिएको छ तर तत्काल विदेश नीति र अन्तर्राष्ट्रिय सहयोग नीतिमा केही अन्तर नपर्ने ठानिएको छ । चुनावी जितपछि दिएको पहिलो मन्तव्यमा स्टार्मरले भन्नुभयो, “हामीले भनेका थियौँ–भद्रगोल रोक्छौँ । र हामीले रोक्छौँ नै । हामीले भनेका थियौँ नयाँ इतिहास रच्छौँ, रच्यौँ नै । आजैदेखि परिवर्तन सुरु भएको छ ।”

उहाँले बेलायती स्वास्थ्य सेवा (एनएचएस) मा अहिले पनि बिरामी लामो समय पालो पर्खिनु परिरहेकाले त्यसलाई कम गर्न ४० हजारभन्दा बढी नियुक्ति गर्नुभएको छ । मानव तस्करी तथा अवैध आप्रवासन रोक्न बोर्डर सेक्युरिटी कमान्ड सार्वजनिक गर्नुभएको छ । १५ लाख नयाँ घर निर्माण गरी ‘पहिलो पल्ट घर किन्नेलाई पहिलो अधिकार’ दिने योजना बनाउनुभएको छ । छ हजार पाँच सय शिक्षक नियुक्ति गरिँदै छ । राजनीतिमा सदैव रुचि राख्दै आउनुभएका स्टार्मर युवावस्थामा भने कट्टर वामपन्थी हुनुहुन्थ्यो । उहाँ आफ्नो पृष्ठभूमि श्रमिक वर्गसँग सम्बन्धित भएको बताउनुहुन्छ । उहाँको परिवार लेबर पार्टीप्रति निष्ठावान् थियो । किअर हार्डी नामका व्यक्तिबाट प्रेरित भएर उहाँको नाम किअर राखिएको थियो । हार्डी क स्कटिस हुनुहुन्थ्यो । उहाँले खानीमा काम गर्नुहुन्थ्यो । उहाँ लेबर पार्टीको पहिलो नेता हुनुहुन्थ्यो ।

स्टार्मर १६ वर्षको उमेरमै लेबर पार्टीको युवा सङ्गठनमा आबद्ध हुनुभयो । केही समय उहाँले कट्टर वामपन्थी पत्रिका ‘सोसलिस्ट ओल्टर्नटिभ’ को सम्पादन पनि गर्नुभयो । सन् १९९० मा उहाँले एउटा चर्चित मुद्दामा दुई पर्यावरणवादी अभियानकर्मीको प्रतिनिधित्व गर्नुभयो । रेस्टुँराको विश्वव्यापी चेन म्याक्डोनल्ड्सले ती दुई जनाविरुद्ध उक्त मुद्दा हालेको थियो । सन् २००८ स्टार्मर ‘पब्लिक प्रोसिक्युसन्स’ का निर्देशक तथा ‘ क्राउन प्रोसिक्युसन सर्भिस’का प्रमुख नियुक्त हुनुभयो । उहाँ इङ्ग्ल्यान्ड र र वेल्सको वरिष्ठतम सरकारी वकिल बन्नुभयो । उहाँले सन् २०१४ मा ‘नाइट’ को उपाधि पाउनुभयो । स्टार्मर सन् २०१५ मा लन्डनको ‘होल्बर्न एन्ड सेन्ट प्यान्व्रस’ क्षेत्रबाट सांसदका रूपमा सदनमा प्रवेश गर्नुभयो । लेबर पार्टी त्यतिखेर कट्टर वामपन्थी नेता जेरमी कोर्बिनको नेतृत्वमा प्रतिपक्षमा थियो । उहाँले स्टार्मरलाई आप्रवासनसहितका क्षेत्रमा सरकारको कार्यसम्पादन नियाल्न ‘छाया गृहमन्त्री’ को जिम्मेवारी दिनुभयो ।

