रवि लामिछाने थप पाँच दिन थुनामा

Published on

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरुलाई बिहीबारदेखि लागू हुने गरी पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, र कृष्णबहादुर गुरुङविरुद्ध पनि पाँच दिन म्याद थप भएको हो । प्रहरीले कत्तिक २ गते काठमाडौंबाट पक्राउ गरी लामिछानेलाई पोखरा ल्याएको थियो । उहाँविरुद्ध यसअघि छ पटक म्याद थप गरी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी छ ।


पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका लामिछानेको मानवअधिकार र स्वास्थ्यबारे सार्वजनिक रुपमा चर्चा भएकोतर्फ सङ्केत गर्दै अदालतले मानवअधिकार उल्लङ्घन हुने गतिविधि नगर्न, नगराउनसमेत भनेको छ । अनुसन्धान करिब सकिएकाले चाँडै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर भएपछि अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश आउनेछ ।

कास्की अदालते उहाँलाई धरौटी वा साधारण तारिखमा छाड्ने आदेश दिए पनि अन्यत्रका चार सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उहाँलाई हिरासतमै राख्नेछ । पाँच वटै ठाउँमा लामिछानेको बयान सकिएकाले पुर्पक्षमा राख्ने वा नराख्ने वा हिरासतमा राख्ने वा नराख्ने भन्ने निर्णय पनि अदालतको आदेशमै निर्भर हुनेछ । गोरखा मिडिया नेटवर्कका पूर्व प्रवन्ध निर्देशकसमेत रहनुभएका लामिछाने समेतले पोखराको सूर्यदर्शन सहकारीको रकम अवैधानिक रुपमा अपचलन गरेको आरोप छ । लामिछानेविरुद्ध रुपन्देही, काठमाडौं, चितवन र पर्साबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोरखा मिडिया नेटवर्कले सूर्यदर्शन सहकारीसहित अरु सहकारीबाट ६५ करोड अवैधानिक रुपमा लगेर ठगी गरेको आरोप छ । सूर्यदर्शनमा एक अर्ब ३५ करोड हिनामिना भएको देखिएको छ । गोरखापत्र

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...