सिँचाइको काम अन्तिम चरणमा

Published on

काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३, भिरपानीस्थित घोर्माफाँट लिफ्ट सिँचाइ योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । घोर्माफाँटमा आदिवासी अल्पसङ्ख्यक माझी समुदायको बसोबास छ । नजिक सुनकोशीको अथाह जलप्रवाह भए पनि घोर्माफाँट भने सुक्खा छ । माझी समुदायको ठुलो र समतल फाँट रहेको घोर्माफाँटमा सिँचाइ सुविधा नहुँदा स्थानीयले आकासे पानीकै भर पर्नुपर्ने अवस्था छ । अहिले लिफ्ट सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेपछि यहाँका स्थानीय खुसी भएका छन् ।

यो आर्थिक वर्षभित्रै योजनाको काम सम्पन्न गर्ने गरी लागेको भए पनि काम पूरा हुन नसकेको खाँडादेवी गाउँपालिका–३ का वडाध्यक्ष पुष्कर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “घोर्माफाँट राम्रो उत्पादन हुने जमिन हो । नजिकै सुनकोशी बगिरहेको भए पनि यहाँ सिँचाइको समस्या छ । घोर्माफाँटमा सिँचाइ सुविधा पुगेपछि माझी समुदायले तरकारी तथा अन्य अन्नबालीबाट राम्रो आम्दानी लिन सक्ने अपेक्षासहित सिँचाइ योजनाको काम भइरहेको छ । बागमती प्रदेश सरकारको २५ लाख रुपियाँ अनुदान र खाँडादेवी गाउँपालिकाको १७ लाख रुपियाँ गरी ४२ लाख रुपियाँ लगानी रहेको लिफ्ट सिँचाइ योजना आउने साउन महिनासम्म सम्पन्न हुने गरी काम भइरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । यो लिफ्ट सिँचाइ योजनामा सोलार र बिजुली दुवै सिस्टमबाट पानी तान्न मिल्ने गरी निर्माण गरिएको उहाँले बताउनुभयो । किसानको खेतमा पानी वितरण गर्ने कुलोमा प्रयोग गर्ने करिब १० लाख रुपियाँको पाइपका लागि बजेट अभाव देखिएको उहाँको भनाइ छ । यो आयोजना निर्माणपश्चात् घोर्माफाँटको १५० रोपनीभन्दा बढी जमिन सिञ्चित हुने उहाँले बताउनुभयो ।

गाउँपालिकाका इन्जिनियर रामचन्द्र ढुङ्गेलले भन्नुभयो, “नदीको पानी ५० मिटरमाथि तानी ७५ हजार लिटर क्षमताको ट्याङ्कीमा जम्मा गरेर पाइपबाट किसानको खेतमा सिँचाइ गर्ने योजना छ । सोलारबाट पानी तान्ने भएकाले निर्माणको समयमा केही खर्च लागे पनि पछि योजना कम खर्चिलो हुन्छ ।” आयोजनामा ७५ हजार लिटरको ट्याङ्की एक घण्टामा भरिने क्षमताका पम्प राखिएको इन्जिनियर ढुङ्गेलले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...