विभिन्न ठाउँका स्थानीय सरकारहरुले आ–आफ्नो गाउँ–ठाउँको विकासमा लागि धेरै मेहेनत र परिश्रम गरिरहेका हुन्छन् । सबै स्थानीय सरकारहरु आफ्नो तरिकाले गाउँ–टोलका लागि राम्रो गर्नु पर्छ नै । त्यसै पनि स्थानीय सरकारको काम र गतिविधिलाई जनताले नजिकैबाट नियाल्न पाइरहेका हुन्छन् । त्यस्तै कञ्चनपुरको बेलडाँडी गाउँपालिकाभित्र पर्ने एउटा स्थानीय सरकार यस्तो छ जसले आफ्नो क्षेत्राधिकार भित्र पर्ने जनताहरु माझ अतुलनिय योगदान दिएको छ । त्यही स्थानीय सरकार अथवा वडा सरकारको रुपमा बिर बहादुर खड्का हुनुहुन्छ । जसले आफ्नो ४ नम्बर वडालाई दुई कार्यकाल भित्रको अन्तरालमा नै गाउँको स्वरुप फेरिदिनु भएको छ ।
तर पनि आन्तरिक स्रोतको कमी र सङ्घीय सरकाले बजेट कम दिँदा आफैले चाहेको विकास, उन्नती र प्रगति पनि गर्न मुस्किल परेको उहाँको अनुभव छ । उहाँको यसै राजनीतिक जीवनमा प्रवेश पश्चात अहिलेसम्म गरेका काम, कर्तव्य र आइपरेका चुनौतीहरु लगायतको विषयमा वडा अध्यक्ष खड्का र एएनएनकर्मी अरुण डगौराले गरेको कुराकानीको सारः
तपाईंले बेलडाँडी गाउँपालिकाको वडा अध्यक्षमा बसेर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । यस अवधिमा वडाको कार्य सम्पादन कस्तो भइरहेको छ ?
सुरुमा निर्वाचित भइसकेपछि २०७४ देखि २०७८ सम्ममा नयाँ भएका कारण दुई वर्ष सिकाइको दौरानमा लाग्यो । हामीलाई काम र कार्यशैली सिक्न समय लाग्यो । बजेट पनि ठिकठिकै आयो । पहिले देखिको नभएका जम्मै काम गरियो । मेरो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य र तेस्रोमा पूर्वाधार थियो । शिक्षा स्वास्थ्यतिर बढी ध्यानाकर्षण गरियो । हामीले जतिसुकै कुरा गर्दा पनि अन्तिममा काम गर्न बजेट नै चाहिन्छ । तर हामीसँग बजेटको अवस्था एकदमै नाजुक थियो । २०७९ देखि जनसङ्ख्या र भौगोलिकता आधारमा १९ लाखमात्र पाइयो । जनताका सपना त धेरै थिए । मैले विशेषगरी तिन कुरामा फोकस गरेको थिएँ; वडा कार्यलय, स्वास्थ्य र शिक्षा । जसमध्ये अहिले स्वास्थ्य चौकी पनि बनिसक्यो । वडा कार्यालय पनि लगभग लगभग बनिसकेको अवस्थामा छ । शिक्षामा पनि +२ सम्पन्न भएर दोस्रो लोड चल्दै छ । अनि बाटाघाटाहरु त सामान्य नै हुन् । बजेटको अभावले गर्दा खुम्चिनु परेको छ । पहिले पनि १९ लाख थियो । अहिले पनि १९ लाखकै सुलिन चढेको छ । त्यसले के हुने ? के गर्ने भन्ने भएको छ ? सडकबत्तिदेखि लिएर विभिन्न योजनाहरु छन् । त्यो १९ लाखले सम्भव हुँदैन ।
तपाईंले बेलडाँडी गाउँपालिकाको वडा अध्यक्षमा निर्वाचित भएर दुई कार्यकाल बिताउँदै गर्दा पहिले र अहिलेको समयमा काम गर्न कुनमा सहज भएको छ ?
