स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर बसिरहेका हुन्छन् । आफ्नो इच्छा र जीवनमा घट्ने काम कर्तव्यलाई सहज बनाउन स्थानीय वडा सरकारको आवश्यकता परेको हुन्छ । कतिपय स्थानीय सरकारका बिच कामको प्रतिस्पर्धा पनि भएको पाइन्छ । आफ्नो फरकै पहिचान बनाउन सफल बेलडाँडी गाउँपालिकाको वडा नं. २ यस्तो वडा हो जहाँ आफ्नो काम र कामको फाइल बोकेर आएका कोही पनि रित्तो हात फिर्ता हुँदैनन् । त्यही वडाको अध्यक्ष पदमा बसेर नारद सिंह उर्यालले जनतालाई चुस्त र दुरुस्त सेवा प्रवाह गर्नु हुन्छ । जनतामा केन्द्रित विकास गर्ने र सदैब जनताकै भलो चाहने उहाँ एउटा असल व्यक्तित्वको रुपमा खडा हुनु भएको छ । इमानदार भएर आफ्नो काम कर्तव्य निर्वाह गर्दा सबैले पत्याउने गर्छन् भन्ने भोगाइ छ । अहिलेसम्म गरेका उहाँका कामहरुको विषयमा केन्द्रित भएर वडा अध्यक्ष उर्यालसँग एएनएनकर्मी अरुण डगौराले गरेको कुराकानीको सारः
कार्यभार सम्हालेपछि अहिलेसम्म के—के गर्नुभयो ?
आफ्नो कार्यकालमा धेरै उपलब्धि भएका छन् । जस्तैः सुकुम्बासीका धेरै फाइलहरु सहज गरिसक्यौँ, १५ शय्या अस्पतालको दोस्रो तला निर्माण हुँदै छ । दुग्ध डेरी र चिस्यान केन्द्र बनेको छ । आँखा अस्पताल पनि बनिसक्यो । त्यस्तै स्वास्थ्य शाखामा दबाइको अभाव थियो । सर्पदंश र रेबिजको उपचारका लागि धनगढी महेन्द्रनगर लग्नु पर्ने अवस्था थियो । तर अहिले यो उपचार यतै सम्भव भएको छ । पोस्टमार्टमको सेवा पनि सुचारु छ । ५० जना जति सर्पदंशका बिरामी पनि निको भएका छन् । रेबिजका १०० जना जति मरिच उक्त सेवाबाट लाभ पाएका छन् । अझै पनि पूर्व सुकुम्बासीको ऐलानी जमिनको पूर्जा दिन सकेमा धेरै खुसी हुने थियौँ ।
आफ्नो वडाभित्र शिक्षा र कुषिको क्षेत्रलाई उच्चस्तरमा पुगेको देख्न कस्ता प्रयासहरु गर्दै हुनुहुन्छ ?
मेरो वडाभित्र धेरै जसो निजी विद्यालय भएको कारणले सरकारी स्कुलमा विद्यार्थीहरु धेरै कम छन् । यसका लागि हामीले धेरै कदम चालेका छौँ । कसरी हुन्छ ? के गरी विद्यार्थीहरुलाई सरकारी स्कुलम भर्ना गराउन सकिन्छ ? भन्ने विषयमा पाइला चालेका छौँ । यस विषयमा हामीले पालिकामा बैठक बसेर छलफल समेत गरेका छौँ । जसरी भए पनि धेरै लगानी लगाउने । जनताहर अत्यन्तै गरिब भएका कारणले परीक्षा र भर्ना शूल्क पनि निःशूल्क गराएका छौँ । सायद बेलडाँडी गाउँपालिका सुदूरपश्चिममा पहिलो पालिका होला जसले निःशूल्क व्यवस्था मिलाएको छ ।
तपाईंको वडामा कालीकिच ताल पनि पर्छ । पर्यटकको आकर्षण बिन्दु मानिने त्यो तालको संरक्षण र संवर्द्धन कसरी गर्नु भएको छ ?
पोहोर साल पनि ४० लाख रुपैयाँ आएको थियो । त्यति खेर ठेकेदारहरुले काम गरेको देखाउन सकेनन् । त्यो तालमा जलकुम्भी, गडयालहरु, माछाहरु आदि जीवजन्तुहरु रहेका छन् । जुन पर्यटकको आकर्षण नै हुन् । तर त्यो क्षेत्र निकुञ्जभित्र परेको कारणले सहज तरिकाले काम गर्न अलि गाह्रो भएको छ । यो साल केन्द्रबाट ९० लाख रुपैयाँ आएको छ । तर त्यो बजेट पनि काम लगाउन नसकेर बाटोमा हालेका छौँ । बजेटलाई उपयोग गर्न तालको किनारै किनार भएर चवन्नी बजारसम्म बाटोमा ग्राभेल हाल्ने निर्णय गरेका छौँ ।
जनताको अपेक्षालाई कसरी लिनु भएको छ ?
