बेलायतमा नयाँ नेतृत्व

Published on

काठमाडौं । युरोपको शक्तिशाली राष्ट्र संयुक्त अधिराज्य बेलायतमा १४ वर्षपछि सत्ता परिवर्तन भएको छ । युरोपमा दक्षिणपन्थी पपुलिस्टको हावा चलिरहँदा बेलायतमा भने मध्य वामपन्थी प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले अत्यधिक बहुमतसहित नयाँ सरकार बनाएको छ । १४ वर्ष शासन गरेको सत्तारूढ कन्जरभेटिभ पार्टी चुनावमा नराम्ररी पराजित भएको छ । सो पार्टीका शीर्ष नेता पूर्वप्रधानमन्त्री लिज ट्रस, रक्षामन्त्री ग्रान्ट स्याप्सलगायत पराजित हुनुभएको छ । बेलायतको ६५० सिटको संसद्मा सरकार बनाउन ३२६ सिट आवश्यक पर्नेमा ४१२ सिटसहितको भारी बहुमतसहित लेबर पार्टीका नेता किअर स्टार्मर नयाँ प्रधानमन्त्री बन्नुभएको छ । जुलाई ४ मा भएको निर्वाचनमा आफ्नो दल नराम्ररी पराजित भएपछि प्रधानमन्त्री ऋषि सुनकले राजीनामा दिएलगत्तै राजा चाल्र्स तृतीयले जुलाई ५ मा स्टार्मरलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

यसअघि लेबर पार्टीले तत्कालीन प्रधानमन्त्री सर टोनी ब्लेयरको नेतृत्वमा सन् १९९७ मा ऐतिहासिक ४१८ सिट जितेको थियो । प्रधानमन्त्री नियुक्त भएलगत्तै स्टार्मर टेन डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालय गएर राष्ट्रका नाममा सम्बोधन गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो काम अत्यावश्यक छ । हामी आजबाटै सुरु गर्छौं, परिवर्तनको काम तुरुन्तै सुरु हुन्छ । यद्यपि स्विच क्लिक गर्नु जत्तिकै सरल भने हुने छैन । निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित भएका छन् । सत्तारूढ कन्जरभेटिभ पार्टीले इतिहासमै सबैभन्दा नराम्रो पराजय भोगेको छ, जसले १२१ सिट मात्र जित्यो । यो पार्टीले पाँच वर्षअघिको तुलनामा २५० सिट गुमाएको छ । सन् २०१९ को आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले ३६५ सिट ल्याएको थियो । नवनिर्वाचित प्रधानमन्त्री ६१ वर्षीय स्टार्मर बेलायती राजनीतिमा आएको धेरै भएको छैन । पहिलो पटक उहाँ सन् २०१५ मा सांसद निर्वाचित हुनुभयो । उहाँ हल्बोर्न एन्ड सेन्ट प्यानव्रmास निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो जहाँ उहाँ आफ्नो परिवारसँग धेरै वर्ष बस्नु भयो । स्टार्मर प्रतिपक्षमै बसे पनि छायामन्त्रीका रूपमा निरन्तर खटिरहनुभयो । दक्षिणी इङ्ग्ल्यान्डको एउटा सानो सहरका बासिन्दा स्टार्मर पूर्वअभियोजक र मानव अधिकार अधिवक्ता हुनुहुन्छ । उहाँ सन् २०२० अप्रिलमा मात्र लेबर पार्टीको नेता बन्नुभएको हो ।

सन् १९६२ मा सामान्य परिवारमा जन्मनुभएका उहाँका बुबा कारखानामा काम गर्नुहुन्थ्योे भने आमा नर्स । उहाँले आफूलाई वर्किङ क्लासको प्रतिनिधिका रूपमा चिनाउनुहुन्छ । स्टार्मरले भिक्टोरिआ एलेक्जेन्डरसँग सन् २००७ मा विवाह गर्नुभएको छ । उहाँका दुई सन्तान छन् । स्टार्मरले अक्सफोर्ड विश्वविद्यालयबाट एलएलबी गर्नुभएको छ । वकालतकै सिलसिलामा उहाँले क्यारेबिया तथा अफ्रिकामा समेत काम गर्नुभएको छ । मृत्युदण्ड सुनाइएका कैदीबन्दीको पक्षमा उहाँले थुप्रै मुद्दा लड्नुभएको छ । समग्रमा बेलायतको अर्थतन्त्र र जनताको दैनिकीमा थपिएको सङ्कटले जनता यस पटक लेबर पार्टीलाई जिताएको उहाँको बुझाइ छ ।

