सहकारी अपचलन गर्नेलाई जेलमै सोधपुछ गरिने

Published on

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीका बचत रकम अपचलन गरेपछि जेलमा रहेका सञ्चालकको बयान लिने भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी ठगीको अभियोगमा जेलमा रहेकालाई सोधपुछ गर्ने र विदेशमा फरार रहेकालाई ल्याउन सरकारलाई आग्रह गर्ने बताउनुभयो । सहकारीपीडित नागरिकसँग बुधबार भएको छलफलमा उहाँले जेलमा बसेकादेखि विदेशमा लुकेकासम्म सहकारी सञ्चालकलाई सोधपुछ र कानुनी दायरामा आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सञ्जालकै रूपमा सहकारीको साम्राज्य कसरी विस्तार भयो भन्ने हेरिरहेका छौँ । जेलमा भएकालाई त्यही प्रबन्ध अन्तर्गत सोधपुछ गर्छौं । अरू विभिन्न तथ्य प्राप्तिका काम अघि बढाएका छौँ, गर्छौं । विदेशमा बसेका मान्छेलाई ल्याउन हामी प्रधानमन्त्रीलाई भन्छौँ ।”

उहाँले सहकारीको रकम अपचलन गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्ने कुरा सम्भव नहुने र त्यस्तो आश्वासन नदिने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विदेशमा फरार भएका व्यक्ति ल्याइनु पर्छ । सहकारी क्षेत्र समस्या स्वाभाविक रूपमा सञ्चालन गरिरहेकाबाट होइन । सहकारीका माध्यमबाट बचत रकम अपचलन, दुरुपयोग र ठगी गर्ने केही सहकारी सञ्चालकका कारण यो समस्या आएको छ । जे हो, त्यो गर्छौं । राज्यका तर्फबाट छिद्र रहेछन् भने पनि खोजिरहेका छौँ । उहाँले सहकारीका समस्याका सन्दर्भमा समितिले विभिन्न दृष्टिकोणबाट अध्ययन गरिरहेको बताउनुभयो । उहाँले राज्यका निकायले किन लापरबाही गरे भन्ने पनि अध्ययन भइरहेको जानकारी दिनुभयो ।

लामिछानेमाथि छानबिन होस् स् पीडित

समितिले बुधबार सहकारीमा लाखौँ रकम बचत गरेर अहिले बिचल्ली भएका नागरिकलाई प्रतिनिधिमूलक ढङ्गले आमन्त्रण गरेको थियो । छलफलमा सहकारीपीडितले आफ्ना वेदना मात्रै पोखेनन्, सहकारीले दिएको अविराम यातना पनि सुनाएका थिए । समितिले ओरेन्टल को–अपरेटिभ लिमिटेड, शिवशिखर बहुद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुद्देश्यीय सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्थासहित समस्याग्रस्त सहकारीपीडित नागरिकलाई प्रतिनिधित्वमूलक रूपमा बोलाइएको थियो । छलफलमा ओरेन्टल को–अपरेटिभ लिमिटेड पीडित सङ्घका अध्यक्ष खगेन्द्र काफ्ले, त्रि–चन्द्र क्याम्पसका प्राध्यापक डा। ज्योति गिरी, सहकारीपीडित र बचतकर्ताको रकम फिर्ता अभियानका अभियन्ता किरण श्रेष्ठ, शालिग्राम दुवाडी, दिनेश घिमिरे, कृष्ण खनाल, डिलबहादुर कार्की, उमेश थापा, चव्रmबहादुर श्रेष्ठलगायतले सहकारीको बचत रकम अपचलनबारे बोल्दै आफूहरूलाई न्यायको याचना गर्नुभयो ।

उहाँहरूले सहकारीको बचत रकम घर जग्गामा लगानी, विलासी सामग्री खरिद, मनपरी ऋण प्रवाह र सञ्चालकले आफ्नो सुविधाका लागि दुरुपयोग गरेकाले सरकारले उक्त सम्पत्ति जफत गरेर पीडितलाई रकम फिर्ता गर्नुपर्ने बताउनुभयो । त्यसै गरी सहकारीपीडितले सार्वजनिक पदमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम पनि सहकारीको बचत रकम अपचलन गर्नेमा मुछिएकाले उहाँमाथि छानबिन हुनुपर्ने माग गर्नुभयो । चितवनबाट आउनुभएको सहकारीपीडित दुवाडीले गोर्खा मिडिया नेटवर्कको सन्दर्भमा कुरा उठाउँदै तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि छानबिनको माग गर्नुभयो । सहकारीपीडितले न्यायिक छानबिनमार्फत न्याय दिलाउन, सहकारीमा भइरहेको अपचलन नियन्त्रण गर्ने संयन्त्र बनाउन र नियमन प्रभावकारी बनाउन माग गर्नुभएको छ । गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री डा राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले...

प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागजनी

काठमाडौं । बङ्गलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनमा आगो लगाइदिएका...

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई...

भगवानको कृपाले म बाँचे : पूर्वराष्ट्रपति ट्रम्प

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति एवम् रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आइतबार भएको...