बजेट अनुसारले जसरी पनि काम गरौँला, जनताको अपेक्षालाई पुरा गरौँला भन्ने धारणामा छौँ । बजेट कार्यान्वयन गर्दा अलिकति चुकेका छौँ । बाटाघाटा इत्यादि भन्दा पनि पूर्जा दिन सके हुन्थ्यो भन्ने सोचमा छौँ । त्यो कदम चाँहि अगाडि बढाएका छौँ । जसरी भए पनि केहि पूर्जा त बाँडौँला भन्ने सोचमा छौँ ।
आफ्नो वडाबासीबाट कस्तो सहयोग पाउनु भएको छ ?
मेरा वडाबासीहरु अत्यन्तै खुसी छन् । मलाई पूर्ण रुपमा सहयोग गरेका छन् । इमानदरीका साथ आफ्नो कर्तव्य पथमा हिँड्नुहुन्छ भनेर मेरा वडाबासीहरुले म माथि एकदमै धेरै खुसी व्यक्त गरेका छन् । घरबाट करिब १.५ किलोमिटरसम्म हिँडेरै आफ्नो कार्यलाय पुगेर जनतालाई सेवा दिने गर्छु । हाम्रो कार्यलायमा काम तुरुन्तै हुन्छ । कसैले सिफारिस लिएर आयो, कुनै वैदेशिक कामको लागि आए पनि तुरुन्तै सेवा पाउने गरेका छन् । त्यसैले पनि मेरा वडाबासी धेरै खुसी छन् । मसँग मेरो जनता र जनतासँग म एकदमै खुसी छु । मेरो उमेर पनि ६० वर्षको भएको बाबजुद पनि यस्तो काम गरेको हुनाले हुन सक्छ ।
बेलडाँडी गाउँपालिका भित्रका वडाहरु मध्ये तपाईंको वडाको विशेषता के रहेको छ ?
पहिलो कुरा त बेलडाँडी गाउँपालिका हाम्रै वडामा छ । ठुला ठुला संरचनाहरु पनि यसै वडामा पर्छन् । प्रहरी कार्यलय पनि यसै वडामा छ । हुन त बेलडाँडी क्षेत्र भनेको सबैभन्दा पिछडिएको र गरिब पनि हो । एकदमै दुर्गम क्षेत्र । उत्तरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र दक्षिणतिर भारतसँग सिमाना जोडिएको हुनाले लागु पदार्थको जोखिम भएको पालिका हो । तर पनि यस पालिका भित्रको अलि सुगम भएको वडा भनेको वडा नं. २ नै छ । पालिका, हेल्थ पोस्ट, अस्पताल यसै वडामा बन्न सकेका छन् । पाँचै वडाको स्वास्थ्य केन्द्र जस्तैः सर्पदंश र रेबिजको उपचार भएको कारणले यहाँ नै बढी चहलपहल हुन्छ । त्यस्तै यो ग्रिन बेल्ट पनि हो र यहाँ खाली ठाउँ पनि छ । त्यसैले जति पनि संरचनाहरु छन् जस्तैः दुग्ध डेरी र कोल्ड स्टोर यसै भित्र छन् ।
प्रत्येक वडामा जनताका आफ्नै समस्याहरु रहेका हुन्छन् । तपाईंको वडमा जनताको कस्तो समस्या रहेको छ ?
मेरो वडामा जनताको मुख्य समस्या भनेको जग्गाको लाल पुर्जा छ । लगभग १० किलोमिटर जति निकुञ्जसँग जोडिएको वडा हुनाले यहाँ जङ्गली जनावरले बालीनालीको नोक्सानी गर्ने गरेका छन् । दिउँसै हात्ती, बाघहरु जस्ता जनावरहरु देखा पर्ने गर्छन् । दिउँसै आएर बाख्रा खाइदिने गरेका घटनाहरु धेरै छन् । चित्तल, सुङगुरले खेतीपाती नोक्सान गरेका छन् । त्यसको लागि तरबार लगाउने सोचमा छौँ । यस्ता घटनाहरुले अत्यन्तै जोखिम निम्त्याएको छ ।
वडाको आगामी योजना के रहेको छ ?
बाटाघाटा भन्दा पनि दक्षिणतिरको धेरैजसो जमिन सिमसार भएको कारणले त्यहाँ जम्ने पानीको निकास गरौँला भन्ने सोचमा छौँ । र बाँकी कुरा त भइ नै रहन्छन् ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
म पनि खुसी छु । मलाई पनि बोल्ने मौका दिनु भयो । यसको लागि धेरै धेरै धन्यवाद ! छ हजुलाई ।