काठमाडौं । साउनको दोस्रो सोमबार म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वरधाममा बिहानैदेखि भक्तजनको भिड लागेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानैदेखि म्याग्दी जिल्ला तथा छिमेकी जिल्ला पर्वत एवम् बागलुङबाट पनि भक्तजन दर्शन गर्न आएका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीका अनुसार गण्डकी प्रदेशभित्र आइतबार यातायात बन्द भएकाले अरू बाहिरी जिल्लाबाट आउने भक्तजनको सङ्ख्यामा कमी देखिएको छ । साउन महिनाको सोमबार भगवान् शिवको पूजा आराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले साउन महिनाका हरेक सोमबार गलेश्वरमा भक्तजनको भिड लाग्ने गरेको उहाँले बताउनुभयो ।
मन्दिरका मूल पुजारी चन्द्रमणि आचार्यले सबै नित्य पूजा सकेर बिहान ५ बजेभन्दा अघि भक्तजनलाई मन्दिर दर्शनका लागि आवश्यक प्रबन्ध मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “गलेश्वरमा हुने नियमित पूजापछि भक्तजनको पूजाका लागि मन्दिर खुल्ला गरिने र त्यो कार्य चाँडो सकेर भक्तजनको सुविधाका लागि आवश्यक प्रबन्ध मिलाइएको छ । गलेश्वर मन्दिरमा गलेश्वर आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्र बेनी, न्यु वेष्ट पाइन्ट आवासीय माध्यमिक विद्यालय बेनी, बेष्ट वन एजुकेसन एण्ड भिजा सर्भिसेस बेनी शाखाले निःशुल्क खानेपानी वितरण गरेका छन् । मन्दिरमा आउने भक्तजनको सहयोगका लागि सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल प्रहरीसहित विभिन्न सङ्घ संस्थाले स्वयंसेवक खटाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी गराउनुभयो ।
गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वासअनुसार मन्दिर पुग्ने अधिकांशले शिवलिङ्गमा जल अर्पण गरेका थिए । गलेश्वर शिवालयका सन्दर्भमा हिन्दु धर्मग्रन्थमा महादेवले आफ्नी पत्नी सतीदेवीको मृत शरीर काँधमा बोकेर हिड्नेक्रममा गला पतन भएर गलेश्वर नाम रहन गएको मानिन्छ । मन्दिरमा धौलागिरि अञ्चलका चार जिल्लाहरू म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतका साथै देशका विभिन्न जिल्लाबाट दर्शनका लागि भक्तजन आउने गरेको मन्दिरका पुजारी आचार्यको भनाइ छ । पवित्र कालीगण्डकी नदी किनारबाट उठेको ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरूमा उल्लेख गरिएको पाइन्छ । गोरखापत्र