काठमाडौं । असोज १७ र १८ गतेको अविरल वर्षाले बाढीपहिरो ल्याउँदा क्षतिग्रस्त बनेको बिपी राजमार्गको पुनः निर्माण कार्य सुरु गरिएको छ। काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सोमबारदेखि डाइभर्सन निर्माण सुरु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जानकारी दिएको छ।
गत वर्ष असोजमा आएको बाढीले बिपी राजमार्गको ठूलो हिस्सा बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। तर यस वर्ष फेरि असोज १७ र १८ गतेको भारी वर्षाले ती डाइभर्सनहरू पुनः बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। यसले काठमाडौं आउजाउ गर्ने सवारी साधन र यात्रुहरूलाई गम्भीर असहजता भएको छ।
सडक डिभिजन भक्तपुरका सूचना अधिकारी इन्जिनियर विन्दु अधिकारीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा चाडपर्वको भीड व्यवस्थापन गर्न डाइभर्सन निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको हो। उहाँले सोमबार दिउँसोदेखि रोसीखोलाको बहाव केही कम भएपछि मेसिनहरू खोलामा लगेर डाइभर्सनको काम सुरु गरिएको जानकारी दिनुभयो। “चौकीडाँडाबाट काम सुरु गरेका छौँ। मंगलटारमा खसेको पहिरो पनि हटाएका छौँ। मौसमले साथ दिए मंगलबारदेखि काम पूर्ण गतिमा अघि बढ्नेछ,” उहाँले भन्नुभयो।
हाल रोसीखोलाको बहाव भित्तासम्म पुगेकाले डाइभर्सन निर्माणमा केही कठिनाइ भएको बताइएको छ। अधिकारीका अनुसार डाइभर्सन खोलाको किनारैकिनार बनाउनुपर्ने भएकाले निर्माणको काम प्रत्यक्ष रूपमा पानीको बहावमा भर पर्नेछ।
बाढीपहिरोले काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत चौकीडाँडादेखि काभ्रेपलाञ्चोक–सिन्धुलीको सिमाना नेपालथोकसम्मका सडकखण्डहरूमा ठूलो क्षति पुगेको छ। सडक विभागका अनुसार असोज १७ र १८ गतेको बाढीले बिपी राजमार्गका १६ स्थानमा रहेका डाइभर्सन बगाएको छ। ती डाइभर्सनको कुल लम्बाइ ३ हजार ४१० मिटर रहेको छ। यसअघि गत वर्षको असोज १२ मा आएको बाढीले १६ स्थानमा ५ हजार ३ सय मिटरको डाइभर्सन बगाएको थियो।
राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि सडक विभागले वैकल्पिक मार्गहरू प्रयोग गर्न यात्रुहरूलाई सुझाव दिएको छ। विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर प्रभातकुमार झाका अनुसार काठमाडौं आउजाउका लागि विभिन्न वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ।
प्रवक्ता झाका अनुसार, सिन्धुलीको खुरकोटदेखि रामेछापको मन्थली हुँदै पुष्पलाल ९मध्यपहाडी० राजमार्ग, त्यसपछि लामोसाँघु–जिरी सडक र अरनिको राजमार्ग प्रयोग गरी काठमाडौं आउन सकिनेछ। पूर्वबाट आउने सवारीसाधन खुरकोट–रामेछाप–तामाकोशी–चरीकोट–खाडीचौर–धुलिखेल मार्ग हुँदै काठमाडौं यात्रा गर्न सक्नेछन्।
त्यसैगरी, सिन्धुलीमाडीबाट मदन भण्डारी राजमार्ग प्रयोग गरी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल हुँदै, वा हेटौँडा–पालुङ–नौबिसे हुँदै काठमाडौं आउन सकिने विभागले जनाएको छ। हेटौँडाबाट कान्ति लोकपथ प्रयोग गरेर, वा बर्दिबास–हेटौँडा–नारायणगढ–मुग्लिङ मार्ग हुँदै पनि राजधानी पुग्न सकिन्छ।
बिपी राजमार्ग जापानी सहयोग नियोग ९जाइका० को सहयोगमा २६ अर्ब जापानी येन र नेपाल सरकारको १।१ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको हो। आर्थिक वर्ष २०५३र५४ बाट सुरु गरिएको निर्माण कार्य २०७२ असार १८ गते सम्पन्न भई जापान सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।