आफूदेखि नै स्वच्छ र सफा भयो भने सबै काम सहज हुन्छ । त्यो आफैमा भर पर्ने कुरा हो । जनतालाई जति बुझाउन सक्यो त्यति फाइदा हो । तर काम गर्दा सहज नै छ । मलाई कुनै अप्ठ्यारो छैन । अहिले १ करोडको सङ्घको योजना आएको थियो । त्यसमा पनि सबैको सल्लाह अनुसार नै बाटोघाटो नाप नक्सा गर्यौँ । हाम्रो बाटो कस्तो छ भन्ने कुरा तपाईंलाई थाहा नै छ । कतै ३ मिटर कतै ४ मिटर कहिँ ६ मिटर छ । कहिँ पनि मापदण्ड पुगेको छैन । सहमतिबाट नै बाटोहरु खुलिएका छन् । त्यस्तो असर त खासै भएको छैन । तर बनाउने क्रममा १/२ ठाउँमा अवरोध हुन्छ । त्यस्तो कुनै समस्या छैन । बुझउन सक्नु पर्यो जनतालाई ।
पहिलो कार्यकालमा जनताको अपेक्षा कति पुरा गर्नुभयो ? यस कार्यकालमा यसलाई कसरी लिनु भएको छ ?
मलाई लाग्छ पहिलो कार्यकालमा मैले जनताको अपेक्षा लगभग ७५% पुरा गरेँ । त्यही कारणले नै जनताले दोस्रो कार्यकालका लागि मलाई नै चुने । पहिले त बाटोघाटो, शिक्षा, स्वास्थ्य लगाएत धेरै समस्याहरु थिए । वैशाख जेठमा पनि अलिकति पनि पानी आउँदा चप्पल हातमा समातेर हिड्नु पर्ने स्थिति थियो । अहिले त्यो ०७४ देखि ०७९ सम्म जम्मै ग्राभेल गरेर जति खेर पनि वडा नं. ४ मा जता जाँदा पनि सम्भव हुने बनाइयो ।
शिक्षा क्षेत्रमा वडाको बजेट लगभग १ करोडको हाराहारीमा हालेँ । मैले वडाको ५०% बजेट शिक्षामै लगानी गरेको छु । जति बजेट आउँछ त्यसको ५०% शिक्षामा नै लगानी भएको छ । त्यसले गर्दा पनि त्यसको प्रतिफल राम्रो पाइएको छ । अहिलेको दौरानमा १९ लाखको सुलिनमा सडक बत्तिमै लगभग ४/५ लाख रुपियाँ सालमा खर्च हुन्छ । १९ लाखले शिक्षातिर हेर्नै पर्यो । स्वास्थ्य पनि हेर्नै पर्यो । अब जनताको समस्या कसरी समाधान हुन्छ ? १९ लाखले के समाधान हुन्छ ? हजुरको साम्ने बजेट यो हो । यसलाई कहाँ कहाँ लगाउने ? के गर्ने ? भन्दा उहाँहरु नै यसले के हुन्छ भन्नुहुन्छ । केन्द्र र प्रदेशले केहि गरिदियो भने हुने हो विकास नत्र त १९ लाखे केही हुन्न । सामान्य केही पनि हुँदैन त्यसले ।
शिक्षामा कस्तो योगदान पुर्याउनु भएको छ ?
पहिलो मेरो उद्देश्य भनेको विद्यालय वरिपरि घेरबार थियो । लगभग दुई वर्षको अन्तरालमा मैले घेरबार सम्पन्न गरेँ । शैक्षिक शिक्षा सुधार कार्यक्रम भनेर प्रत्येक वर्ष पाँच लाख रुपियाँ छुट्ट्याएँ । त्यसपछि +२ को अवराधणा ल्याइयो । अहिले यो बेलडाँडी गाउँपालिकाको पाँचवटै वडाका विद्यार्थीहरु त्यस सरस्वती जनता माविमा पढ्न आउने गर्छन् । प्रत्येक वडामा विद्यालयहरु छन् । तर पनि त्यहाँ छोडेर विद्यार्थीहरु यहाँ आउनुभएको छ । यहाँको विश्वास र शिक्षकहरुको योगदानले गर्दा नै यो सम्भव भएको हो । यो विद्यालय बेलडाँडीमा अहिले १ नम्बरमा छ । त्यही भएर म अत्यन्तै खुसी छु ।
आफ्नो वडाबासीलाई कृषिमा कसरी प्रोत्साहन गर्दै हुनुहुन्छ ?
