खोनपुर झोलुङ्गे पुल प्रयोगविहीन

Published on

काठमाडौं । कैलालीको कैलारी गाउँपालिका–३ स्थित खोनपुर झोलुङ्गे पुल निर्माणका लागि डेढ करोड खर्च भएको छ । हाइड्रोलोजी, भौगर्भिक अवस्था समेतको परीक्षणसहितका वातावरणीय प्रभाव मूल्याङ्कन नगर्दा ठुलो रकम खर्चेर बनाइएको संरचना प्रयोगमा आउन नसकेको हो ।

पुल निर्माणका लागि बनाइएको एउटा पिल्लरलाई नदीले बगाएको थियो । बाँकी रहेको अर्को पिल्लर प्रयोगविहीन बनेको छ । पिल्लर एकातिर बनाइएकोमा पछिल्लो समय नदी अर्कोतिरबाट बग्न थालेपछि भएको पिल्लर पनि प्रयोगमा नआएको हो । एक करोड ६६ लाख ९० हजार रुपियाँ खर्चेर पुलको नौ वटा पिल्लर समेतका संरचना बनाइएको थियो । तर, सो संरचना प्रयोगमा नआउँदा लगानी खेर गएको छ । बाढीले पिल्लर बगाएपछि बाँकी संरचना पनि पुल निर्माणका लागि उपयुक्त नरहेको सङ्घीय सहरी विकास मन्त्रालय अन्तर्गतको पीटीएपी टीबी एकाइको प्रतिनिधिसहितको टोलीले स्थलगत अध्ययन गरी निष्कर्ष निकालेको छ । टोलीले नदीको प्रकृति अध्ययन गर्दा बहुपिल्लरयुक्त ६०० मिटर लामो पुल आवश्यक पर्ने र नदी नियन्त्रण गर्दा धेरै लागत लाग्ने अवस्थामा ठेक्का रद्द गर्न सुझाव दिएको छ । सो ठाउँमा पूर्वाधार विकास कार्यालयमार्फत मोहना नदीमाथि २५९ मिटर लामो झोलुङ्गे पुल निर्माणको कार्य अगाडि बढाइएको थियो । २०७९ साउन १८ गते आएको बाढीले पुलको एकतर्फको पिल्लर बगाएपछि झोलुङ्गे पुल बन्न सकेन । लगानी खेर गएको छ ।

खोनपुर झोलुङ्गे पुल निर्माणका लागि २०७६ कात्तिकमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक निर्माण व्यवसायीसँग दुई करोड ३८ लाख ४३ हजारमा ठेक्का सम्झौता गरिएको थियो । पुल निर्माण अघिका आधारभूत विषयहरुको पर्याप्त अध्ययन विश्लेषण नगरेको कारण हाल खोनपुर पुल बन्न सक्ने अवस्था नदेखिएको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको छ । खरिद पूर्वका कार्य जिम्मेवारीपूर्वक नगर्दा पुल अलपत्र बनेको महालेखा परीक्षकको छैटौं वार्षिक प्रतिवेदनमा उल्लेख छ । अलपत्र रहेको पुल निर्माण कार्यको सम्बन्धमा सार्वजनिक खरिद कानुन बमोजिम आवश्यक निर्णय गर्नुपर्ने महालेखा परीक्षकले सुझाव दिएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ मा सार्वजनिक निकायले निर्माणस्थलमा बन्ने संरचना तथा संरचनाको दिगोपना सम्बनधमा हाइड्रोलोजी, भौगर्भिक अवस्थासमेतको परीक्षणसहितको वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ ।

मोहना नदीमा खोनपुर झोलुङ्गे पुल नभएपछि स्थानीयले आवतजावतमा सास्ती खेप्दै आएका छन् । पुल नहुँदा मोहना नदी पारि रहेको शिवरत्नपुर गाउँका स्थानीय जोखिम मोलेर डुङ्गाको भरमा नदी तर्ने गरेका छन् । पुल नहुँदा स्थानीयले ठुलो समस्या खेपिरहेको जनाउँदै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले पुल बनाउनका लागि गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...