भारत–पाकिस्तान तनाव : सुरक्षा र कूटनीतिक सक्रियता बढाउन ध्यानाकर्षण

Published on

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत–पाकिस्तान आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । दुई देशबिच चलेको श्रृङ्खलाबद्ध आक्रमणले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमाहरूमा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्ने उनीहरूको माग छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाले नेपाल शान्तिको पक्षमा रहेको सन्देश विश्व समुदायलाई दिनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । सांसद खनालले सार्वजनिक वक्तव्यमा परराष्ट्र मन्त्रालयले आतङ्कवादविरुद्ध लिएको अडानको स्वागत गर्दै सम्भावित युद्धको अवस्थामा नेपालमा पर्नसक्ने प्रभावहरूको गम्भीर समीक्षा गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले भारत–पाकिस्तानबिच युद्धको स्थिति उत्पन्न भएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपूर्ति, र आर्थिक असरहरूका साथै ति देशहरूमा रहेका नेपालीहरूको अवस्थाबारे विश्लेषण गरी योजना बनाउन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरताको पक्षमा नेपालको स्वभाविक चासो हुनुपर्दछ । परराष्ट्र मन्त्रालयले ढिलै भए वक्तव्यमार्फत सार्वजनिक गरेको आतङ्कवादविरुद्धको अडानको स्वागत गर्दै भारत पाकिस्तानबिच युद्धको स्थिति बन्न गएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपूर्ति र आर्थिक श्रृङ्खलाको असरका साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्नसक्ने प्रभावसम्मको आँकलन गरी योजना निर्माणको माग गर्दछु ।’’ नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले भारत–पाकिस्तानबिच सम्भावित युद्धको असरबारे सचेत हुनुपर्ने बताउनुभयो । नेकपा (एमाले)का सांसद सरस्वती सुब्बाले भारत–पाकिस्तानबिच चुलिँदो तनावले नेपालमा पनि तत्काल असर पार्नसक्ने भन्दै सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गर्नुभयो । उहाँले बढ्दो द्वन्द्व र अस्थिरताको प्रभाव नेपालमा प्रत्यक्ष देखिनसक्ने उल्लेख गर्नुभयो ।

भारत–पाकिस्तानबिचको तनाव नरोकिए भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमाको सुरक्षा जोखिम, आर्थिक परनिर्भरता, आपूर्ति सङ्कट, हवाई यातायात, पर्यटन र व्यापार समेत प्रभावित हुनसक्ने उहाँको भनाइ छ । सांसद सुब्बाले नेपालले असंलग्न परराष्ट्र नीतिको मार्गबाट नहटिकन भारत र पाकिस्तान दुवैसँग संवाद र कुटनीतिक समन्वय विस्तार जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘भारत–पाकिस्तानको हालको तनावले दक्षिण एसियामा व्यापक असर परिरहेको छ । जसको असर नेपालमा पनि तत्काल पर्नसक्छ । सभामुख महोदय नजिकको छिमेकीको अर्को छिमेकीसँग द्वन्द्व भयो भने हामीले भाग्नुपर्ने सम्भावित चुनौतीहरू, भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमा सुरक्षा जोखिम, आर्थिक परनिर्भता र आपूर्तिमा सङ्कट, हवाई यातायात, पर्यटन र व्यापारमा समेत समस्या पर्नसक्ने भएको कारण नेपालले असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै भारत र पाकिस्तान दुवैसँग संवाद र कुटनीतिक सक्रियता बढाउनुपर्छ ।’’ २२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तान आम्नेसाम्ने भएका छन् । पहलगाम आक्रमणमा पाकिस्तानलाई दोषी देखाएर भारतले जवाफी हमला सुरु गरेको थियो ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...