खासगरी भन्ने हो भने बेलौरी नगरपालिका वडा नं. १० मा भएको महाकाली सुगर मिल स्थापना भए देखि नै यहाँका किसानहरु कषि कार्यमा लागेका छन् । कृषि ज्ञान केन्द्र होस् या प्रधान मन्त्री कृषि आधुनिकीकरण होस् र गाउँपालिकामा पनि कृषि सिचाईं, टनेल र तरकारीमा विशेष जोड दिएर हामीले प्रत्येक वर्ष हाम्रो ४ नम्बर वडामा लगभग लगभग ८/१० जना किसानले सानो सिचाईं पाएका छन् । कसैले तरकारी खेतीमा टनेल सेट पाएका छन् । विशेषगरी ४ नं. वडा उखु जोन भएको हुनाले हामीले चिनी मिलसँग समन्वय गरेर विषादी लगाएत विभिन्न बिऊ बिजनहरु पाउने गरेका छौँ । चिनी मिलले अर्को वर्ष पनि उखु दिने गर्दा त्यसले पनि सहुलियत गरेको छ । र यो वडा उखु जोन भएको हुनाले विशेषगरी उखु खेती भएको छ । त्यसैले यहाँका जनता उखु खेतीमै अग्रसर भएको देखिन्छ । यहाँ चिनी मिल भएको कारण पनि यहाँका जनताले ५/१० कठ्ठा उखु लगाएर जीविकोपार्जन गरिरहेका छन् । त्यसले गर्दा यहाँ राम्रै भएको छ ।
आफ्नो गाउ–ँठाउँको कला र संस्कृतिलाई बचाउन अध्यक्षको तर्फबाट गर्नु पर्ने के–कस्ता प्रयासहरु गरिरहनु भएको छ ?
हाम्रो वडामा लगभग चार प्रकारको समुदाय बस्ने गरेको छ । सुर्खेती, चौधरी, बझाङ्गी र बैतड्याल समुदाय रहेको छ । जसमध्ये खासगरी चौधरी समुदायले माघी, डश्या(दसैँ) जस्ता चाडपर्वहरुमा प्रत्येक वर्ष कार्यक्रम गर्नु भएको छ । मैले भनिसके १९ लाखले जम्मै कुरा भ्याउनु पर्ने छ । अनि चौधरी समुदायले आफ्नो संस्कृति जोगाउनका गरेको कार्यक्रमका लागि वडाबाट सानै भए पनि प्रोत्साहन स्वरुप मद्दग गरि नै रहेका छौँ । त्यसैगरी पश्चिमेली समुदायको गौरा पर्व पर्छ । यहाँ हाम्रो शिव मन्दिर छ । शिव मन्दिर बनाउनेदेखि लगाएत सो समुदायको गौरा पर्व मनाउनका लागि जे जति हुन्छ त्यो सहयोग गरेका छौँ । अहिले प्रोत्साहन गर्ने र जाग्ने गाउँमा मान्छे छैनन् । युवाहरु विदेशतिर पलायन भएका छन् । मान्छे अभावले गर्दा हाम्रो दौलोखी सुर्खेती समुदायले शान्ति सिङ्गारु भन्ने नाच कार्यक्रम आफ्नो तिहारको बेला गर्दै हुनुहुन्छ । वडाबाट सक्दो सहयोग भइरहेको छ । चौधरी समुदायमा ‘माघी मिलन’ र ‘डश्या विशेष कार्यक्रम’ भन्ने ठुलो कार्यक्रम हुन्छ । म स्वयम त्यस कार्यक्रममा उपस्थित भएको हुन्छु । पश्चिमेलीहरुको लागि गौरा पर्व मनाइन्छ । एउटा शिव मन्दिर छ त्यसैमा कार्यक्रम गरिन्छ ।
अहिले वैदेशिक पलायन भइरहेको अवस्थामा युवाहरुलाई आफ्नै देशमा बसेर काम गर्न वडाले कस्तो वातावरण बनाएको छ ?
