काठमाडौं, असोज २० – देशभर विगत दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ। यसैबीच, सुरक्षाकर्मीहरूको सक्रियतामा प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ।
नेपाली सेनाका अनुसार, असोज २० गते सोमबार बिहान ८ बजेसम्मको विवरणअनुसार इलाम र झापाका बाढी–पहिरो प्रभावित क्षेत्रहरूमा उद्धार कार्य सञ्चालन गरिएको छ।
इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–४ माबुमा पहिरोमा परेर घाइते भएका चार जनाको उद्धार गरिएको छ। तीमध्ये एक पुरुष, तीन महिला (जसमध्ये एक बालिका) छन्। प्रारम्भिक उपचारपछि सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई झापास्थित अस्पतालमा लगिएको हो।
यसैगरी, झापा गाउँपालिका–१ को मिलनबस्ती क्षेत्रमा पनि उद्धार कार्य रातभर जारी रहेको थियो। असोज १९ गते राति मात्रै सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा ९१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। तीमध्ये ४८ जना मोटरबोटमार्फत, ३१ जना डुङ्गाबाट र १२ जना पैदलमार्ग प्रयोग गरी उद्धार गरिएको हो।
हालसम्म हेलिकोप्टर तथा स्थलमार्ग प्रयोग गरेर कूल १०७ जनाको सफलतापूर्वक उद्धार गरिएको सेनाले जानकारी दिएको छ।
सुरक्षा निकायहरू अझै पनि बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा आवश्यक सामग्री वितरणमा खटिएका छन्। मौसममा सुधार नआउँदासम्म उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

