काठमाडौँ । ख्याउटे ज्यान, चाउरी परेको मुहार । फिस्स हाँस्दा एउटा मात्र दाँत देखिन्छ । ७६ वर्षमा हरिराम चौधरीको जाँगर तन्नेरीभन्दा कम छैन । हस्तकलामा पोख्त चौधरीलाई सीपले यो उमेरमा पनि जाँगरिलो बनाएको हो । कैलारी गाउँपालिका –२ उजलीसेमरा गाउँका उहाँ बाँसको चोयाबाट छिटुवा (डालो) र डिलिया बनाउने काम गर्दै आउनु भएको छ । आफूले बनाएको हस्तकलाको सामग्री चौधरीले आफै टोल–टोल डुुलेर धनगढीमा बिक्री गर्नुहुन्छ ।
“जवान हुँदै मैले सीप सिके” धनगढीमा भेटिनु भएका उहाँले भन्नुभयो, “अहिले खाली बस्नु परेको छैन । सीप नसिकेको भए सायद यो अवस्थामा मलाई बाँच्न गाह्रो हुन्थ्यो ।” जवानीमा सिकेको सीपले चौधरीको ज्येष्ठ जीवनमा रङ्ग मात्र ल्याएको छैन, उहाँलाई आत्मनिर्भरसमेत बनाएको छ । आफूले बनाएको छिटुवा र डिलिया बिक्री गरेर उहाँले यो उमेरमा कमाइ गरिरहनु भएको छ । कमाउने भएकाले पैसाकै लागि कसैमा निर्भर हुनु परेको छैन ।
चौधरीले एउटा ठुलो छिटुवा ३५० र सानो छिटुवा ३०० रुपियाँका दरले बिक्री गर्दै आउनु भएको छ । यसैगरी, डिलिया दुई सयमा बिक्री गर्नुभएको छ । छिटुवा अन्नपात, घाँस, तरकारीलगायत राख्न प्रयोग हुन्छ । डिलिया माछा राख्न प्रयोग गरिन्छ । गाउँ–गाउँ डुल्दै छिटुवा र डिलिया बेचेर आफूले मासिक पाँच–छ हजार रुपियाँ आम्दानी गर्ने गरेको चौधरीले सुनाउनुभयो । मासिक चार हजार सामाजिक सुरक्षा भत्ताबाट आउने रकम र आफूले हस्तकलाको सामग्री बिक्री गरेर कमाएको पैसाले ज्येष्ठ जीवनमा गुजारा गर्न सहज बनेको उहाँको भनाइ छ ।
“छिटुवा, डिलिया बेचेर धेरै कमाइ नभए पनि कसैसँग पैसा माग्नु परेको छैन” उहाँले भन्नुभयो, “म यो काम पहिल्यैदेखि गर्दै आएको छु । यसमा सन्तुष्ट छु ।” आफूले कमाएको पैसाबाटै कपडा, घडी किनेर लगाउने गरेको चौधरीको भनाइ छ । हस्तकला सामग्री बनाउनमा बूढापाकाहरु निकै पोख्त मानिन्छन् । घरमा यत्तिकै बस्नूभन्दा यस्ता काम गर्न रुचाउने गर्दछन् । फुर्सदका बेला आफूले धेरै छिटुवा र डिलिया बनाउने गरेको चौधरीले बताउनुभयो । गाउँघरमा उहाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नु भएको छ । गोरखापत्र