सर्वप्रथम त हामीले जति जे कार्यक्रमहरु ल्याए पनि युवाहरुले आफ्नो आत्मादेखि नै सोच्नु पर्छ कि हामीले अर्काको देशमा केहि गर्नु भन्दा त आफ्नै देशका बसेर थोरै पैसा कमाए पनि यहीँ बसेर केहि गरौँ । यसका लागि प्रत्येक वर्ष २/३ वटा जनचेतनामुलक कार्यक्रम हुन्छन् । हामीले आफ्नै देशमा बस्नु पर्छ र आफ्नौ धर्तीबाट नै केहि गर्नु पर्छ । यसका लागि मोटरसाइकल ग्यारेज, वाइरिङ, पलम्बर जस्ता विभिन्न तालिमहरु पनि राखियो । यसलाई कसरी रोक्ने भन्नका लागि त विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरियो । अहिले होडबाजी के भएको छ भने विदेशमा गएर पैसा कमाउने नेपालमा सानो तिनोले केहि पनि हुँदैन भन्ने भएको छ । यो त जनचेतनाको कमीले हो भन्ने मलाई लाग्छ । अब त्यहाँबाट आएर फेरी गर्नु पर्ने स्वदेशमै हो । त्यो भन्दा त यहीँ आफ्नै माटोमा केहि गरौँ भन्ने मेरो भनाइ हो । यहाँ युवाहरु कि रोजगारी कि विदेश लम्किन्छन् । तिनीहरुलाई कसरी के गर्ने ? समस्या मलाई त्यो लाग्छ । अर्को समस्या खुला सिमाना भएको कारणले वडा नं. ३, ४ र ५ लाई समस्या भएको छ । राज्यबाट गर्ने कुरामा वडाले गरेर केहि हुँदैन । अब यसको लागि त माथिबाट नै के गर्ने ? कसो गर्ने ? भन्ने हुनु पर्छ । यी दुई फेजमा म समस्या देखिरहेको छु ।
आफ्नो वडाक्षेत्रभित्र रहेका सामाजिक समस्या र विकृतिहरुलाई रोक्न कस्ता प्रयासहरु गर्नु भएको छ ?
पहिलो कुरा त जनचेतना नै हो । टोल—टोलमा गएर जनचेतना जगाउने गर्नु पर्छ । जनचेतना जागिसकेपछि सिपमुलक कार्यक्रम सञ्चालन गरेर विदेशमा होइन स्वदेशमै बसेर गर्नु पर्छ भन्ने हो । त्यसको लागि प्रत्येक वर्ष पालिका र वडाबाट सञ्चालन भइरहेको सिपमुलक कार्यक्रम र जनचेतनामुलक कार्यक्रमहरुबाट युवालाई जगाउने हो । यसरी मासिलाई काममा व्यस्त बनाउने र यस्ता जागरण र सचेतनाका कामहरु गर्दा सामाजिक समस्या र विकृतिहरुलाई रोक्न सकिन्छ । हामीले पनि यसरी नै प्रयास गरिरहेका छौँ ।
महिलालाई आत्मनिर्भर बनाउने खालका कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ ?
महिलालाई आत्मनिर्भर बनाउने खालका थुप्रै कार्यक्रमहरु ल्याउने गरेका छौँ । वडामा नै तिन महिने सिलाई कटाई कार्यक्रम, कढाई कार्यक्रम चलेको छ । अहिले चाँहि हाम्रो वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १६ जना महिलाहरुलाई १०० दिन बराबरको सिकर्मी डकर्मी लगायतको तालिम चलिरहेको छ । ५० दिन तालिम हुन्छ । र अर्को ५० दिन उहाँहरुलाई त्यो सिप सिकाइन्छ । अहिले ती महिलाहरु तालिम लिइरहेका छन् ।
वडा अध्यक्षको पदमा बसेर काम गर्दा कस्ता सेवा सुविधा र चुनौतीहरु अनुभव गर्नु भएको छ ?
