तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन

Published on

काठमाडौं । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । 

अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो । 

सुक्खा पहिरोका कारण डाइभर्सन तथा अवरोध हटाउन केही समस्या भएको इञ्जिनियर योगेशले बताउनुभयो । यस्तै, रोशी-१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उहाँले बताउनुभयो । “सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो ।

यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा(नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । 

सडक माथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको इञ्जिनियर योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबारदेखिको अविरल वर्षाले नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा, बिरुवाडाँडा डालाबेँसी, नार्के, चारसयबेँसी, घुमाउनेलगायत स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर राजमार्गका विभिन्न भाग अवरुद्ध भएका थिए । यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण पटकपटक सवारी सञ्चालनमा रोक लगाइँदै आइएको थियो । 

गत वर्षको असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । “सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो”, उहाँले भन्नुभयो ।

बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो । 

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइएको जनाएको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । रासस

spot_img

ताजा समाचार

सुनसरीमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइयो

काठमाडौँ । सुनसरीको पवित्र धार्मिक स्थल रामधुनी मन्दिर र अन्य राम मन्दिरहरूमा हर्षोल्लासका साथ...

टिप्परको ठक्करबाट महिलाको मृत्यु, सडक अवरुद्ध

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१३ भ्युडरटोलमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शुक्रबार...

बाँकेमा मोतिविन्दुका बिरामी बढ्दै

काठमाडौँ । बाँके जिल्लाका ग्रामीण र शहरी क्षेत्रमा पछिल्लो समयमा मोतिविन्दुका बिरामीको संख्या बढ्दै...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा...