काठमाडौं । नेपाल सरकारअन्तर्गतको नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डको केन्द्रीय कार्यालयले सोमबार सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। बोर्डले जारी गरेको सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी मङ्सिर २१ गतेभित्र दरखास्त पेस गर्नुपर्नेछ। नेपालमा रेल सेवा सञ्चालनका लागि नेपाली रेल चालकलाई सूचीकृत गरी सेवा सञ्चालन गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार रेल सेवा सञ्चालनका लागि दक्ष, योग्य, इमानदार तथा जिम्मेवार चालक आवश्यक परेकाले दरखास्त माग गरिएको हो। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। आवेदन दिन चाहने उम्मेदवारले नेपाल रेल्वे बोर्डको केन्द्रीय कार्यालयमा निवेदन बुझाउनुपर्नेछ। दरखास्तसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यता प्राप्त संस्थाबाट जारी भएको रेल चालकको लाइसेन्सको प्रतिलिपि तथा सम्बन्धित अनुभव र तालिमका प्रमाणपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
नेपालमा रेल सेवा सञ्चालन तथा विस्तारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने प्रयासस्वरूप बोर्डले नेपाली नागरिकलाई रेल चालकका रूपमा सूचीकृत गर्न लागेको हो।