बेलायतले मतदानमार्फत युरोपेली सङ्घबाट बाहिरिने निर्णय गर्दै गर्दा उहाँलाई ब्रेक्जिटसँग सम्बन्धित विषय हेर्ने छायामन्त्री पनि बनाइएको थियो । सन् २०१९ को संसदीय निर्वाचनपछि स्टार्मरले लेबर पार्टीको नेतृत्व गर्ने अवसर पाउनुभयो । उक्त निर्वाचन पार्टीका निम्ति एउटा सङ्कट थियो । लेबर पार्टीले सन् १९३५ पछिकै सबैभन्दा नराम्रो पराजय भोगेको थियो । उक्त परिणामका कारण कोर्बिन राजीनामा दिन बाध्य हुनुभयो । जलवायु परिवर्तनको मुद्दाप्रति गम्भीर स्टार्मरले मुलुकको ऊर्जा उत्पादनमा सन् २०३० सम्म जीवाश्म इन्धनको प्रयोग लगभग पूर्ण रूपमा हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यद्यपि धेरै विज्ञ त्यसो गर्न सम्भव नभएको धारणा राख्छन् ।

सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा अप्रत्याशित आव्रmमण गरेपछि स्टार्मरले गाजामा इजरायलले थालेको सैन्य कारबाहीको र इजरायलको आफ्नो प्रतिरक्षा गर्ने पाउने अधिकारको समर्थन गर्नुभएको थियो । तर अहिले उहाँले त्यहाँ दीर्घकालीन युद्धविरामका लागि आह्वान गर्नुभएको छ । सन् २०१९ मा स्टार्मरले नै बेलायतले युरोपेली सङ्घ छोड्ने विषयमा विषयमा दोस्रो जनमत सङ्ग्रह गराउन दबाब दिनुभएको थियो । अहिले उहाँ ब्रेक्जिटमा पुनः जाने सम्भावना नभएको बताउनु हुन्छ । उहाँले खाद्यान्न, पर्यावरण र श्रम मापदण्ड जस्ता विषयमा युरोपेली सङ्घसँग नयाँ सम्झौताको विषयमा छलफल गर्ने बताउनुभएको छ । पार्टीले चुनाव हारे पनि ४४ वर्षीय ऋषि सुनकले कन्जर्भेटिभ पार्टीको नेतृत्व गर्नुभएको छ । सन् २०२२ मा प्रधानमन्त्रीमा नियुक्त हुँदा उहाँ ४२ वर्षका मात्रै हुनुहुन्थ्यो । उहाँ बेलायतको आधुनिक इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेको इतिहास बनाउनुभयो । उहाँ बेलायतको प्रधानमन्त्री बन्ने पहिलो भारतीय मूलका ब्रिटिस नागरिक बन्नुभयो । सन् २०१० मा सत्तामा आएदेखि कन्जरभेटिभ पार्टीले चुनाव हारेसँगै सङ्कटमा परेको छ । सुनक र उहाँअघिका दुई प्रधानमन्त्री मुलुकको समस्या समाधान गर्न विफल हुनुभयो । सुरुमा विश्वव्यापी वित्तीय सङ्कटले बेलायतको ऋण बढ्यो र बजेट सन्तुलन मिलाउन कठिन भयो । बेलायतलाई युरोपेली सङ्घबाट बहिर्गमन, पश्चिमी युरोपमा सबैभन्दा घातक कोभिड महामारी प्रकोप, रुसले युक्रेनमा आक्रमण गरेपछि मुद्रास्फीति वृद्धि, सर्वसाधारणमा जीवनयापनको सङ्कट, अपराध र साना डुङ्गामा अङ्ग्रेजी च्यानल पार गरेर आप्रवासीहरूको गैरकानुनी आगमनमा उल्लेख्य वृद्धिले गर्दा कन्जरभेटिभलाई यो चुनाव निकै महँगो साबित भयो ।

