काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाउनुभएको छ। उहाँले वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भन्दै राष्ट्रिय सरोकारका विषयलाई कमजोर बनाउने तर्क गैरजिम्मेवार भएको टिप्पणी गर्नुभएको हो।
थापाले सामाजिक सञ्जाल एक्समार्फत ‘भारतविरोधी राष्ट्रवादको युग सकिएको’ भन्ने वाग्लेको अभिव्यक्तिले नेपालको राष्ट्रिय भावनालाई संकुचित रूपमा प्रस्तुत गरेको बताउनुभएको छ। नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको उल्लेख गर्दै उहाँले विदेशी मञ्चमा पुगेर राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने अभिव्यक्ति दिनु आपत्तिजनक भएको जनाउनुभएको छ।
सानो समूहका केही अपवादमूलक धारणालाई आधार बनाएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु वाग्लेको पूर्वाग्रही दृष्टिकोण भएको थापाको भनाइ छ। नेपालको राष्ट्रियता आफ्नो सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उल्लेख गर्दै उहाँले भारतसँग समानता र सम्मानमा आधारित सम्बन्ध चाहेको स्पष्ट पार्नुभएको छ।
थापाले सीमा मिचिने, डुबान हुने वा नाकाबन्दीजस्ता समस्या र ज्यादतीविरुद्ध आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताउनुभएको छ। राष्ट्रहितका पक्षमा उठ्ने यस्ता आवाज अब असान्दर्भिक भइसकेका हुन् भन्दै उहाँले वाग्लेको अभिव्यक्ति विगतमा अघि सारिएको भनिएको ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन भन्ने प्रश्नसमेत गर्नुभएको छ। जिम्मेवार पदमा रहेका व्यक्तिले यसबारे जवाफ दिनुपर्ने र सरकारको आधिकारिक धारणा के हो भन्ने स्पष्ट पार्नुपर्ने उहाँको माग छ।
भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत ‘प्रोक्सिमिटी टु प्रोस्पेरिटीः द इन्डिया–नेपाल अपरच्युनिटी’ शीर्षकको सत्रमा बोल्दै नेपालले भारतसँग राम्रो सम्बन्ध चाहेको बताउनुभएको थियो। उहाँले दुई देशबीच बेलाबेला समस्या देखिए पनि भौगोलिक तथा सामाजिक निकटताले नेपाल र भारतलाई गहिरोसँग जोडेको उल्लेख गर्नुभएको थियो।
वाग्लेले प्रधानमन्त्री बालेन शाहले चाँडै भारत भ्रमण गर्ने जानकारीसमेत दिनुभएको थियो। नेपाल–भारतको भौगोलिक निकटतालाई आर्थिक समृद्धिको अवसरमा बदल्ने विषयमा केन्द्रित उक्त सत्र भारतीय सञ्चारमाध्यम एनडीटीभीले आयोजना गरेको सम्मेलनअन्तर्गत भएको थियो। कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्बोधन गर्नुभएको थियो भने सोही अवसरमा मोदी र वाग्लेबीच भेटवार्ता भएको थियो।