लेबर सरकारको पहिलो प्राथमिकता आर्थिक रूपमा देश र जनतालाई सबल र सक्षम बनाउनु अनि आर्थिक स्थिरता प्रदान गर्नु हुने छ । त्यस्तै नेसनल हेल्थ सर्भिस (एनएचएस) मा बढ्दै गरेको बिरामीको चाप घटाउन पालो कुर्ने समय ९वेटिङ टाइम० घटाउनु, बोर्डर सुरक्षा कमान्ड वा दस्ता बनाउनु प्रमुख प्राथमिकता हुन् । लेबर पार्टीको सरकार बनेपछि आन्तरिक शासन सञ्चालन र आम जनजीविकासँग सम्बन्धित विषय अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, आन्तरिक सुरक्षा, ऊर्जा आदिमा केही नयाँ नीतिको अपेक्षा गरिए गरिएको छ तर तत्काल विदेश नीति र अन्तर्राष्ट्रिय सहयोग नीतिमा केही अन्तर नपर्ने ठानिएको छ । चुनावी जितपछि दिएको पहिलो मन्तव्यमा स्टार्मरले भन्नुभयो, “हामीले भनेका थियौँ–भद्रगोल रोक्छौँ । र हामीले रोक्छौँ नै । हामीले भनेका थियौँ नयाँ इतिहास रच्छौँ, रच्यौँ नै । आजैदेखि परिवर्तन सुरु भएको छ ।”

उहाँले बेलायती स्वास्थ्य सेवा (एनएचएस) मा अहिले पनि बिरामी लामो समय पालो पर्खिनु परिरहेकाले त्यसलाई कम गर्न ४० हजारभन्दा बढी नियुक्ति गर्नुभएको छ । मानव तस्करी तथा अवैध आप्रवासन रोक्न बोर्डर सेक्युरिटी कमान्ड सार्वजनिक गर्नुभएको छ । १५ लाख नयाँ घर निर्माण गरी ‘पहिलो पल्ट घर किन्नेलाई पहिलो अधिकार’ दिने योजना बनाउनुभएको छ । छ हजार पाँच सय शिक्षक नियुक्ति गरिँदै छ । राजनीतिमा सदैव रुचि राख्दै आउनुभएका स्टार्मर युवावस्थामा भने कट्टर वामपन्थी हुनुहुन्थ्यो । उहाँ आफ्नो पृष्ठभूमि श्रमिक वर्गसँग सम्बन्धित भएको बताउनुहुन्छ । उहाँको परिवार लेबर पार्टीप्रति निष्ठावान् थियो । किअर हार्डी नामका व्यक्तिबाट प्रेरित भएर उहाँको नाम किअर राखिएको थियो । हार्डी क स्कटिस हुनुहुन्थ्यो । उहाँले खानीमा काम गर्नुहुन्थ्यो । उहाँ लेबर पार्टीको पहिलो नेता हुनुहुन्थ्यो ।

स्टार्मर १६ वर्षको उमेरमै लेबर पार्टीको युवा सङ्गठनमा आबद्ध हुनुभयो । केही समय उहाँले कट्टर वामपन्थी पत्रिका ‘सोसलिस्ट ओल्टर्नटिभ’ को सम्पादन पनि गर्नुभयो । सन् १९९० मा उहाँले एउटा चर्चित मुद्दामा दुई पर्यावरणवादी अभियानकर्मीको प्रतिनिधित्व गर्नुभयो । रेस्टुँराको विश्वव्यापी चेन म्याक्डोनल्ड्सले ती दुई जनाविरुद्ध उक्त मुद्दा हालेको थियो । सन् २००८ स्टार्मर ‘पब्लिक प्रोसिक्युसन्स’ का निर्देशक तथा ‘ क्राउन प्रोसिक्युसन सर्भिस’का प्रमुख नियुक्त हुनुभयो । उहाँ इङ्ग्ल्यान्ड र र वेल्सको वरिष्ठतम सरकारी वकिल बन्नुभयो । उहाँले सन् २०१४ मा ‘नाइट’ को उपाधि पाउनुभयो । स्टार्मर सन् २०१५ मा लन्डनको ‘होल्बर्न एन्ड सेन्ट प्यान्व्रस’ क्षेत्रबाट सांसदका रूपमा सदनमा प्रवेश गर्नुभयो । लेबर पार्टी त्यतिखेर कट्टर वामपन्थी नेता जेरमी कोर्बिनको नेतृत्वमा प्रतिपक्षमा थियो । उहाँले स्टार्मरलाई आप्रवासनसहितका क्षेत्रमा सरकारको कार्यसम्पादन नियाल्न ‘छाया गृहमन्त्री’ को जिम्मेवारी दिनुभयो ।

