पुनर्निर्माण पछि पनि झस्किन्छन् स्थानीय

Published on

काठमाडौँ । निस्दी गाउँपालिका–२, सुकेकोटका बेनीसरा राना २०७२ वैशाख १२ गतेको दिन सम्झिदा अझै पनि झस्किनुहुन्छ । त्यस दिन खाना खाएर घरबाट निस्किनु भएका उहाँ जब आँगनमा पुग्नु भएको थियो, आँखै अगाडि घर भत्कियो । उहाँ भन्नुहुन्छ, “गाउँमा साक्षरता कक्षा चलिरहेको थियो । १२ बजे कक्षा सञ्चालनको लागि हतार हतारमा निस्किएको थिएँ । आँगनमा पुग्न साथ भूकम्पले घरहरु हल्लिन सुरु भयो । हेर्दा हेर्दै घर ढल्यो । प्राय म कोठा मै हुन्थे । अन्य दिनमा हुन्थ्यो भने सायद म पनि रहने थिइन होला ।” शुक्रबार भूकम्प गएको १० वर्ष पूरा भइसके पनि बेला बेलामा गइरहने भूकम्पले झस्काउने गरेको उहाँले बताउनुभयो । भूकम्प गइरहँदा विगतलाई सम्झिदा अझै पनि डर लाग्ने गरेको बताउनुभयो ।

सुकेकोट पाल्पामा भूकम्पले सबैभन्दा धेरै भौतिक क्षति गरेको स्थान हो । भूकम्पले मानविय क्षति नभए पनि वैशाख १२ र २९ गतेको भूकम्पले यहाँका घरहरु तहसनहस बनाएको थियो । सरकारको मापदण्ड अनुसार घर पुनर्निर्माण भए पनि भूकम्प गइरहँदा फेरी पनि भत्किने हो कि भन्ने डर कायम नै रहेको स्थानीय केशरी रानाले बताउनुभयो । “घर त बनेको छ । फेरी पनि भत्काउने पो होकी भन्ने डर लाग्छ ।,” उहाँले भन्नुभयो । भूकम्पले गाउँको तल्लो क्षेत्रमा झण्डै एक किलोमिटर जमिनको भाग फाटेको थियो । तल्लो भागमा जमिन चर्किएपछि सुकेकोटमा भूगर्भविद्हरुको टोली अध्ययनका लागि आएको थियो । तर अहिलेसम्म कुनै पनि प्रतिवेदन नआएको स्थानीय शिक्षक उमेश कुमार गाहाले बताउनुभयो ।

यहाँका ५६ मध्ये ४७ घर भूकम्पले पूर्णरुपमा क्षति गरेको थियो । भूकम्प अघि गाउँमा परम्परागत कुँडले घरसँगै धेरै कोठासहितको अग्लाअग्ला घर रहेको थियो । पुनर्निर्माणपछि अघिकांश घर दुई कोठामा सिमित बनेको छ । भूकम्पपछि पुराना कुडलेघर र काठको बार्दलीसहितका घरहरु देख्न नपाइने अवस्था आएको स्थानीय तिलविर रानाले जानकारी दिनुभयो । भूकम्प पश्चात गाउँभन्दा तल मसार, ढुस्यानी, गम्बारीमा बस्दै आएका स्थानीय बसाई सरेका छन् । पुनर्निर्माण प्राधिकरणमार्फत बनेका घरहरु दुई कोठाको मात्र हुँदा परिवार सङ्ख्या धेरै भएकाहरुका लागि सामान राख्न तथा पाहुना आएको समय समस्या हुने गरेको स्थानीय बताउँछन् । भूकम्पका कारण साविक सहलकोट–९ का ७९ घर मध्ये ५६ बढी घरहरु पुनर्निर्माण गर्नु पर्ने अवस्था आएको थियो । भूकम्प पश्चातको पुनर्निर्माणका लागि पाल्पामा चार हजार ६ सय ५२ लाभग्राही रहेका थिए ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...