करिब छ करोड ७० लाख जनसङ्ख्या रहेको विश्वकै छैटौँ ठुलो अर्थतन्त्र भएको बेलायतमा इङ्ग्ल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड र स्कटल्यान्ड राज्य छन् । अहिले जनताका मुख्य चासो स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, राष्ट्रको सुरक्षा, आप्रवासन, ऊर्जा, सोसल केयर, पेन्सन, कर, जलवायु परिवर्तन जस्ता मुद्दा छन् । यी मुद्दा सम्बोधन गर्ने भनेकाले लेबर पार्टीले चुनाव जितेको हो । पूर्वअर्थमन्त्री सुनक प्रधानमन्त्री बनेपछि परिस्थिति सुधार हुने अपेक्षा गरिएको थियो । मुलुक चलाउन नसकेरै उहाँका दुई पूर्ववर्ती प्रधानमन्त्री बोरिस जोन्सन र लिज ट्रसले राजीनामा दिनुभएको थियो । जोन्सनले तीन वर्षमा राजीनामा दिनुभयो भने ट्रस ४५ दिनमै असफल हुनुभयो । बेलायतको अर्थतन्त्र रुस–युक्रेन युद्ध, ब्रेक्जिट र कोभिड महामारीका कारण निकै कमजोर बन्यो । अकासिएको महँगी, खुम्चिएको आर्थिक वृद्धिदर, बढ्दो मुद्रास्फीति, इन्धन सङ्कट र सत्तारूढ दलभित्रको विवादले सरकार स्थिर हुन सकेन । तीन वर्षमा तीन प्रधानमन्त्री फेरिए । यी समस्याको निकास दिन नसकेकाले सुनकले झन् ठुलो पराजय भोग्नु पर्यो ।

सन् २०१६ को युरोपेली सङ्घ (इयु) को जनमत सङ्ग्रहयता भएको राजनीतिक अस्थिरताले गर्दा सुनक गत छ वर्षयता पाँचौँ प्रधानमन्त्री बन्नुभयो । बेलायत सन् २०१६ को जुन २३ मा भएको जनमत सङ्ग्रह अनुसार इयुबाट अलग भएको हो । ४३ वर्षसम्म इयुमा रहेर महìवपूर्ण भूमिका निर्वाह गरेको यो मुलुकका जनताले जनमत सङ्ग्रहमार्फत इयुसँगको आबद्धता तोड्ने अभिमत जाहरे गरेपछि बेलायत सरकारले जनमतलाई स्वीकार गर्दै इयुबाट अलग हुने निर्णय गरेको हो । यो निर्णय कार्यान्वयन हुन पाँच वर्ष लाग्यो । इयुबाट अलग हुनुहुन्न भन्ने पक्षमा वकालत गर्दै आउनुभएका तत्कालीन प्रधानमन्त्री डेबिड क्यामरुनले जनमत विपक्षमा गएपछि राजीनामा दिनुभयो । बेलायत इयुमा रहने कि नरहने भन्ने विषयमा लामो समयदेखि बहस चल्दै आएको थियो । सन् २०१० मा सत्तामा आउनुभएका कन्जर्भेटिभ पार्टीका नेता क्यामरुनले दोस्रो कार्यकालका लागि सन् २०१५ मा भएको चुनावका बेला इयुमा रहने वा नरहने विषयमा जनमत सङ्ग्रह गराउने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिबद्धता अनुसार उहाँले सन् २०१६ को जुन २३ तारिखमा जनमत सङ्ग्रह गराउनुभयो । अतः इयुबाट अलग्गिएको बेलायतले सामना गरिरहेका वर्तमान आर्थिक, राजनीतिकलगायतका समस्याको समाधान गरी मुलुकलाई बलियो बनाउन नयाँ प्रधानमन्त्री स्टार्मरले महìवपूर्ण सुधारका कार्यक्रम सम्पन्न गर्नुपर्ने अवस्था छ । बेलायत कमजोर बन्यो भने यसको असर सारा युरोपभरि पर्ने भएकाले पनि उहाँको काँधमा महìवपूर्ण जिम्मेवारी आएकोे छ ।

ताजा समाचार

लवाङ्गी पूजा गरेर नयाँ धानको भात

काठमाडौँ । थारु समुदायमा लवाङ्गी पूजा गरेर मात्र नयाँ धानको भात खाने चलन छ...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती

काठमाडौँ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक...

वडालाई सबल र व्यवस्थित बनाउनेछु

मंसिर १६ गते देशभर स्थानिय तहको उपनिर्वाचन हुँदैछ । १६ गते हुने उपनिर्वाचनमा स्थानिय...

नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

काठमाडौँ । रामेछाप गेलुका उज्ज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग...