सिमलताल बस दुर्घटना : गैँडाकोटमा भेटिएको दुई शवको पहिचान

Published on

काठमाडौं । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ । परियारको भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा पर्नुभएको थियो । परियारको शवको पोष्टमार्टम हुन भने बाँकी रहेको छ ।

यसैगरी, माझी काठमाडौँबाट सर्लाही जाँदै गर्दै दुर्घटनामा पर्नुभएको हो ।

यसअघि, शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा उहाँको पहिचान खुलेको थियो । यद्यपी, प्रहरीले सार्वजनिक गरेको बसको चलानीमा परियार र माझीको नाम उल्लेख गरिएको छैन । उहाँहरु चलानी काटी सकेपछि बसमा बिच बाटोबाट यात्रा गर्नुभएको बताइन्छ । शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडकखण्डको सिमलतालमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । आइतबार तेस्रते दिन पनि बिहानैदेखि उद्धारकर्मी हराइरहेको बस र यात्रुको खोजीमा जुटेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली बिहानैबाट त्रिशूली नदीमा खोज कार्यमा जुटेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले अहिलेसम्म चितवनको मेघौली गोलाघाट र नवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा तीन जना यात्रुको शव भेट्नु बाहेक अन्य ठोस कार्य हुन नसकेको बताउनुभयो । “सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ । तर पनि दुर्घटनामा परेका दुवै बस भेटिएका छैनन्”, उहाँले भन्नुभयो । अत्याधुनिक उपकरणहरुसहित गोताखोरहरुको समेत खोज कार्यमा संलग्नता रहेको छ ।

केन्द्रीय सुरक्षा समिति घटनास्थल आउँदै

गृह मन्त्रालयका सचिव एक नारायण अर्यालको नेतृत्वमा केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुले आइतबार उद्धार तथा खोज कार्यको अनुगमन गर्नुहुने भएको छ । उद्धार तथा खोज कार्यलाई थप तीव्रता र प्रभावकारी बनाउन केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुले अनुगमन गर्न लाग्नुभएको हो । गृह सचिवसहित प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतका पदाधिकारीहरु चितवन आउँदै हुनुहुन्छ । उहाँहरु घटना स्थल पुगेर उद्धार र खोज कार्यको अनुगमन गर्नुहुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिनुभयो । उहाँले हराइरहेका दुवै बसमा गरी कम्तीमा ६४\६५ जना यात्रु रहेको सूचना आफूहरुलाई रहेको बताउनुहुँदै धमिलो पानी र पानीको बहाव बढी हुँदा उद्धारमा समस्या परेको बताउनुभयो । “विदेशबाट नयाँ नयाँ प्रविधि र दक्ष गोताखोर ल्याउनेकुरामा समस्या छैन । तर काम गर्न धमिलो पानी र पानीको बहावले समस्या भइरहेको हो”, उहाँले भन्नुभयो । उहाँले खोज कार्य प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिएको पनि बताउनुभयो । दुर्घटनाग्रस्त बसका यात्रुहरुको शव ५० किलो मिटरसम्म टाडा भेटिएको घटनाले केही शवहरु बगाएको हुन सक्ने आङ्शका उहाँले गर्नुभयो । बेपत्ता भएका बस भने घटना स्थलभन्दा धेरै टाडा नरहेको उहाँको बुझाइ छ । बस फेला परे बसमा चेपिएका र भित्र रहेका यात्रुहरुको मृत शरीर निकाल्न सकिने उहाँले जनाउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...