बेलायतले मतदानमार्फत युरोपेली सङ्घबाट बाहिरिने निर्णय गर्दै गर्दा उहाँलाई ब्रेक्जिटसँग सम्बन्धित विषय हेर्ने छायामन्त्री पनि बनाइएको थियो । सन् २०१९ को संसदीय निर्वाचनपछि स्टार्मरले लेबर पार्टीको नेतृत्व गर्ने अवसर पाउनुभयो । उक्त निर्वाचन पार्टीका निम्ति एउटा सङ्कट थियो । लेबर पार्टीले सन् १९३५ पछिकै सबैभन्दा नराम्रो पराजय भोगेको थियो । उक्त परिणामका कारण कोर्बिन राजीनामा दिन बाध्य हुनुभयो । जलवायु परिवर्तनको मुद्दाप्रति गम्भीर स्टार्मरले मुलुकको ऊर्जा उत्पादनमा सन् २०३० सम्म जीवाश्म इन्धनको प्रयोग लगभग पूर्ण रूपमा हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यद्यपि धेरै विज्ञ त्यसो गर्न सम्भव नभएको धारणा राख्छन् ।

सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा अप्रत्याशित आव्रmमण गरेपछि स्टार्मरले गाजामा इजरायलले थालेको सैन्य कारबाहीको र इजरायलको आफ्नो प्रतिरक्षा गर्ने पाउने अधिकारको समर्थन गर्नुभएको थियो । तर अहिले उहाँले त्यहाँ दीर्घकालीन युद्धविरामका लागि आह्वान गर्नुभएको छ । सन् २०१९ मा स्टार्मरले नै बेलायतले युरोपेली सङ्घ छोड्ने विषयमा विषयमा दोस्रो जनमत सङ्ग्रह गराउन दबाब दिनुभएको थियो । अहिले उहाँ ब्रेक्जिटमा पुनः जाने सम्भावना नभएको बताउनु हुन्छ । उहाँले खाद्यान्न, पर्यावरण र श्रम मापदण्ड जस्ता विषयमा युरोपेली सङ्घसँग नयाँ सम्झौताको विषयमा छलफल गर्ने बताउनुभएको छ । पार्टीले चुनाव हारे पनि ४४ वर्षीय ऋषि सुनकले कन्जर्भेटिभ पार्टीको नेतृत्व गर्नुभएको छ । सन् २०२२ मा प्रधानमन्त्रीमा नियुक्त हुँदा उहाँ ४२ वर्षका मात्रै हुनुहुन्थ्यो । उहाँ बेलायतको आधुनिक इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेको इतिहास बनाउनुभयो । उहाँ बेलायतको प्रधानमन्त्री बन्ने पहिलो भारतीय मूलका ब्रिटिस नागरिक बन्नुभयो । सन् २०१० मा सत्तामा आएदेखि कन्जरभेटिभ पार्टीले चुनाव हारेसँगै सङ्कटमा परेको छ । सुनक र उहाँअघिका दुई प्रधानमन्त्री मुलुकको समस्या समाधान गर्न विफल हुनुभयो । सुरुमा विश्वव्यापी वित्तीय सङ्कटले बेलायतको ऋण बढ्यो र बजेट सन्तुलन मिलाउन कठिन भयो । बेलायतलाई युरोपेली सङ्घबाट बहिर्गमन, पश्चिमी युरोपमा सबैभन्दा घातक कोभिड महामारी प्रकोप, रुसले युक्रेनमा आक्रमण गरेपछि मुद्रास्फीति वृद्धि, सर्वसाधारणमा जीवनयापनको सङ्कट, अपराध र साना डुङ्गामा अङ्ग्रेजी च्यानल पार गरेर आप्रवासीहरूको गैरकानुनी आगमनमा उल्लेख्य वृद्धिले गर्दा कन्जरभेटिभलाई यो चुनाव निकै महँगो साबित भयो ।

