काठमाण्डौँ । पूर्व मेचीदेखि सुदूरपश्चिमको कालीसम्म फैलिएको विशाल महाभारत पर्वत यस क्षेत्र वरपर बसोबास गर्ने स्थानीयको जीवनरेखा हो । दुई हजारदेखि दुई हजार सात सय मिटरभन्दा बढी उचाइसम्म भएकामध्ये पहाड महाभारतको भूबनोट, प्राकृतिक, जैविक र धार्मिक विविधता छ तर यो क्षेत्रको उचित सदुपयोग हुन नसकेकोमा यहाँ चिन्ता व्यक्त हुन थालेको छ । महाभारत पर्वतमा भएका पानीका मुहान, विभिन्न प्रकारका जडीबुटी, काठ, ढुङ्गा, घाँस, दाउराले यस क्षेत्र वरपर बसोबास गर्ने स्थानीयको दैनिकी सहज भएको छ । हाम्रा पुर्खाहरू घरपालुवा जनावर पाल्न सहजका लागि जङ्गलमै बसोबास गर्ने गर्दथे । यिनै अग्ला पहाडमा जडान गरिएका सञ्चारका टावरहरू फोन, इन्टरनेट, टिभीका टावरले अहिलेको आधुनिक पुस्ताको दैनिकीलाई सहज बनाएको छ । महाभारत पर्वतको प्राकृतिक विविधताले जोकोहीको मन लोभ्याउँछ तर यहाँ बाह्य क्षेत्रबाट अवलोकन गर्नेहरू ल्याएर थप आम्दानी बढाउन सकिएको छैन भन्नेमा सर्वसाधारण दुःख व्यक्त गर्छन् ।
महाभारत पर्वतमा ठुलठुला फाँटसमेत छन् । यी फाँटमा बुट्यान फूलको मनमोहक दृश्यले पनि मन लोभ्याउँछ । महाभारतका योद्धा भीमले ढुङ्गामा सिँगान पुछ्दा पाँच औँलाको छाप रहेको भन्ने किंवदन्ती रहेको ढुङ्गा यहाँ छ । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका–३ र आलीताल गाउँपालिका–२ को सिमानामा अवस्थित एक ढुङ्गामा अहिले पनि ढुङ्गामा पाँच औँलाको छाप देख्न सकिन्छ । महाभारतकै फेद डोटीको जोरायल गाउँपालिकामा भीम छेदन शिला छ । भीमले तरबार हानेर ढुङ्गा काटिएको भन्ने किंवदन्ती अनुसार शिला काटिएको देखिन्छ । भीमले सिँगान पुछेको ढुङ्गाको केही पर आलीताल गाउँपालिका–२ मा रामशिलाको पानी छ । ढुङ्गामुनिबाट पानीको सानो मूल छ । त्रेतायुगमा राम वनवास गएका बेला सीतालाई तिर्खा लागेपछि रामले ढुङ्गामा वाण हानेर पानी फुटेकाले रामशिलाको पानी भनिएको भन्ने किंवदन्ती छ । महाभारत र त्रेतायुगका भगवान्का इतिहास मात्रै नभई महाभारत पर्वतमा शक्तिशाली देवताका मन्दिरसमेत छन् । महाभारत पर्वतको भागेश्वर गाउँपालिका–२ मा पर्ने अग्लो डाँडोमा भागेश्वर देवताको मन्दिर छ । यस मन्दिरकै नामबाट भागेश्वर गाउँपालिकाको नामकरण गरिएको हो ।
डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ मा लाटागन्यापको मन्दिर छ । यस गाउँपालिकाको नाम पनि यिनै शक्तिशाली देवताको नामबाट नामकरण गरिएको हो । डोटी जोरायल गाउँपालिकामा घन्टेश्वर बाबाको मन्दिर छ । यी शक्तिशाली मानिने देवताका मन्दिरसँगै अन्य कैयौँ देवीदेवताका थान महाभारत पर्वतभित्र रहेको धर्म संस्कृतिका जानकार कैलाशकुमार पाण्डेयको भनाइ छ । पहाडी जिल्लामा सडक सञ्जाल नजोडिँदा करिब चार दशकपहिलेसम्म पैदलयात्रा गरेर यही महाभारत पर्वत छिचोल्दै पहाडवासी भारतीय बजार टनकपुसम्म पुगेर दैनिक उपभोग्य वस्तुको जोहो गर्ने चलन थियो । यसै क्रममा पहाडवासी तराईका फाँटमा बसाइँ सर्दै गर्दा बाटोमा निर्माण गरिएका सयौँको सङ्ख्यामा ढुङ्गे धर्मशालाहरू निर्माण गरिएका छन् । पानीका मुहान भएका ठाउँमा न्वला ९इनार० र धर्मशाला निर्माण गरिएका अझै पनि देख्न सकिन्छ ।
महाभारत पर्वतको धार्मिक र पुर्खाहरूले हिँडेको बाटो संरक्षण र व्यावसायिकतामा ढाल्न पहिलो पटक सुदूरपश्चिम प्रदेशबाट रकम विनियोजन भएको छ । महाभारत पर्वको गन्यापधुरा–घन्टेश्वर–भागेश्वर मन्दिरसम्मको पदमार्गको नक्साङ्कन गर्न डडेलधुराबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा। तारा जोशीसहित प्राविधिक टोलीले यस पदमार्गमा स्थलगत अवलोकन पनि गरेको छ । शुक्रबार गन्यापधुरा गाउँपालिका–१, हगुल्टेबाट हिँडेर आलीताल गाउँपालिका–२, काफली क्षेत्रसम्म हिँडेको उहाँले बताउनुभयो । सो कामका लागि डिभिजन वन कार्यालयबाट खर्च गर्ने गरेर सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख रुपियाँ विनियोजन गरेको उहाँले बताउनुभयो । लाटा गन्याप–घन्टेश्वर–भागेश्वर मन्दिर जोड्ने धार्मिक पदमार्ग निर्माणसँगै जङ्गल र पहाड चढ्ने हाइकिङ, ट्रेकिङका लागि विकास गर्न सकिने योजना अनुरूप पहिलो पटक सो रकम विनियोजन भएको उहाँले बताउनुभयो । हाम्रा पुर्खाले हिँडेको बाटो पनि भएकाले इतिहास र पुर्खाको जीवनशैली खोज, अध्ययनका लागि पनि यो पदमार्ग उपयुक्त हुने उहाँको भनाइ छ । यस्ता गतिविधिले यहाँको समाज व्यावसायिकतातर्फ अग्रसर हुने उहाँले बताउनुभयो । गोरखापत्र