काठमाडौं । कैलालीका विभिन्न स्थानमा एकैदिन चलाइएको प्रहरी चेकजाँच तथा निगरानी अभियानका क्रममा लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। भजनी नगरपालिका–३ कुसमघाटमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ३५११ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लम्किचुहा नगरपालिका–१ थकालीपुरका १९ वर्षीय रिजन मगर र २२ वर्षीय आकाश चौधरी पक्राउ परेका हुन्। उनीहरुबाट ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी लम्कीचुहा नगरपालिका–६ बागमारमा पिपरकोटीका २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट १५० मिलिग्राम खैरो हेरोइन फेला परेपछि इलाका प्रहरी कार्यालय लम्कीको टोलीले दुवैलाई नियन्त्रणमा लिएको हो।
यस्तै, विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका–५ गेटास्थित से ६ प ७५९४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक २० वर्षीय विजय बिष्ट र पछाडि बस्ने २५ वर्षीय राज चौधरीलाई पनि प्रहरीले समातेको छ। उनीहरूबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर तथा प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो। शुक्रबार पक्राउ परेका सबै ६ जनामाथि आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