सेवा सुविधा र अधिकार भन्ने हो भने हामीलाई २३/२४ वटा अधिकारहरु छन् । त्यही अधिकारभित्र रहेर काम गर्नु पर्छ । अधिकार बाहिर जान कसैलाई पनि मिल्दैन । पहिलो कुरा त हामीले आफ्नो काम कर्तव्य र अधिकार बुझ्नु पर्छ । त्यसै मातहतमा रहेर काम गर्नु पर्छ । चुनौती त थुप्रै हुन्छन् । सामान्य घरायसी झगडा लगायत विभिन्न खालका चुनौतीमा राती १२ बजे १ बजे पनि हिडेको छु । तर त्यसलाई हाँसी खुसी नै समाधान गर्नु पर्छ । त्यो हाम्रो दायित्व र कर्तव्य हो । यो ५ वर्ष जनताको सेवा गर्छु भनेर घरबाट हिँडिसकेपछि त्यसलाई म सामान्य नै मान्छु । म बिहान ७ बजे जेसिबीले बाटो खनाउनका लागि घरबाट निस्केको मान्छे भर्खर आफ्नो कार्यलयमा पुग्दै छु । जिम्मेवार बन्दा तमाम विवाद आउँछन् । त्यसले गर्दा आफू भागेर भन्दा त्यहीँ बसेर समाधान गर्नु पर्छ । अहिले भर्खर पनि जेसिबी र रोलर चलिरहेको थियो त्यो कामलाई समाधान गरेर वडामा आउँदै छु । चुनौती पनि हुन्छ र समाधान पनि गर्न सक्नुपर्छ । त्यो कुरा आफु माथि भर पर्छ । कसैको पक्षपात नगरी निश्पक्ष रुपमा हिँड्ने हो भने त्यसको समाधान सजिलै हुन्छ । आफूले पक्षपात काम गर्यो भने मात्र समस्या हुन्छ नत्र समस्या हुँदैन ।
वडाको आगामी योजना के छ ?
पहिलो कुरा त शिक्षा हो । दोस्रो स्वास्थ्य र तेस्रो भनेको खानेपानी हो । यो वडामा एउटा मात्र समस्या के छ भने यहाँ खानेपानी छैन । अहिले ३० लाख बजेट आएको थियो । त्यसको लागि होम पाइप खरिद गर्ने, टेन्डर गर्नका लागि वडा नम्बर ३ बाट खानेपानीको पाइप जोडेर सञ्चालन गर्ने ३० लाखको टेन्डर भइसकेको छ । वडामा +२ विद्यालय सञ्चालन भएको छ । त्यसलाई नै अझ अगाडि कसरी लैजाने ? कसरी प्रभावकारी बनाउने ? भन्ने कुरामा छु । शिक्षामा काम गर्ने मेरो पहिलो लक्ष्य नै हो । खानेपानीको समस्या समाधान भयो भने यहाँको ७५% समस्या समाधान हुन्छ । तर समाधान सँगसँगै समस्या पनि उत्पन्न हुन्छन् । उत्पन्न हुँदा फेरी समाधान गर्दै जानु पर्छ । ०७४ मा बनाएको बाटो फेरी ०८४ सम्म टिक्दैन । त्यसैले प्रत्येक वर्ष समाधान पनि गर्दै जानु पर्छ । तर त्यही १९ लाखले काम गर्नु पर्ने छ । त्यति पैसा कहाँ हाल्ने ? के गर्ने ? भएको छ । मेरो पहिलो प्राथमिकता विद्यालय हो । विद्यालयमा ८/१० लाख जान्छ । बाँकी ७/८ लाख बच्छ । अब त्यो रकममा सानोतिनो समस्याहरु लगायत जम्मै कुरा हेर्दा केही हुँदैन । प्रदेश र सङ्घमा २/३ वटा ठुला योजनाहरु पठाएको छु । बजेट आयो भने सम्भावना छ ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम यो अन्तरर्वाता लिइदिनुभएकोमा हजुरलाई धन्यवाद ! दिन चाहन्छु । सँग–सँगै हजुरहरु पनि प्रत्येक वार्डमा अहिले मैले भनेका कुराहरु सत्य र साँचो हो होइन भनेर समय मिलाएर हेर्न गइदिनुहोला भन्ने भनाइका साथै म मेरो भनाइ यहीँ टुङ्ग्याउँछु धन्यवाद !