प्राकृतिक जीवाणु मलको माग बढ्यो

Published on

काठमाडौं । विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ ।

यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप घिमिरेले बताउनुभयो । उहाँका अनुसार कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ । यहाँ उत्पादित मल झापा, इलाम, सुनसरी र मोरङमा प्रयोग हुँदै आएको छ । दुई वर्षअघि करिब एक बिगाहा जमिन भाडामा लिएर रु ६० लाखको लागतमा सुरु गरिएको कारखानामा हाल रु तीन करोड बढी लगानी भइसकेको छ । स्थानीय व्यक्तिको सहयोगमा सञ्चालन गरिएको कारखानाबाट उत्पादन हुने पातमल, जरामल, धुलोमलको प्रयोगले बोटबिरुवालाई छिटो बढ्न, राम्रो उत्पादन दिन र बाली संरक्षक प्राङ्गारिक जीवाणुको रक्षा गर्ने उहाँले बताउनुभयो । माछामलले पोखरीमा माछाका लागि प्राकृतिक खाद्य पदार्थ बढाउन मद्दत गर्दै आएको छ ।

जीवाणु प्रविधिमा आधारित यी मलको माग दिनानुदिन बढिरहेको जनाउँदै कारखानाका सञ्चालक घिमिरेले माटोमा पहिले प्रयोग भएको रासायनिक मलको नकारात्मक असर हटाउन, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र रोग कीराको प्रकोप नियन्त्रण गर्नसमेत यसले सहयोग पुर्‍याउने बताउनुभयो । महिनामा एक हजार मेट्रिक टन मल उत्पादन गर्न सक्ने क्षमताको कारखानाबाट विगत छ महिनादेखि व्यावसायिक उत्पादन सुरु भएको छ । कारखानाबाट एकपटकमा सय टन धुलो मल र महिनामा ६० देखि ७० हजार लिटर झोल मल उत्पादन हुँदै आएको छ । स्थानीयस्तरमा पाइने, झारपात, काठको धुलो, पिना, गाईको गोबर, गहुँतलगायतको कच्चापदार्थ यो मल बनाउन प्रयोग हुने गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । हाई हिमालयनले कम्पोस्ट मल प्रतिकिलो रु ४० र झोलमल प्रतिलिटर रु ४० का दरले बिक्री गर्दै आएको छ ।

सरकारले जैविक मल उत्पादक उद्योगी र प्रयोगकर्ता किसानलाई प्रोत्साहन अनुदान दिँदै आएको छ । उहाँले जैविक मल उत्पादन गर्ने तरिका अध्ययनका लागि थाइल्यान्ड, फिलिपिन्स, डेनमार्क, बेल्जियमलगायत देशको भ्रमण गरिसकेको बताउनुभयो । “त्यहाँको अनुभव र प्रविधिलाई समेत हामीले यहाँ प्रयोगमा ल्याइरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँले सरकारले किसानलाई रासायिनक मलमा अनुदान दिने गरेको तर प्राकृतिक जैविक मललाई बेवास्ता गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले बेवास्ता गरे पनि किसानको मागलाई धान्नका लागि निकट भविष्यमै मेचीनगर, अर्जुनधारा, शिवसताक्षी नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समेत उद्योग सञ्चालनको तयारी रहेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जिल्लामा एक मात्र हाई हिमालयन अर्गानिक प्रालि मात्र जीवाणु मलको कारखाना रहेको बताउनुभयो । उहाँले विगतमा कारखाना स्थापनाका लागि सरकारले रु ४० लाख अनुदान समेत प्रदान गरेको जानकारी दिनुभयो । “प्राङ्गारिक मलको तुलनामा जीवाणु मल धेरै उत्तम र सस्तो हो”, उहाँले भन्नुभयो, “यो मल पटकपटक प्रयोग गरिरहनुपर्दैन, यसले मोटोको गुणस्तर सुधार गर्ने र निरोगी बनाउने, लागत खर्च समेत घटाउँदै लैजाने गुण हुन्छ ।” उहाँका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएकामा घिमिरले हालै रु दुई लाख नगद पुरस्कारसमेत पाउनुभएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...