करिब छ करोड ७० लाख जनसङ्ख्या रहेको विश्वकै छैटौँ ठुलो अर्थतन्त्र भएको बेलायतमा इङ्ग्ल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्ड र स्कटल्यान्ड राज्य छन् । अहिले जनताका मुख्य चासो स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, राष्ट्रको सुरक्षा, आप्रवासन, ऊर्जा, सोसल केयर, पेन्सन, कर, जलवायु परिवर्तन जस्ता मुद्दा छन् । यी मुद्दा सम्बोधन गर्ने भनेकाले लेबर पार्टीले चुनाव जितेको हो । पूर्वअर्थमन्त्री सुनक प्रधानमन्त्री बनेपछि परिस्थिति सुधार हुने अपेक्षा गरिएको थियो । मुलुक चलाउन नसकेरै उहाँका दुई पूर्ववर्ती प्रधानमन्त्री बोरिस जोन्सन र लिज ट्रसले राजीनामा दिनुभएको थियो । जोन्सनले तीन वर्षमा राजीनामा दिनुभयो भने ट्रस ४५ दिनमै असफल हुनुभयो । बेलायतको अर्थतन्त्र रुस–युक्रेन युद्ध, ब्रेक्जिट र कोभिड महामारीका कारण निकै कमजोर बन्यो । अकासिएको महँगी, खुम्चिएको आर्थिक वृद्धिदर, बढ्दो मुद्रास्फीति, इन्धन सङ्कट र सत्तारूढ दलभित्रको विवादले सरकार स्थिर हुन सकेन । तीन वर्षमा तीन प्रधानमन्त्री फेरिए । यी समस्याको निकास दिन नसकेकाले सुनकले झन् ठुलो पराजय भोग्नु पर्यो ।

सन् २०१६ को युरोपेली सङ्घ (इयु) को जनमत सङ्ग्रहयता भएको राजनीतिक अस्थिरताले गर्दा सुनक गत छ वर्षयता पाँचौँ प्रधानमन्त्री बन्नुभयो । बेलायत सन् २०१६ को जुन २३ मा भएको जनमत सङ्ग्रह अनुसार इयुबाट अलग भएको हो । ४३ वर्षसम्म इयुमा रहेर महìवपूर्ण भूमिका निर्वाह गरेको यो मुलुकका जनताले जनमत सङ्ग्रहमार्फत इयुसँगको आबद्धता तोड्ने अभिमत जाहरे गरेपछि बेलायत सरकारले जनमतलाई स्वीकार गर्दै इयुबाट अलग हुने निर्णय गरेको हो । यो निर्णय कार्यान्वयन हुन पाँच वर्ष लाग्यो । इयुबाट अलग हुनुहुन्न भन्ने पक्षमा वकालत गर्दै आउनुभएका तत्कालीन प्रधानमन्त्री डेबिड क्यामरुनले जनमत विपक्षमा गएपछि राजीनामा दिनुभयो । बेलायत इयुमा रहने कि नरहने भन्ने विषयमा लामो समयदेखि बहस चल्दै आएको थियो । सन् २०१० मा सत्तामा आउनुभएका कन्जर्भेटिभ पार्टीका नेता क्यामरुनले दोस्रो कार्यकालका लागि सन् २०१५ मा भएको चुनावका बेला इयुमा रहने वा नरहने विषयमा जनमत सङ्ग्रह गराउने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिबद्धता अनुसार उहाँले सन् २०१६ को जुन २३ तारिखमा जनमत सङ्ग्रह गराउनुभयो । अतः इयुबाट अलग्गिएको बेलायतले सामना गरिरहेका वर्तमान आर्थिक, राजनीतिकलगायतका समस्याको समाधान गरी मुलुकलाई बलियो बनाउन नयाँ प्रधानमन्त्री स्टार्मरले महìवपूर्ण सुधारका कार्यक्रम सम्पन्न गर्नुपर्ने अवस्था छ । बेलायत कमजोर बन्यो भने यसको असर सारा युरोपभरि पर्ने भएकाले पनि उहाँको काँधमा महìवपूर्ण जिम्मेवारी आएकोे छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...