गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार क्रियाशिल छ : स्वास्थ्यमन्त्री

Published on

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले नेपाली जनतालाई सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अहोरात्र खटिएर काम गरिरहेको बताउनुभएको छ । उहाँले सिकलसेल र थालेसिमिया रोगीहरूलाई सङ्क्रामक रोगबाट जोगाउन भारत सरकारबाट प्राप्त खोप आइतबार नेपालगन्जस्थित भेरी अस्पताललाई हस्तान्तरण गर्दै सो बताउनुभएको हो । मन्त्री पौडेलले पछिल्लो समयमा नेपालका सबैजसो सरकारी अस्पतालहरूको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भइरहेको आफुले पाएको जनाउँदै अझै बढी सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सरकारी अस्पतालहरुका बारेमा यदाकदा विभिन्न प्रकारका नकारात्मक टिका टिप्पणीहरू सुनिने गरिएको जनाउँदै उहाँले त्यस्ता टिप्पणीरहित सेवा प्रदान गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

सरकारले अस्पतालका भौतिक पूर्वाधार र जनशक्ति बढाउने कुरालाई विशेष प्राथमिकतामा राखेको जनाउँदै मन्त्री पौडेलले तर निकै सिमित बजेट र साधन स्रोतका कारण चाहेर पनि धेरै काम गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित गरेर सबैलाई निःशुल्क तथा राम्रो स्वास्थ्य उपचार प्रदान गर्नेतर्फ सरकार गम्भीर भएर लागेको जनाउँदै त्यसमा देशका अन्य सरोकारवाला र स्वास्थ्यसम्बन्धी निकायको पनि सहयोग आवश्यक परेको बताउनुभयो । भेरी अस्पतालमा सिकलसेलको छुट्टै वार्ड सञ्चालन गरिएपछि निकै सहज भएको जनाउँदै मन्त्री पौडेलले सो रोगबाट जोगाउन समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो । सोही कार्यक्रममा बोल्नुुहुँदै स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटाले मन्त्रालयले आफ्नो क्षमता अनुसार अस्पतालहरूका माग र आवश्यकता पूरा गर्ने हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रममा अस्पतालका प्रमुख डा निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिहरूका बारेमा जानकारी दिनुभयो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अस्पतालका वरिष्ठ नर्सिंग प्रशासक आशा पण्डित र अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले पनि अस्पतालको अवस्थाबारे आ-आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा मन्त्री पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटोले भारतबाट प्राप्त भएको खोपलाई संयुक्त रूपमा भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदी र सिकलसेल एनिमिया सोसाइटी नेपालका महासचिव राजमोहन चौधरीलाई हस्तान्तरण गर्नुभयो । सोही अवसरमा मन्त्री पौडेलले भेरी अस्पतालमा सञ्चालनमा ल्याइएको जलन वार्ड र सर्जिकल विङ्गको पनि उद्घाटन गर्नुभयो भने अस्पतालका विभिन्न विभाग र वार्डहरूमा पुगेर निरीक्षण गर्दै बिरामीहरूलाई भेटेर उपचारको अवस्था बारे जानकारी लिनुभएको थियो । भेरी अस्पतालको नयाँ भवनमा सञ्चालनमा आएको ६ शय्याको जलन वार्ड र १४ शय्याको सर्जिकल विङ्गबाट यस क्षेत्रका अग्निपीडित बिरामीको उपचारमा सहजता हुने अस्पताल विकास समितिले जनाएको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...