तेत्तिस वर्षमा पनि पूरा भएन सडक

Published on

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको भानुमार्गको काम ट्र्याक खुलेको ३३ वर्षसम्म पूरा भएको छैन । भानु नगरपालिका–१३ मा पर्ने चन्द्रावती बजारदेखि ठुलो ढुङ्गासम्म १० किलोमिटर सडक स्तरोन्नति पूरा नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । पानी पर्दा हिलो र नपर्दा धुलो र ठाउँ ठाउँमा ठुला ठुला खाडल हुँदा बर्सातमा सडकमा आहाल बन्दा स्थानीयले आवतजावतमा समस्या झेल्नु परेको हो । कच्ची र धुले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषि उपज ढुवानी गर्न कठिन हुने गरेको छ ।

कृषि उपज बिक्री गर्न, पर्यटकको आकर्षण बढाउन र स्थानीयको यात्रा सहज बनाउने उद्देश्यले २०४९ सालमा रामचन्द्र पौडेल स्थानीय विकासमन्त्री हुँदा ट्र्याक खोलिएको भए पनि स्तरोन्नतिका लागि रकम थोरै विनियोजन हुने र ठेक्का पाएको ठेकेदारले समयमा काम नगर्दा आवतजावतमा समस्या भएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताउनुभयो । वडाध्यक्ष अधिकारीले भन्नुभयो, “सडकको कन्तबिजोग छ, बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने हुँदा बर्सौंदेखि सास्ती बेहोर्नु परेको छ । आठ वर्षअघि २०७३ सालमा २३ करोड दुई लाख ८० हजार ६६१ रुपियाँमा सडक स्तरोन्नतिका लागि ठेक्का पारेको शङ्करमाली निर्माण सेवाले आफूले काम नगर्ने, पेटी ठेकेदार लगाउने गरेकाले काम अधुरै रहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । वडाध्यक्ष अधिकारीले भन्नुभयो, “दुई वर्षमै पूरा हुनुपर्ने काम आठ वर्षसम्म पनि पूरा भएन, अझै दुई वर्षका लागि म्याद थप भएको कुरा सुनेको छु ।”

स्थानीय कृष्ण गुरुङ बर्सौंदेखि भानुमार्ग जस्ताको तस्तै सास्ती भोग्नु परेको बताउनुभयो । गुरुङका अनुसार यस मार्गको हालसम्मको भौतिक प्रगति २७ प्रतिशत मात्रै छ । भानुमार्ग २०२३ सालमा डुम्रेबाट चन्द्रावतीका लागि ट्र्याक खुलेको थियो । चन्द्रावतीबाट ठुलो ढुङ्गासम्मका लागि ३३ वर्षअघि सडक खुलेको थियो । चन्द्रावती निवासी कुबेर खनाल यो मार्गको सडक सुधारका लागि पटक पटक स्थानीय तह, प्रदेश तथा सङ्घ सरकारसमक्ष धाएको भए पनि अधुरै रहेको बताउनुभयो । खनालले भन्नुभयो, “भानुमार्गमा ठाडोखोला धेरै भए पनि पुल बन्नुपर्ने ठाउँमा कल्भर्ट बनेकाले ठुलो पानी परेका बेला कल्भर्ट पुर्ने, बगाउने गरेकाले आवतजावतमा समस्या भएको छ ।” गोरखापत्र

ताजा समाचार

चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ ” अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित...

‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’

काठमाडौँ । मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन...

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

काठमाडौँ । ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण...