बङ्गुरमा ‘स्वाइन फिभर’ को सङ्क्रमण बढ्यो

Published on

काठमाडौँ । यहाँ पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएपछि दुई सय बढी बङ्गुर मरेका छन् । ‘स्वाइन फिभर’ सङ्क्रमणका कारण खोरमा रहेका बङ्गुर धमाधम मर्न थालेपछि किसानमा चिन्ता बढेको हो । जिल्ला पशुसेवा कार्यलय ललितपुरले खोरमा रहेका बङ्गुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएको जनाएको छ । महानगरपालिका पशुसेवा विभागले बङ्गुर मर्न थालेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पिसिआर परीक्षणको नतिजाअनुसार जिल्लाको नख्खु करिडोर छेउछाउमा किसानले पालेका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखापरेको हो ।

कात्तिकको अन्तिम साता नख्खु खोला आसपासमा किसानले पालेका बङ्गुरमा रोग देखिएर मर्न थालेका बताउँदै अहिले पनि सङ्क्रमण फैलिँदै गएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख प्रभात न्यौपानेले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोग फैलिँदै गएको छ । अहिलेसम्मको तथ्याङ्कका आधारमा किसानका दुई सयभन्दा बढी बङ्गुर मरेका छन् । अहिले दक्षिणकालीमा सङ्क्रमण बढी देखिएको छ।” बङ्गुरमा देखिने अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा तीव्र रूपमा फैलिनसक्ने भएकाले ललितपुर महानगरपालिका पशु सेवा शाखाले बङ्गुर किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ललितपुर महानगरपालिका–२२ चुनिखेल, धापासी, नख्खु खोला करिडोरलगायत क्षेत्रमा पालिएका बङ्गुर मरेका हुन् ।

दुई सयभन्दा बढी बङ्गुर मरेकाले किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको पशुसेवा शाखा प्रमुख राजेन्द्र विष्टले बताउनुभयो । “अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा छिटो सर्ने भएकाले बङ्गुरलाई दानापानी दिँदा सतर्कता अपनाउनुपर्छ”, उहाँले भन्नुभयो, “एकअर्काबीच पनि सङ्क्रमण फैलिन सक्ने भएकाले सचेत भएर पशु स्याहार गर्नुपर्छ । सङ्क्रमण थप नफैलियोस् भनेर किसानलाई उचित सल्लाह दिएका छौँ ।” बङ्गुरलाई उक्त सङ्क्रमणबाट बचाउन खोप उपलब्ध नभएकाले सङ्क्रमण देखा परेका बङ्गुरलाई छुट्टै खोरमा राखी दानापानी दिनुपर्ने भन्दै किसानले पनि उच्च सतर्कता अपनाउनुपर्ने केन्द्रीय पशुसेवा विभागका सूचना अधिकारी सुधीरकुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरभित्रका किसानले पालेका बङ्गुरमा रोग देखिएको छ । पशु शाखाले त्यसको न्यूनीकरण गर्न पहल गरिरहेको छ ।”

अफ्रिकन स्वाइन फिभर पशुबाट मानिसमा भने नसर्ने बताउँदै पशुबाट पशुमा सर्ने जोखिम रहेकाले पश स्याहारमा विशेष सावधानी अपनाउनुपर्ने विभागका सूचना अधिकारी सिंहले बताउनुभयो । “सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा विषाणुका कारण यो रोग सर्ने र मृत्यु हुने गर्छ”, उहाँले भन्नुभयो । गत असोज १२ गते नख्खु खोलामा आएको बाढीले सङ्क्रमण बगाएर ल्याएकाले करिडोर क्षेत्रमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिएको हुनसक्ने पशुसेवा कार्यालयका प्रमुख न्यौपानेले बताउनुभयो । “बङ्गुर मर्ने क्रम बढिरहेको छ”, उहाँले भन्नुभयो, “सङ्क्रमण महामारीका रूपमा फैलिन नदिन यस क्षेत्रमा अत्यावश्यकबाहेक आवतजावतमा रोक लगाएका छौंँ । किसानलाई सुरक्षाका सामग्री र औषधिसमेत उपलब्ध गराएका छौँ ।” प्रमुख न्यौपानेले सङ्क्रमण भएमा एक सय चारदेखि एक सय सात डिग्री फरेनहाइट ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, तुहिनेलगायत लक्षण देखापर्ने जानकारी दिनुभयो । रासस

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...