लस एन्जलस आगलागी : विस्थापितलाई तत्काल घर फर्काउन नसकिने

Published on

काठमाडौँ । लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका दशौँ हजार मानिस कम्तीमा चार दिनसम्म घर फर्कन नसक्ने अधिकारीहरूले आइतबार बताएका छन् । आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार रातिसम्म २४ पुगेको छ भने विस्तथापितको सङ्ख्या करिब एक लाखको हाराहारीमा रहेको छ । यस पहिले करिब एक लाख ८० हजारभन्दा बढी व्यक्ति विस्थापित भएकोमा कम जोखिम रहेका क्षेत्रमा मानिसहरू फर्किसकेका छन् ।

पलिसेड्स फायर र इटन फायरको बिचमा बन्द गरिएको खतरा क्षेत्रमा प्रवेश गर्ने आशामा निराश विस्थापितहरूले चेकप्वाइन्टहरूमा लाइनहरू बनाएका छन् । धेरै जना घर फर्कन आतुर छन् किनकि उनीहरूले केही क्षणको सूचना पाएर औषधी वा लुगाफाटा मात्रै लिएर घर छोडेका थिए । कतिपय घरमा छुटेका वृद्ध तथा अशक्त परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउन उत्सुक छन् । लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आइतबार भन्नुभयो, “यस हप्ता हावाहुरीको पूर्वानुमानले आगलागीको आपतकालीन अवस्था अझै सकिएको छैन ।”

उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “उनीहरु घर जान सक्दैनन्, किनभने अझै वस्तीहरू सुरक्षित छैनन् ।” उहाँले भन्नुभयो, “जतिसक्दो चाँडो बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता ल्याउनु हाम्रो सामूहिक प्राथमिकता हो ।” बुधबारसम्म चल्ने तीव्र बतासलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “यो कुराकानी अनुमानित रेड फ्ल्याग इभेन्टको अन्त्यसम्म हुने छैन ।” उहाँले भन्नुभयो, “कृपया निश्चिन्त हुनुहोस् । बिहीबार हामी पुनरुत्थानको बारेमा कुरा सुरु गर्नेछौँ ।” आफ्नो नाम जेनेल बताउने एउटी महिलाले आफ्नो घर आगोले जलेको थाहा पाएको तर प्रत्यक्ष नदेखेको बताउँदै आफ्नो दुःख ले आर्जन गरेको सम्पत्तीको प्रत्यक्ष जानकारी लिन चाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म फोटोहरू देखेको छु । भिडियोहरू पनि देखेको छु तर म यसलाई प्रत्यक्ष घटनास्थलमा पुगेर हेर्न र यसबारे मनमा रहेको आशालाई निर्मूल पार्न चाहन्छु । सम्पादक हेनरी लेभिन्सन प्यासिफिक पालिसडेस छिमेकमा रहेको आफ्नो घर जाने कोसिस गरिरहनुभएको छ तर अग्निनियन्त्रकहरूले त्यहाँ जान रोकेका छन् । उनीहरूले अझै पनि हुरी लाग्न सक्ने र आगो फैलिन सक्नेबारे चिन्ता व्यक्त गरेका छन् । लस एन्जलस सिटी काउन्सिलर ट्रेसी पार्कले प्रभावितको पीडा आफूले बुझेको तर अवस्था निकै खतरनाक रहेको बताउनुभयो । “यो कठिन निर्णय हो र मलाई थाहा छ कि मेरा धेरै घटकहरू निराश छन्, तर सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता रहनुपर्छ,” उहाँले भन्नुभयो ।

गत हप्ता एक लाख ८० हजारको हाराहारीमा रहेका अग्नि नियन्त्रक क्षेत्रमा करिब एक लाख मानसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आदेश दिइएको छ । डढेलोको चपेटामा परेका क्षेत्रहरू तहसनहस भएका छन्, पूरै सडकहरू खरानीमय बनेका छन् र पूर्वाधारहरू नराम्ररी ध्वस्त भएका छन् । लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले जोखिमको सम्भावनालाई सङ्केत गर्दै आफु मातहतका प्रहरी अधिकारीले मानिसहरुलाई डढेलो र आगलागी क्षेत्रबाट बाहिर राख्न निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यी मध्ये धेरै क्षेत्रहरू अझै पनि भग्नावशेषकै अवस्थामा रहेका छन् । विद्युत बगिरहेका बिजुलीका तार, ग्यास लाइन र अन्य खतराका कारण बस्तीमा प्रवेश सहज छैन ।” रासस/एएफपी

spot_img

ताजा समाचार

नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, १० बुँदे दृष्टिपत्र सार्वजनिक गर्ने तयारी

काठमाडौं - भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच...

प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ।...

गल्कोट घुम्टे सहकारीको नयाँ सञ्चालक समिति निर्विरोध चयन, वित्तीय अवस्था सार्वजनिक

काठमाडौं – काठमाडौंको शंखमूल, नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको...