सीपले बनायो हरिरामलाई आत्मनिर्भर

Published on

काठमाडौँ । ख्याउटे ज्यान, चाउरी परेको मुहार । फिस्स हाँस्दा एउटा मात्र दाँत देखिन्छ । ७६ वर्षमा हरिराम चौधरीको जाँगर तन्नेरीभन्दा कम छैन । हस्तकलामा पोख्त चौधरीलाई सीपले यो उमेरमा पनि जाँगरिलो बनाएको हो । कैलारी गाउँपालिका –२ उजलीसेमरा गाउँका उहाँ बाँसको चोयाबाट छिटुवा (डालो) र डिलिया बनाउने काम गर्दै आउनु भएको छ । आफूले बनाएको हस्तकलाको सामग्री चौधरीले आफै टोल–टोल डुुलेर धनगढीमा बिक्री गर्नुहुन्छ ।

“जवान हुँदै मैले सीप सिके” धनगढीमा भेटिनु भएका उहाँले भन्नुभयो, “अहिले खाली बस्नु परेको छैन । सीप नसिकेको भए सायद यो अवस्थामा मलाई बाँच्न गाह्रो हुन्थ्यो ।” जवानीमा सिकेको सीपले चौधरीको ज्येष्ठ जीवनमा रङ्ग मात्र ल्याएको छैन, उहाँलाई आत्मनिर्भरसमेत बनाएको छ । आफूले बनाएको छिटुवा र डिलिया बिक्री गरेर उहाँले यो उमेरमा कमाइ गरिरहनु भएको छ । कमाउने भएकाले पैसाकै लागि कसैमा निर्भर हुनु परेको छैन ।

चौधरीले एउटा ठुलो छिटुवा ३५० र सानो छिटुवा ३०० रुपियाँका दरले बिक्री गर्दै आउनु भएको छ । यसैगरी, डिलिया दुई सयमा बिक्री गर्नुभएको छ । छिटुवा अन्नपात, घाँस, तरकारीलगायत राख्न प्रयोग हुन्छ । डिलिया माछा राख्न प्रयोग गरिन्छ । गाउँ–गाउँ डुल्दै छिटुवा र डिलिया बेचेर आफूले मासिक पाँच–छ हजार रुपियाँ आम्दानी गर्ने गरेको चौधरीले सुनाउनुभयो । मासिक चार हजार सामाजिक सुरक्षा भत्ताबाट आउने रकम र आफूले हस्तकलाको सामग्री बिक्री गरेर कमाएको पैसाले ज्येष्ठ जीवनमा गुजारा गर्न सहज बनेको उहाँको भनाइ छ ।

“छिटुवा, डिलिया बेचेर धेरै कमाइ नभए पनि कसैसँग पैसा माग्नु परेको छैन” उहाँले भन्नुभयो, “म यो काम पहिल्यैदेखि गर्दै आएको छु । यसमा सन्तुष्ट छु ।” आफूले कमाएको पैसाबाटै कपडा, घडी किनेर लगाउने गरेको चौधरीको भनाइ छ । हस्तकला सामग्री बनाउनमा बूढापाकाहरु निकै पोख्त मानिन्छन् । घरमा यत्तिकै बस्नूभन्दा यस्ता काम गर्न रुचाउने गर्दछन् । फुर्सदका बेला आफूले धेरै छिटुवा र डिलिया बनाउने गरेको चौधरीले बताउनुभयो । गाउँघरमा उहाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...